काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको सूचना मोबाइल एसएमएसमार्फत प्राप्त भएपछि मात्र कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ ।
विभागले बिहीबार सूचना जारी गर्दै लाइसेन्स छपाइ भइसकेपछि त्यससम्बन्धी जानकारी विभागको वेबसाइट, ‘हेलो यातायात व्यवस्था विभाग’ फेसबुक पेजमा प्रकाशित गरिने तथा सम्बन्धित व्यक्तिलाई मोबाइल एसएमएस पठाइने जनाएको छ ।
विभागले अनावश्यक भीड कम गर्न र सेवाग्राहीलाई अनावश्यक झन्झटबाट जोगाउन एसएमएस प्रणाली लागू गरिएको जनाएको छ । त्यसैले सम्बन्धित सूचना प्राप्त भएपछि मात्र यातायात कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ ।
हाल लाइसेन्स जारी गर्ने, नवीकरण तथा रद्द गर्ने अधिकार प्रदेश सरकार अन्तर्गतका यातायात कार्यालयसँग भए पनि लाइसेन्स छपाइको जिम्मेवारी भने केन्द्रीय यातायात व्यवस्था विभागले नै सम्हाल्दै आएको छ ।
लाइसेन्स छपाइ ढिलो भएको भन्दै सरकारको आलोचना हुँदै आएको बेला विभागले यस प्रक्रियालाई छिटो र व्यवस्थित बनाउन सचेत रहेको जनाएको छ । विभागका अनुसार प्रदेश सरकार मातहतका कार्यालयबाट परीक्षा पास गरेपछि लाइसेन्सको विवरण नागरिक एप तथा विभागको वेबसाइटमा समेत अद्यावधिक गरिने व्यवस्था गरिएको छ ।