काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कर्मचारीहरू काम भन्दा बढी प्रचारबाजी गरेर स्थापित हुन खोज्ने प्रवृत्ति बढ्दै गएको बताएका छन् । उनले कानूनभन्दा माथि बसेर आफुलाई स्थापित गर्न खोज्ने होडबाजी चलिरहेको उल्लेख गर्दै सरकारले यस्ता गतिविधिमा लगाम लगाउने चेतावनी दिए ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले कर्मचारीहरूले मिडियाबाजी र प्रचारबाजीभन्दा काम गरेर स्थापित हुने प्रतिस्पर्धा गर्नुपर्ने बताए । उनले भने, ‘कानूनभन्दा माथि बसेर काम गर्न खोज्नु हुँदैन, स्वच्छाचारी प्रवृत्ति समाजका लागि घातक हुन्छ । अहिले कर्मचारीहरूबीच को बढी प्रचारबाजी गरेर स्थापित हुने भन्ने होडबाजी देखिएको छ, यो प्रवृत्ति अन्त्य गर्नुपर्छ ।’
मन्त्री खड्काले सरकारको लक्ष्य सन् २०३५ सम्ममा विद्युत उत्पादन क्षमता २८ हजार ५०० मेगावाट पुर्याउने र प्रतिव्यक्ति वार्षिक विद्युत खपत १,५०० युनिट पुर्याउने रहेको बताए ।
उनले थपे, ‘राष्ट्रिय ग्रिड नपुगेका क्षेत्रहरूमा सौर्य, वायु तथा लघु जलविद्युतमार्फत आगामी दुई वर्षभित्र शतप्रतिशत घरधुरीमा विद्युत् पुर्याउने योजनामा सरकार अघि बढिरहेको छ।’
मन्त्री खड्काले गरिब तथा विपन्न वर्गले महसुल तिर्न नसक्दा विद्युत सेवाबाट वञ्चित हुन नपरोस् भनेर सरकारले प्रतिमहिना ५० प्रतिशत छुट दिने व्यवस्था गरेको जानकारी दिए ।
उनले भने, ‘सरकारको लक्ष्य सामाजिक न्याय कायम गर्दै सबै नागरिकलाई उर्जाको पहुँचमा ल्याउनु हो। त्यसैले आर्थिक रूपमा कमजोर वर्गलाई विशेष छुटको नीति अवलम्बन गरिएको छ।’