काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले नव गठित ७ सय ४४ वटा स्थानीय तह (महा/उपमहा/नगरपालिका र गाउँपालिका) को व्यवस्थापनका लागि मन्त्रालयले पूर्वाग्रही ढंगबाट विना मापदण्ड कर्मचारीको काज सरुवा गरेको आरोप लगाएको छ । मन्त्रालयले लापरबाही, अनुत्तरदायी, कानूनविपरित र गैरजिम्मेवारीपूर्ण तरिकाले दरबन्दी सिर्जना नभएका स्थानमा कर्मचारीको मनोबल गिराउने ढंगले गरिएको काज सरुवा गरेको भन्दै संगठनले विरोध जनाएको छ ।
संगठनकाे स्थानीय विकास मन्त्रालय विभागीय कार्य समितिका अध्यक्ष दीलबहादुर पौडेलले देश स्थानीय तहको निर्वाचनमा होमिएको अवस्थामा निर्वाचनको वातावरण बनाउने कर्मचारीलाई उत्प्ररित गरी आआफ्नो कार्य क्षेत्रमा खटाउनु पर्नेमा आत्मबल कमजोर पार्ने र निर्वाचनको वातावरण खलबल्याउने गरी राजनैतिक हस्तक्षेप, आर्थिक चलखेल र नाताबाद, कृपाबादका आधारमा गरिएको आरोप लगाएका छन् ।
एउटै कर्मचारीलाई दुई ठाउमा खटाइएको, मन्त्रालयमा लामो समय काम गरेर अनुभव भएका सिनियर कर्मचारीलाई खटाउने कार्य नगरी, फाजिलमा रहेका कर्मचारीहरुलाई व्यवस्थापन नगरी, गाउँविकास समितिमा कार्यरत पुराना शाखा अधिकृतहरुलाई जिम्मेवारी नदिई सामान्य प्रशासन मन्त्रालयसंग कर्मचारी माग गरी खटाउने कार्य भएको जनाएको छ ।
लामो समय योजना अधिकृत र कार्यकारी अधिकृत भएका कर्मचारीलाई गाउपालिकामा पठाएर स्टाफ कलेजको तालिममा रहेका शाखा अधिकृतहरुलाई नगरपालिकाको कार्यकारी अधिकृतमा खटाइएको आरोप पनि लगाएको छ ।
१२ दिन अघि म्यांलुंगबाट काजमा रामेछाप ल्याइएका गणेश नेपालीलाई खोटांग पठाइएको छ भने कमलामाई नपामा कार्यरत जगतप्रसाद भुसाललाई त्यही जिल्लाभित्रको सबैभन्दा दुर्गम गाउँपालिका हरिहरपुरगढी गाउँपालिकामा बिनाआधार पठाइएको छ । यसैगरी कपिलवस्तु नपाका निरन भट्टराई, कृष्णनगर नपाका हरि पौडेल जस्ता पुराना कार्यकारी अधिकृतहरुलाई दुर्गम गाउँपालिकामा पठाई नयाँ तालिमका अधिकृतहरुमध्ये केहीलाई छानी छानी कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको उनले बताए ।
कंचनपुर जिल्लाका नयाँ सबै नगरपालिकामा शाखा अधिकृत खटाइएको छ भने दक्षिणी भागको पुनर्वासन गरपालिकामा सिनियर उप सचिव हिमलाल भण्डारीलाई खटाइएको संगठनले बतायो ।
सामान्य प्र्रशासन मन्त्रालयबाट पठाइएका ६४ शाखा अधिकृत (जो उपसचिव हुने प्रक्रियामा छन्) मध्ये नेपाल निजामती कर्मचारी संगठनका निवर्तमान उपाध्यक्ष रामहरि शर्मालाई कुनै जिम्मेवारी नदिइको उनले बताए ।