काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्ने लक्ष्यसहित अघि बढिरहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन सरकारले हालै सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग का पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरिसकेको जानकारी दिए । उनले छिट्टै यी आयोगहरूले पूर्णता पाउने र द्वन्द्वकालीन न्यायका बाँकी कामहरू निष्कर्षमा पुग्ने दाबी गरे ।
सभापति देउवाले आयोगहरू स्वायत्त, विश्वसनीय र सक्षम हुनुपर्नेमा जोड दिँदै द्वन्द्व पीडित तथा मानव अधिकार समुदायको चासो सम्बोधन हुने विश्वास व्यक्त गरे । उनले भने, ‘शान्ति सम्झौताका मर्मअनुसार आयोगहरूले सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लंघनका विषयमा सत्य अनुसन्धान गरेर पीडितलाई न्याय दिनेछन् ।’
उनका अनुसार सरकारले गठन गरेको छनोट समितिले पारदर्शी प्रक्रियामार्फत पीडित केन्द्रित निर्णय लिनेछ ।
सभापति देउवाले संक्रमणकालीन न्याय नेपालले आफैं समाधान गर्न सके यसले अन्तर्राष्ट्रिय समुदायका लागि उदाहरण बन्न सक्ने बताए । उनले भने, ‘वृहत शान्ति सम्झौताअनुसार संक्रमणकालीन न्याय दिएपछि नेपालले विश्वमाझ दीर्घकालीन शान्तिको मोडेल स्थापित गर्न सक्छ ।’
सरकारले द्वन्द्व पीडितहरूको न्याय सुनिश्चित गर्दै शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने स्पष्ट नीति लिएको उनले बताए ।