काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया टुंग्याउनुपर्ने विषयमा राजनीतिक दलहरूबीच विवाद नरहेको दाबी गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रिया मौलिक ढंगले अघि बढिरहेको बताए । उनका अनुसार सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) र संक्रमणकालीन न्याय (ट्रान्जिसनल जस्टिस) सम्बन्धी विषयमा पीडितहरूको न्याय सुनिश्चित गर्ने सवालमा कुनै पनि राजनीतिक दलबीच मतभेद नरहेको स्पष्ट गरे ।
अध्यक्ष दाहालले भने, ‘नेपालको शान्ति प्रक्रिया आफ्नै विशेषता र मौलिकताका साथ अघि बढिरहेको छ । टीआरसी र संक्रमणकालीन न्यायका सवालमा पीडितहरूको न्यायलाई उच्च प्राथमिकता दिनुपर्ने कुरामा राजनीतिक दलहरूबीच कहिल्यै विवाद भएन ।’
उनले राजनीतिक नेतृत्वले पीडित केन्द्रित दृष्टिकोण राख्दै मात्र शान्ति प्रक्रियालाई दिगो रूपमा टुंग्याउन सकिने भन्दै, यसबारे कुनै द्विविधा नभएको उल्लेख गरे ।
अध्यक्ष दाहालले विभिन्न राजनीतिक विवाद र विमति भइरहे पनि शान्ति प्रक्रियालाई टुंग्याउनु राष्ट्रिय मुद्दा भएकाले यसलाई लिएर राजनीति गर्न नहुने धारणा राखे ।
उनले थपे, ‘सत्ता पक्ष र प्रतिपक्षबीच विभिन्न मुद्दामा बहस र विवाद भइरहेका छन्, तर शान्ति प्रक्रिया टुंग्याउनु पर्ने कुरामा सबै दलहरूको इन्प्रिन्सिपल सहमति छ। प्राविधिक, कानुनी र राजनीतिक उतारचढावका कारण ढिलाइ भए पनि मूल मर्ममा असहमति कहिल्यै भएन।’
उनले नेपालको शान्ति प्रक्रियालाई अन्तर्राष्ट्रिय अभ्यास र अध्ययनको अनुभवका आधारमा अगाडि बढाउन आवश्यक रहेको भन्दै शान्ति स्थापनाका लागि सबै राजनीतिक दलहरू जिम्मेवार हुनुपर्नेमा जोड दिए ।