काठमाडौं । इटहरी बजारको मुख्यचोकमा रहेको १० तले इटहरी सेन्ट्रल प्लाजा (व्यावसायीक भवन)मा बिहान आगलागी भयो । बिहान साढे ९ बजेतिर बिजुलीको लाइन सर्ट भएर आगो सुरु भएको थियो । नियन्त्रण गर्न खोज्दाखोज्दै आगोले उग्ररूप लिन थाल्यो । तत्काल आगो नियन्त्रणमा लिने सामान जुटाउन सम्भव भएन । आगो फैलिँदै होटलबाट रेस्टुरेन्टतर्फ अघि बढ्यो ।
सेन्टर प्लाजा नामले परिचित सो भवनमा एक्कासि आगो लागेपछि भवनभित्र हताहत भयो । आगो लागेको सूचना पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय बासिन्दा उद्धार कार्यमा जुटे । भवनभित्र रहेका मानिसलाई बाहिर ल्याउने र आगो निभाउने प्रयास गरियो । तर, भवनको मध्यभागमा आगो लागेकाले माथिल्लो तलामा रहेका मानिसहरूको उद्धार गर्न सम्भव भएन ।
उद्योग वाणिज्य संघ इटहरी, सुनसरीका अध्यक्ष जीवन पराजुलीले भने, ‘बिहान ९ बजेतिर सेन्ट्रल प्लाजाको अफिसबाट लाइन सर्ट भएर आगो सुरु भएको हो । नियन्त्रणमा लिन नसकेपछि विकराल रूप लियो । समयमा सबै सामान जुटाउन गाह्रो भयो । भवनको पाँचौं तलामा आगो लागेपछि ग्यासका सिलिण्डर पड्किन थाले ।’
उनका अनुसार भवनभित्र फसेका मानिसहरूको सकुशल उद्धार गर्न र छिटो आगो नियन्त्रण गर्न नेपाली सेनाको हेलिकप्टर प्रयोग गरियो । भवनभित्र फसेका केही मानिसलाई डोरीको सहायताबाट बाहिर ल्याइयो । आगो नियन्त्रणका लागि सुनसरी, धरानसहित विभिन्न ठाउँका २०/२५ वटा दमकल प्रयोग गरियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सामाजिक संघ संस्थाका गरी ४/५ सय जना खटिएका थिए ।
‘आगो निभाउन धौधौ भयो । आगो निभाउने उपकरणहरूको अभावका कारण आगो निभाउन समस्या भयो । क्रेनको सहायताले ५ तलामाथि लैजानु पर्ने थियो । तर, लैजान सक्ने अवस्था थिएन । धुँवा र धुलोका कारण अक्सिजनको कमी हुन थाल्यो । अन्ततः होटलमा बसेका गेष्टहरूलाई हेलिकप्टरबाट उद्धार गरियो । कसैलाई डोरीबाट ल्याइयो । मानवीय क्षति भएन । तर, करोडौंको क्षति भएको छ,’ अध्यक्ष पराजुलीले भने ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीका अनुसार सेनाको हेलिकप्टरसहित विपद् सुरक्षा समितिले भवनभित्रबाट ११ जनाको सकुशल उद्धार गरिएको छ । प्रहरीका अनुसार आगलागीको कारण खुलिसकेको छैन । तर, विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ । भवनको मध्यभागबाट आगोलागी भएकाले भवनमा चर्किएको प्रहरीले जनाएको छ ।
अध्यक्ष पराजुलीका अनुसार आगो निभाउन धौधौ भएपनि प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, संघसंस्था, व्यापारीसहितको सक्रियताले नियन्त्रणमा आएको छ । इटहरीमा विगतका वर्षहरूमा पनि आगलागीका घटना भएको उनले स्मरण गरे । तर, घटना घटिसकेपछि मात्रै चेतना आउने र केही समयपछि बिर्सने गरेको उनको भनाइ छ ।
‘इटहरीमा योसहित ४ वटा ठूला आगलागी भए । म आफै पनि आगलागीपीडित हो । लक्ष्मीपूजाको समयमा २ पटक आगलागी भएको हो । त्यतिबेला निभाउने प्रयास गर्दा पनि घर जलेर नष्ट भएपछि मात्रै आगो नियन्त्रणमा आएको थियो । हामीसँग पर्याप्त उपकरण छैन,’ उनले भने, ‘मानवीय क्षति भएन । तर, करोडौंको क्षति भएको छ । यदि आगो अर्काेतिर सल्केको भए इटहरी जलेर नष्ट हुने थियो ।’
आगोको तापले भवन चर्किएको उनले बताए । ‘सिमेन्टले वाल छोडेको छ । ग्यास पड्किएको २/३ ठाउँमा वाल चर्किएको छ । त्यसलाई पुनः बनाउन सकिन्छ,’ उनले भने, ‘सिनेमा हलमा त्यति धेरै क्षति पुगेको छैन । होटल तथा रेस्टुरेन्टमा भने ठूलो क्षति पुगेको छ ।’
विभिन्न सामाजिक संघ संस्थामा आवद्ध राजेश श्रेष्ठले २०७५ असोजमा ५० करोड लागतमा सेन्ट्रल प्लाजा सञ्चालनमा ल्याएका थिए । यसबाहेक उनको चिउरा मिल पनि छ । इटहरी सेन्ट्रल प्लाजाका सञ्चालक सिद्धार्थ श्रेष्ठले भने, ‘धुवाँ आएपछि के भएको रहेछ भनेर हेर्न गएँ । तर, धुवाँ बढ्दै गयो । त्यसपछि विकराल बन्यो ।’
उनका अनुसार इटहरी सेन्ट्रल प्लाजाभित्र श्रेष्ठ आफैंले होटल बरण्डा सञ्चालन गरेका छन् । साथै सपिङ मल र २ क्यूएफएक्स सिनेमा हल पनि सञ्चालन गरिरहेको उनले बताए । भवनभित्र २०/२५ वटा पसल भने भाडामा सञ्चालनमा रहेको उनको भनाइ छ ।
‘भवन १० तलाको हो । ४ तलासम्म मल छ । ६ तलदेखि ९ तलासम्म होटल हो । होटल, मल सबै हामीले चलाउँदै आएका छौं । पसल अरूलाई भाडामा दिएको छ,’ उनले भने, ‘क्षतिको विवरण आउन बाँकी छ । समय लाग्छ ।’
उक्त भवनको बीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा गरिएको उनले बताए । आगलागी भएको जानकारी बीमा कम्पनीलाई गराइसकेको र क्षतिको विवरण संकलन गर्न काठमाडौंबाट सर्भेयर जाने तयारीमा रहेको बुझिएको छ ।