काठमाडौं । नेपालको प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारको निर्णयको आलोचना गर्दै कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीलाई जलमाफियाहरुको स्वार्थ पूरा गर्ने र विद्युत प्राधिकरणलाई विचौलियाहरुको हातमा सुम्पिने रणनीति भएको आरोप लगाएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै माओवादी सांसद शक्ति बस्नेतले यस कदमलाई ‘स्वार्थपूर्ण र जनविरोधी’ भन्दै कडा आलोचना गरे । उनले भने, ‘सरकारले कुलमान घिसिङको बर्खास्ती गरेर विद्युत प्राधिकरणलाई विचौलियाहरुको हातमा सुम्पिने खेल खेलिरहेको छ। यसको उद्देश्य जलमाफियाको स्वार्थ पूरा गर्नु हो ।’
बस्नेतले वर्तमान सरकारलाई स्वार्थ समूहको पृष्ठपोषण गर्ने र सार्वजनिक संस्थामा दमन प्रदर्शन गर्ने आरोप पनि लगाएका छन् । ‘सरकार आफ्नो दुई तिहाई बहुमतको शक्ति राष्ट्रसेवक कर्मचारीको अपमान गर्न र सार्वजनिक संस्थामाथि दबाब बनाउन प्रयोग गर्दैछ,’ उनले भने ।
उनले थपे, ‘सरकार स्वार्थ समूह र विचौलियाहरुको हित र रक्षाका लागि समर्पित भएको देखिन्छ । यसले लोकतन्त्रको मूल्यमान्यतामा ठूलो धक्का पुर्याएको छ ।’
यस विवादास्पद मुद्दामा, माओवादी दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सदनमा जवाफ नदिएसम्म सदन चल्न नदिने चेतावनी समेत दिएको छ ।