काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले ग्रामीण क्षेत्रमा रहेका घरेलु तथा साना उद्योगहरू सुदृढ नभएसम्म मुलुक आर्थिक रूपमा समृद्ध हुन नसक्ने बताएका छन् । घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग कुरा गर्दै उनले साना तथा घरेलु उद्योगहरू अर्थतन्त्रको मेरूदण्ड भएको भन्दै आगामी बजेटले यस्ता विषयलाई सम्बोधन गर्ने आश्वासन दिएका छन्। लघु, घरेलु तथा साना उद्योगको विकासका लागि ठोस कार्यक्रम ल्याईने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
नेपालको आर्थिक रूपान्तरण, परम्परागत कृषि पेशालाई आधुनिकीकरण र व्यवसायीकरण नगरेसम्म मुलुकको आर्थिक समृद्घि सम्भव नभएको उनको भनाई थियो । महासंघका उपाध्यक्ष विष्णुबहादुर लुईटेलले आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै लघु, घरेलु तथा साना उद्योगबाट घरघरमा रोजगार र आत्मसम्मान सहितको समृद्घ अर्थतन्त्र निर्माणको आधार भन्ने नाराका साथ महासंघ अगाडि बढिरहेको बताए ।
स्वदेशी श्रम, पुँजी र कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योगले स्वरोजगारी, रोजगारीका साथै मुलुकको आर्थिक विकास महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै उनले पूँजी, प्रविधि र बजार समस्याका कारण यो क्षेत्रले अपेक्षाअनुसार गति लिन नसकेकोतर्फ ध्यानाकर्षण गराए ।
यसैगरि महासंघको प्रतिनिधिमण्डलले वाणिज्यमन्त्री रोमी गौचन थकाली, विज्ञानमन्त्री प्रेमबहादुर सिंहसँग पनि छुट्टाछुट्टै भेट गरी आगामी दिनमा नेपालका लघु, घरेलु तथा साना उद्योगको उत्पादन विविधीकरण गर्न चाल्नुपर्ने कदम र कार्यक्रम बारेमा छलफल गरेको थियो ।
लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धन तथा आगामी २०७४ बैशाख ७ देखि ११ गतेसम्म आयोजना हुने नेपाल १३ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनीका बारेमा समेत छलफल गरेको थियो । प्रतिनिधिमण्डलमा महासंघका सल्लाहकार वासुदेव गिरी, उपाध्यक्ष मोहन कटुवाल, महासचिव डम्बर रेग्मी, कोषाध्यक्ष सत्यनारायण प्रजापतिलगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा उद्योगी/व्यवसायीहरूले पूँजी र प्रविधिको अभावमा नेपाली उत्पादनले मूल्य र गुणस्तरमा विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा बजार विस्तार हुन नसकेको भन्दै उनीहरूले नेपाली उत्पादनलाई गुणस्तरीय प्रतिस्पर्धी बनाउन सहज वित्तीय पहुँच, प्रविधिको विस्तार र तालिममा विशेष दिनुपर्नेमा जोड दिँदै आएका छन् ।