काठमाडौं । झापा जिल्ला प्रहरीले नेपाल-भारत सीमा क्षेत्र हुँदै अवैध रूपमा भन्सार छली, चोरीपैठारी गरी ल्याइएका गाडीका मोबिल र अन्य पाटपुर्जा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले मेचीनगर-६ कालिखोलास्थित भारतबाट नेपाल आउँदै गरेको अवैध सामानसहित भारतीय नम्बरको कार बरामद गरिएको जानकारी दिए ।
उनका अनुसार चेकजाँचका क्रममा कारको सिटमुनी ‘फल्सबटम’ बनाएर ९ लाख १५ हजार ५८२ रुपैयाँ मूल्य बराबरका मोबिल र मोटरका पाटपुर्जा बरामद भएका हुन् ।
कार चालक भारत पश्चिम बङ्गाल दार्जिलिङका ३४ वर्षीय अमित सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएका सामानलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाएर थप अनुसन्धान सुरु गरिएको सूचना अधिकारी खड्काले जानकारी दिए ।
चिया निर्यात ५० प्रतिशतले बढ्यो
मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको ८ महिनामा चिया निर्यात ५०.४० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार गत साउनदेखि गत फागुनसम्ममा ३ अर्ब २० करोड २ लाख ९१ हजार रुपैयाँ मूल्य बराबरको चिया निर्यात भएको हो ।
उक्त अवधिमा १२ हजार ५७६.३५ मेट्रिकटन चिया निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । गत आवको सोही अवधिमा २ अर्ब १२ करोड ७६ लाख ३७ हजार रुपैयाँ मूल्य बराबरको चिया निर्यात भएको थियो ।
कार्यालयका अनुसार चालु आवको फागुन मसान्तसम्म अलैँचीको निर्यात १२.८ प्रतिशतले बढेको छ । हुमागाईंका अनुसार चालु आवको ८ महिनामा ५ अर्ब ८३ करोड ७३ लाख ६८ हजार रुपैयाँ मूल्य बराबरको अलैँची निर्यात भएको छ । गत आवको सोही अवधिमा ५ अर्ब १७ करोड २६ लाख ९७ हजार रुपैयाँ मूल्य बराबरको अलैँची निर्यात भएको थियो ।
भन्सार कार्यालयका अनुसार सिमेन्ट क्लिङ्कर २०४.७ प्रतिशत, भेनियरसिट ७४.३ प्रतिशत र मोलासिसको निर्यातमा ४ हजार ५८९.५ प्रतिशतले वृद्धि भएको छ ।
फलामे पाता, छुर्पी, अदुवा, काउली, बन्दागोपी, ब्रोकाउली, अम्रिसोलगायत वस्तुको निर्यातमा कमी आएको भन्सार प्रमुख हुमागाईंले जानकारी दिए । उनका अनुसार मेची भन्साबाट चालु आवको ८ महिनामा १७ अर्ब ९० करोड ६१ लाख २५ हजार रुपैयाँ को वस्तु निर्यात भएको छ ।