
काठमाडौं प्रथम राष्ट्रिय पानी सम्मेलन- २०२५ को आयोजना हुने भएको छ ।
नेपाल सरकार, जल तथा ऊर्जा आयोगको सचिवालयको नेतृत्व, राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासंघ नेपालको आयोजनामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जल-सम्बद्ध संघसंस्थाको सहकार्यमा चैत्र ९ गतेदेखि विश्व पानी दिवसको अवसरमा प्रथम राष्ट्रिय पानी सम्मेलन २०२५ आयोजना गर्न लागिएको हो ।
उक्त सम्मेलन नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा ९ र १० गते २ दिन सम्म चल्नेछ ।
अतः उक्त कार्यक्रमको शनिबार बिहान ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता समुदघाटन हुने जनाइएको छ ।
नेपाल जलस्रोतको धनी देश भएता पनि यसको व्यवस्थापनमा विभिन्न चुनौतीहरू रहेको र जलवायु परिवर्तन, बढ्दो जनसंख्या, र अव्यवस्थित विकासका कारण पानीको स्रोतमाथि दबाब बढ्दै गएको छ ।
जलस्रोतको दिगो व्यवस्थापन र उपयोगलाई प्रवर्द्धनका लागि सरकार तथा सरोकारवालाहरूले समान धारणा र एकीकृत कार्यप्रणाली अवलम्बन गरी काम गर्नुपर्ने देखिएकाले पानी सम्मेलन गर्न लागिएको हो ।
जलवायु परिवर्तन विश्वव्यापी रूपमा देखापरेको गम्भीर समस्या हो । जलवायु परिवर्तनले नेपालको जलस्रोतमा पनि प्रभाव परिरहेको छ जसको कारणले हिमनदी पग्लने, अत्यधिक वर्षा/खडेरी, जलस्रोतको उपलब्धतामा परिवर्तन, जलजन्य प्रकोप र जलको गुणस्तरमा ह्रास जस्ता गम्भीर असरहरू पारिरहेको जनाउँदै यस सम्बन्धमा छिट्टै नै निर्णय गर्नुपर्ने आयोजकले जनाएको छ ।
जल तथा ऊर्जा आयोग सचिवालयको नेतृत्वमा नेपालमा विसं २०६५ साल देखि जल तथा मौसम सप्ताह मनाइँदै आइएको छ । यसैगरी, हिमनदीका संरक्षणलाई समेत ध्यानमा राखी यस वर्षदेखि ‘नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह २०२५’ पनि मनाइने भएको छ ।
जलवायु परिवर्तनको बढ्दो प्रभाव, हिमनदीहरूको निरन्तर गलन तथा जल र मौसमको बदलिादो स्वरूपलाई दृष्टिगत गर्दै नेपालका हिमनदी, जल र मौसमको महत्व र यसको संरक्षणका लागि नीति निर्माण देखि व्यवहारिक समाधान खोज्नेतर्फ विशेष ध्यान दिन आवश्यक रहेको आयोजकले जनाएको छ ।
जलवायु परिवर्तनका असरहरूलाई न्यूनीकरण गर्दै जलस्रोतहरूको दीगो उपयोगका लागि स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारीलाई विस्तार गर्नुपर्ने आयोजकको ठहर छ ।
सरकार यस क्षेत्रमा कार्यरत सबै सरकारी, गैरसरकारी संस्था तथा विज्ञहरूसँग सहकार्य दिगो जलस्रोत व्यवस्थापन र जलवायु अनुकूलन रणनीतिहरू कार्यान्वयन गर्न अग्रसर रहेको आयोजकले जनाएको छ ।
पानीको बहुउपयोगबाट मूलुकको आर्थिक, सामाजिक रूपान्तरणमा टेवा पुग्ने हुँदा उक्त दिन पानीको महत्त्व, सोको स्रोत संरक्षण र दीगो उपयोगको लागि सिकिएका असल अभ्यासहरु र चुनौतीहरुको विषयमा पानीसंग सम्बद्ध सरोकारवालाहरूसँग छलफल तथा बहस गर्न दुई दिवसीय ’प्रथम राष्ट्रिय पानी सम्मेलन’ आयोजना गर्न लागिएको हो ।
सो सम्मेलनमा एकीकृत जलस्रोत व्यवस्थापन, जल–सुशासन, खानेपानी, सरसफाई, जलविद्युत, सिँचाइजस्ता जलस्रोतको बहु–उपयोग र सोमा जलवायु परिवर्तनको असर, जलस्रोतको अन्तरदेशीय सहकार्य र जलस्रोतको उपयोगमा रहेका चुनौती र सिकाइका असल अभ्यासहरू तथा पानीसम्बद्ध विविध विषयहरूमा प्रस्तुतीकरण र नीतिगत छलफल हुने जनाइएको छ ।