
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको समस्या ग्रस्त क्षेत्रको निर्माण कार्य ९० प्रतिशत पूरा भएको छ ।
निर्माण कार्य चार महिनादेखि दैनिक १० घण्टा विमानस्थल बन्द गरेर काम गरिरहेको प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले बताए ।
उनले भने, ‘समस्याग्रस्त ठाउँमा राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गरेर काम अगाडि बढायौं । जसमा हामीले कुन काम कति गरीसक्ने भनेर लक्ष्य तोकेका थियौं । लक्ष्यअनुसार काम भइरहेको छ । हाल धावनमार्गबाट ७५ मिटर क्षेत्रभित्र पर्ने निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।’
हाल धावनमार्ग कनेक्ट गर्ने ट्याक्सी वेमा माटो फिलिङको काम सकेर पिच गर्ने काम भइरहेको उनको भनाइ छ । यो काम सम्पन्न भएपछि आगामी चैत्र १९ गतेदेखि विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म खुला हुने उनले जानकारी दिए ।
उनले भने,‘ हामीले विमानस्थलमा लक्ष्य लिएको काम करिब ९० प्रतिशत सकिएको छ भने आयोजनाको २८ प्रतिशत काम सम्पन्न भएको छ । लक्ष्य लिएको काम सकिएपछि आयोजनाको काम विमानस्थलमा आगामी तीन वर्षसम्म जारी रहनेछ । जसले जहाज अवतरणमा कुनै समस्या गर्ने छैन । काम निरन्तर चलिरहन्छ ।’
प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण-पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत विस्तार गरिरहेको छ ।
विमानस्थल निर्माणको काम सम्पन्न गर्न १५ अर्ब रुपैयाँ लाग्ने जनाइएको छ । निर्माण कार्य सुरु भएको एक वर्ष भइसकेको छ । धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सी वे बनाउन लागिएको आयोजनाले जनाएको छ ।
हाल विमानस्थलबाट आन्तरिकमा दुईतर्फी तीन सयभन्दा बढी र अन्तर्राष्ट्रियतर्फ एक सय उडान हुने गरेका छन् ।