काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा निर्यात ह्वात्तै बढेको छ । यो अवधिमा ५७.२० प्रतिशतले निर्यात वृद्धि भएको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालले १ खर्ब ५८ अर्ब रुपैयाँको निर्यात गरेको छ । गत आवको सोही अवधिमा १ खर्ब ६१ करोड रुपैयाँको निर्यात गरेको थियो ।
निर्यातसँगै आयात पनि ११ प्रतिशतले बढेको विभागको तथ्यांकमा उल्लेख छ । फागुन मसान्तमा आयात ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ मात्रै रहेको पनि विभतगले जनाएको ।
विभागका अनुसार नेपालको कुल वैदेशिक व्यापार यो अवधिमा १५.२९ प्रतिशतले बढेको छ । आयात र निर्यातको बजार ११ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ । कुल वैदेशिक व्यापारमा १२.१३ प्रतिशत हिस्सा निर्यातको रहेको छ भने आयातको हिस्सा ८७.८७ प्रतिशत रहेको पनि तथ्यांकमा उल्लेख छ ।