काठमाडौं । नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) मा दिपक थापा नियुक्त भएका छन् । उनी नेपाल प्रहरीका ३१औं आइजीपी बनेका हुन् । हालका आईजीपी वसन्तबहादुर कुँवरको पदावधी सकिएपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आईजीपी पदमा नियुक्त गरेको हो ।
२०५२ भदौ १९ गते नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) दर्जाबाट प्रहरी सेवा सुरु गरेका थापा तीन दशकपछि प्रहरी संगठनको सर्वोच्च पदमा पुगेका हुन् । संयोग भनै भन्नुपर्छ उनले प्रहरीमा करियर सुरु गर्दा तत्कालीन गृहमन्त्री केपी शर्मा ओली थिए भने आईजीपी बन्दा ओली प्रधानमन्त्री छन् ।
थापाले भोलि चैत ५ गते कार्यालय समयमा गृह सचिव गोकर्णमणि दुवाडीबाट दज्र्यानी चिह्न (फुली) लगाएर कार्यभार सम्हाल्नेछन् । साथै थापाले कार्यभार सम्हाल्ने समयमा उपत्यकास्थित सम्पूर्ण प्रहरी युनिटका इन्चार्जको उपस्थिति अनिवार्य गरिएको छ ।
स्थायी घर भक्तपुर भएका थापा भक्तपुरबाटै प्रहरीको आईजीपी हुने दोस्रो व्यक्ति हुन् । यसअघि सोही जिल्लाबाट शैलेश थापा क्षेत्रीले आईजीपीको जिम्मेवारी बहन गरेका थिए ।
थापा २०२८ साल मंसिर ८ गते भक्तपुरको सूर्यविनायक नगरपालिका– ८ सिपाडोलमा जन्मिएका हुन् । उनले कानूनमा एलएलबी, राजनीतिशास्त्रमा स्नातकोत्तर, जनप्रशासनमा एमपीएको अध्ययन गरेका छन् ।
डीएसपी र एसपी दर्जामा उनले जिल्ला प्रहरी कार्यालय रुकुम, खोटाङ, सुनसरी, मोरङ, मकवानपुर र चितवनको प्रहरी प्रमुख र बागमती प्रदेश प्रहरी, उपत्यका प्रहरी कार्यालयको जिम्मवारी समेत उनले सम्हालेका छन् । साथै उनले प्रहरी वृत्त महाराजगञ्ज काठमाडौंको कार्यालय प्रमुखको अनुभवसमेत हासिल गरेका छन् ।