काठमाडौं । प्रतिनिधिसभा बैठकले सोमबार सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ लाई पारित गर्ने भएको छ । आज बिहान ११ बजे बस्ने संसद बैठकले दफाबार छलफल गरेर सो ऐन प्रस्ताव गर्ने कार्यक्रम छ ।
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यतालिका छ । त्यसपछि सदनले बहुमतका साथ सो विधेयक पारित गर्नेछ ।
सरकारले सहकारी अध्यादेशबाट सहकारी क्षेत्रको नियमन गर्नका लागि भन्दै राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गरिसकेको छ । प्राधिकरण हालसम्म अध्यादेशबाट सञ्चादन हुँदै आएको भएपनि सोमबार विधेयक पास हुनासाथ राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नेछन् । त्यसपछि विधेयक ऐन बनेर प्राधिकरण सोही ऐनमार्फत सञ्चालन हुनेछ ।
गत माघ १५ गतेदेखि काम कारवाही सुरु भएको प्राधिकरणले हालसम्म उल्लेख्य काम गर्न सकेको छैन । सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेललाई अध्यक्ष बनाएर काम गराइरहेको छ ।