काठमाडौं । उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाले उपभोक्ता अदालतले आम रुपमा उपभोक्ताको हक हितमा काम गर्ने भन्दै आइतबारदेखिनै मुद्दाको चाप धेरै हुने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र उपभोक्ता हित संरक्षण मञ्च नेपालले आयोजना गरेको व्यवसाय र उपभोक्ताको मानवअधिका, शिघ्र र सुलभ न्यायका लागि उपभोक्ता अदालत विषय अन्तक्रिया कार्यक्रममा बोल्दै उनले अदालतले मिलापत्र गरे पनि त्यसले उपभोक्ताको हक हितका लागि उपभोक्ता र बिक्रेताहरु सचेत हुने र समाजलाई यसले गाइड गर्ने बताए ।
अदालत गठनसँगै मुद्दा पर्दा कसरी अघि बढ्ने र कसरी फैसाला गर्ने भन्ने विषयमा अन्तराष्ट्रिय नजिहरु हेरेर अघि बढ्नु पर्ने उनले बताए । अस्पतालमा धेरै मूल्य लिएकोदेखि तरकारीमा ठगिएकोसम्मका मुद्दाहरू यो अदालतमा जाने उनको भनाइ छ । उनले आफूहरुले लापरबाही गर्नेहरुलाई अदालतबाट क्षतिपूर्ती भराएको उदाहरण दिँदै उपभोक्ता अदालत स्थापना पछि अझ छिटो न्याय पाउने विश्वास व्यक्त गरे ।
‘यो चुलोको अदालत हो । यसमा नेपालको कानुन भन्दा पनि विदेशमा भएका अभ्यासहरुलाई हेर्नु पर्ने हुन्छ,’ बानियाले भने, ‘यो जीवन, वस्तु, सेवा र चुलोको अदालत हो । त्यहाँ चुलोमा जाने कुराको मात्रै मुद्दा चल्छ ।’
वरिष्ठ अधिवक्ता डा.नारायण घिमिरे कानुन भए पनि कार्यान्वय फितलो भइरहेको भन्दै अदालत स्थापना पछि कार्यान्वयको पाटो थप बलियो बन्ने विश्वास व्यक्त गरे । अहिले पनि संविधानको धारा ३६ ले खाद्यसम्बन्धी मौलिक हकको व्यवस्था गरेको भन्दै त्यसलाई त्यसको कार्यान्वन फितलो हुँदा उपभोक्ताहरु ठगिएको उनको भनाइ छ ।
‘अदालत स्थापना पछि नै उपभोक्ताको हक अधिकार सुरक्षित हुने भन्ने होइन तर त्यसको कार्यान्वयनमा विशेष ध्यान दिनु पर्ने हुन्छ,’ उनले भने ।
विदेशमा भएका नजिरको उदाहरण सहित आफ्नो प्रस्तुती दिएका घिमिरेले विदेशमा उपभोक्ता ठगिमा परेको विषयमा धेरै ठूलो आर्थिक जरिवाना भएको पनि बताए । होटलमा सुत्न गएका ग्राहकलाई उडुसले टोकेपछि ग्राहकले मुद्दा हाल्दा १६ लाख अमेरिकी डलर क्षतिपूर्ती पाएको उदाहरण रहेको उनले जानकारी दिए ।
उपभोक्ता ठगिनबाट बचाउनका लागि ठूलो मात्रामा जरिवाना तिराएको खण्डमा बिक्रेताहरु पनि सचेत हुने उनको भनाइ छ । यदि कुनै व्यक्ति वा संस्थाको लापरवाहीले कसैको क्षति भएमा त्यसको क्षतिपूर्ती उक्त व्यक्ति वा संस्थाले नै व्यहोर्नु पर्ने उनको भनाइ छ ।
त्यस्तै उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासविच विष्णु तिम्लिसिनाले उपभोक्ताहरु ठगिरहँदा पनि सरकारले ध्यान नदिएको अवस्थामा अदालत स्थापनाले उपभोक्ताहरुलाई यस्ता ठगिबाट क्षतिपूर्ती मिलेको खण्डमा सहज हुने बताए । केकमा फलामको टुक्रा भएर उपभोक्ताको दाँत भाँचिएको र काउली किन्दा उपभोक्ताले काउली भन्दा बढी पात र डाँठमा खर्च गर्नु परेको उनको भनाइ छ । खुलम खुला रुपमा विषादी प्रयोग भइरहेको भन्दै यसमा पनि राज्यले ध्यान दिनु पर्ने उनको भनाइ छ ।
नेपाली बजारमा अण्डाको आयु कति हुन्छ भन्ने जानकारी नभएको भन्दै यसले आम उपभोक्ताको स्वास्थ्यमा असर परिरहेको उनले बताए । मूल्य वृद्धिमा आम रुपमा उपभोक्ताहरु सबै भन्दा बढी ठगिएको भन्दै यसमा सरकाले कडा रुपमा कानुनको कार्यान्वयन गर्नु पर्ने उनको भनाइ थियो । उपभोक्ता अदालत निर्माण पछि यस्ता ठगिका घटनामा कम हुने विश्वास उनको छ ।
‘कानुन अहिले पनि छन् । तर कार्यान्वयन निकै फितालो भइरहेको छ । तसर्थ कार्यान्वयनमा विशेष ध्यान दिनु पर्ने आवश्यकता छ,’ उलने भने ।
उपभोक्ताको संरक्षण र सुरक्षा राज्यको दायित्व भएको भन्दै यसमा विशेष ध्यान जानु पर्ने उनको भनाइ छ । उपभोक्ताको विषयमा तल्लो तहसम्म नै सचेतना कार्यक्रम लिनु पर्ने उनको भनाइ थियो ।