काठमाडौं । राजधानीको रिङरोडबाट ३०/३२ किलोमिटर दुरीमा पर्छ नुवाकोटको बेलकोटगढी नगरपालिकामा पर्ने आरुखर्क भञ्ज्याङ र सेरा भञ्जाङ । बेलकोटगढी नाम मात्रको नगरपालिका हो । नेपालको अत्यन्तै विकट क्षेत्रमा जस्तै बसोबास, जीवनशैली र अत्यन्तै खराब मोटरबाटोहरू हेर्न र अनुभव गर्न मन छ भने तपाईंको लागि यो सही गन्तव्य हुनसक्छ ।
ख्याल गर्नूहोला आधुनिक सुविधायुक्त कार वा स्कूटर लिएर यात्रामा निस्कनुभयो भने बाटैमा तपाईं विचल्लीमा पर्नुहुनेछ । फोरह्विल ड्राइभ सुविधायुक्त जीप लिएर जानुभयो भने तपाईंको यात्रा सफल हुनेछ । तर, खराब बाटो देखेर र गाडीको अस्वाभाविक उफारले तपाईंको मुटुको ढुकढुकी बढ्नेछ । त्यसैले यात्रामा जानुपूर्व डरलाग्दो यात्रा पचाउने क्षमता तपाईं आफैले जाँच गर्नु अनिवार्य छ ।
परम्परागत शैलीमा हुँदै आएका धान, गहुँ, मकै, तरकारी र फलफुल खेती नै यहाँका मानिसहरूको जीविका पार्जनको आधार हो । डेरी र चामल पिठो बनाउने मिल यस क्षेत्रमा देख्न पाइने उन्नत व्यवसाय हुन् । जागिरको लागि राजधानी वा परदेश भासिनु यहाँको युवा पुस्ताको विकसित जीवनशैली हो ।
अति दुर्गम क्षेत्रमा जस्तै उध्रेको चोली, मैलो धोती, फाटेको टोपी, च्यातिएको चप्पलमा मीठो मुस्कान छोड्दै यत्रतत्र मानिसहरू हिँडेको देख्न पाइन्छ । अफरोड ढुवानीको साधन, अफरोड वाइक फाट्टफुट्ट कुद्छ बाक्लो बादल झैं धुलो उडाउँदै ।
२०७२ सालको भूकम्पपछि सरकारले दिएको ३ लाख अनुदान मिसाएर सरकारले नै बनाएको मापदण्डपालना गरेर बनेको टिनका पाताले छाएका, २/३ कोठे झुपडीहरू नै यहाँको अधिकांश मानिसको घर हो । रेमिट्यान्स आम्दानी हुनेले सिमेन्ट, बालुवा र फलामे डण्डी प्रयोग गरी पक्की घर बनाउन थालेका छन् ।
रङरोगन र साजसज्जा नभए पनि यी घरमा एलइडी टिभी राखिएको पाइन्छ । परिवार सदस्यको हातमा स्मार्ट मोवाइल पनि देख्न पाइन्छ । घरमा रङरोगन गर्ने पैसा नभए पनि, सुकिलो पहिरहनमा सजिन नपाएपनि, सरकारी जागिरेको जस्तो ढुक्कको कमाइ नभए पनि यहाँको बासिन्दा सामाजिक काममा दिल खोलेर चन्दा दिन्छन् । यसैगरी, मुरीका मुरी अन्न दान दिन्छन् ।
यही फागुनको दोस्रो साता चिम्मेश्वर धार्मिक महोत्सव हुँदा धर्मशाला निर्माणका लागि स्थानीयबासीले ४६ लाख रुपैयाँ चन्दादान गर्नु र २ लाख रुपैयाँभन्दा बढी मूल्यको अन्नदान गर्नु पछिल्लो उदाहरण हो । सहरमा जुलुस निस्के झैं घरघरबाट कोदालो बोकेर मोटरबाटो बनाउन निस्कनु वा स्कुल बनाउने ढुंगा संकलन गर्न ढोको बोकेर दिनभर पसिना बगाउन तयार हुनु यहाँका मानिसहरूमा भएको मौरीत्व हो ।
नगरपालिका प्रमुख जगतबहादुर गुरुङले उत्साहपूर्वक उक्त महायज्ञमा एक लाख ५१ हजार ५१ सय ५१ रुपैयाँ सहयोग घोषणाले यसलाई थप स्पष्ट पार्दथ्यो ।
गत वर्षमात्र सेरा भञ्जाङ स्कूल चलाउन स्थानीयले २६ लाख रुपैयाँ चन्दा दिनु र गत वर्ष नै आरुखर्कको स्कुल चलाउन स्थानीयबासीबाट ६२ लाखभन्दा बढी चन्दा संकलन हुनु पछिल्ला तीन नजिर हुन् । ५ वर्षअघि सामाजिक कार्य गर्ने हेतुले स्थापना भएको खतिवडा सेवा समाजको सामाजिक कार्यप्रति लगाव लोभ लाग्दो देखिन्थ्यो ।
‘अहिले खतिवडा सेवा समाजमा सबै वर्गका मानिसहरुको आकर्षकको केन्द्रबिन्द्र बन्दै गएको र धेरैभन्दा धेरै सामाजिक कार्यमा सक्रिय भएको छ,’ खतिवडा सेवा समाजका अध्यक्ष विकास खतिवडाको भनाइ छ ।
त्यसैगरी, स्थानीय समाजसेवी शम्भु पनेरु सरकारले स्थानीय भावना र आवश्यकता अनुसार विकासको काम अघि नबढाउँदा स्थानीय आफै अग्रसर हुनु परेको बताउँछन् । आफनो गाउँठाउँको विकास गर्नका लागि सरकारको मात्रै आशा गर्नुभन्दा स्थानीय समुदायबाट पनि सक्रिय हुनुपर्ने उनको जोड छ ।
‘आफनो गाउँठाउँको विकास गर्नका लागि सरकारको मात्रै आशा गर्नुभन्दा स्थानीय समुदायबाट पनि सक्रिय हुनुपर्छ,’ समाजसेवी पनेरुले भने ।
४६ लाख रुपैयाँ चन्दादानबाट उठ्दा र २ लाख रुपैयाँभन्दा बढी मूल्यको अन्नदान संकलन हुँदा सामाजिक कार्यप्रतिको मानिसहरूको लगाव अतुलनीय रहेको देखिन्छ । झण्डै ५० लाख रकम दाताहरूबाट उठ्दा त्यसमा करिब २ लाख मात्रै खर्च भएको यसै नगरपालिका वडा नं ३ का वडा अध्यक्ष रामचन्द्र तिमिल्सिनाको भनाइ छ ।
‘धार्मिक, सांस्कृतिक, पर्यटन र स्थानीय उत्पादनहरुलाई थप चिनाउने र प्रवर्द्धन गर्ने मेरो पहिलो प्राथामिकता हुनेछ,’ अध्यक्ष तिमिल्सिनाको प्रतिवद्धता छ ।
करिब ४८ हजार जनसंख्या भएको नगरपालिकाको वार्षिक बजेट एक अर्ब नजिक भए पनि त्यस क्षेत्रमा स्कूल, कलेज सञ्चालन गर्न, मन्दीर, धर्मशाला बनाउन सर्वसाधारणले चन्दा नै दिनुपर्ने, चन्दा उठाउन महायज्ञ गर्नुपर्ने बाध्यता समुदायलाई छ ।
यो बाध्यतालाई उनीहरू आफ्नै कर्तव्य सम्झेर सामाजिक कार्यमा स्वस्फूर्त रूपमा लागेका छन् । सरकारले उच्च शिक्षाका लागि पर्याप्त बजेट व्यवस्थापन नगरी दिँदा विद्यार्थीहरू उच्च शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था आएको भन्दै विभिन्न दाताहरूको सहयोग र आन्तरिक स्रोतबाटै उठेको रकमबाटै उच्च तहसम्मको पढाइ सञ्चालन गर्दै आएको बेलकोटगढी भञ्याङ माविकी प्रध्यानध्यापक सुनिता ठकुरीले बताइन् ।
‘एक वर्षको अवधिमा शैक्षिक क्षेत्र उकास्नका लागि एउटै वडाबाट ९० लाखसम्म चन्दा स्वरुप संकलन गरेका छौं, जसले गर्दा यहाँ विद्यार्थीहरूको आफ्नो उच्च शिक्षालाई बीचमा नै छाड्नु पर्ने बाध्यता अन्त्य भएको छ,’ उनले भनिन् ।
‘हामी बनाउँछौं हाम्रो ठाउँ’ भन्ने उद्देश्यले एक वर्षको अवधिमा शैक्षिक क्षेत्र उकास्नका लागि एउटै वडाबाट ९० लाखसम्म चन्दा स्वरूप संकलन भएको स्थानीय गोकुल सापकाेटा बताउँछन् ।
नगरपालिकाले नगर क्षेत्रमा भूमि कर, घर बहाल कर, व्यवसाय कर, जडिबुटी कवाडी तथा जीवजन्तु कर, विज्ञापन कर, बहाल बिरोटा शुल्क, पार्किङ शुल्क, पर्यटन शुल्क, सेवा शुल्कसहित २६ प्रकारका कर लगाउँछ ।
यी शीर्षकबाट चालु आर्थिक वर्षमा १८ करोड ४९ लाख रुपैयाँ राजश्व उठाउने नगरपालिकाको लक्ष्य रहेको छ । संघ र प्रदेश सरकारको सहयोगसहित नगरपालिकाको बजेट ९४ करोड ७३ लाख रुपैयाँ रहेको छ ।
‘स्थानीय तहबाट संकलित बजेटले मात्रै विकास पूर्वाधार निर्माणका लागि पर्याप्त भएन यसका लागि संघ र प्रदेश सरकारले उचित बजेटको व्यवस्थापन गर्दिनु पर्छ,’ नगरप्रमुख गुरुङको माग छ ।
बेलकोटगढीमा सम्पन्न महायज्ञले धार्मिक आस्था, सामाजिक सेवा, र समुदायको एकतालाई सशक्त बनाउने अवसर प्रदान गरेको देखिन्छ । यसले समाजमा परोपकार, सहयोग र नेतृत्वकर्ताहरूको सक्रिय सहभागिताको महत्त्वलाई उजागर मात्रै गरेको छैन, यस्ता कार्यहरूले भविष्यमा पनि समाजमा सकारात्मक ऊर्जा थप्ने विश्वास गर्न सकिन्छ भन्ने गतिलो उदाहरण दिएको छ ।