व्यापार घाटा ६६ प्रतिशत बढ्यो, एक वर्षमा चालु खाता १६४ अर्बले घट्यो

<p>काठमाडौं । आर्थिक वर्ष २०७३/७४ को सात महिनासम्ममा कुल वस्तु निर्यात १५.२ प्रतिशतले वृद्धि भई रु. ४२ अर्ब १८ करोड पुगेको छ । समीक्षा अवधिमा भारततर्फ १८.२ प्रतिशत, चीनतर्फ ५४.२ प्रतिशत र अन्य मुलुकतर्फ ९.७ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा जुस, पिना, रोजिन, जि.आई.पाईप लगायतका वस्तुको निर्यात बढेको छ भने अलँैची, पोलिष्टर यार्न, [&hellip;]</p>

काठमाडौं । आर्थिक वर्ष २०७३/७४ को सात महिनासम्ममा कुल वस्तु निर्यात १५.२ प्रतिशतले वृद्धि भई रु. ४२ अर्ब १८ करोड पुगेको छ । समीक्षा अवधिमा भारततर्फ १८.२ प्रतिशत, चीनतर्फ ५४.२ प्रतिशत र अन्य मुलुकतर्फ ९.७ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा जुस, पिना, रोजिन, जि.आई.पाईप लगायतका वस्तुको निर्यात बढेको छ भने अलँैची, पोलिष्टर यार्न, तरकारी, अदुवा लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

समीक्षा अवधिमा कुल वस्तु आयात ६०.८ प्रतिशतले बढेर रु. ५५६ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २१.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात ८०.१ प्रतिशत, चीनबाट भएको आयात ३१.९ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ३४.८ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, एम.एस विलेट, सिमेन्ट, लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, औषधी, कोल्डरोल सिट ईन क्वाईल, सुपारी लगायतका वस्तुहरुको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा भैरहवा भन्सार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार र विराटनगर भन्सार नाकाबाट भएको निर्यातमा कमी आए तापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा मेची भन्सार, कैलाली भन्सार, विराटनगर भन्सार र नेपालगञ्ज भन्सार नाकाबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ६६.२ प्रतिशतले बढी रु. ५१३ अर्ब ९८ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.६ प्रतिशत रहेको थियो ।

निर्यात आयात मूल्य सूचकाङ्क

आर्थिक वर्ष २०७३/७४ को सात महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क वार्षिक बिन्दुगत आधारमा ११.७ प्रतिशत र आयात मूल्य सूचकाङ्कमा ६.७ प्रतिशतले वृद्धि भएकोले व्यापारको सर्तमा ४.७ प्रतिशतले सुधार भएको छ । कार्पेट, पश्मिना, अलैचीको, निर्यात मूल्यमा वृद्धि भएको कारण निर्यात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो भने पेट्रोलियम पदार्थ, सवारी साधन, मूल्यमा वृद्धि भएका कारण आयात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो ।

समीक्षा अवधिमा कुल सेवा आय १५.२ प्रतिशत र कुल सेवा खर्च १३.३ प्रतिशतले बढेको कारण खुद सेवा आय बचत रु. ४ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु. २ अर्ब ८१ करोड रहेको थियो । सेवा खाता अन्तर्गत पर्यटन आय समीक्षा अवधिमा ३०.१ प्रतिशतले वृद्धि भई रु. २९ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २१.२ प्रतिशतले घटेको थियो ।

विप्रेषण आप्रवाह

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ५.२ प्रतिशतले वृद्धि भई रु. ३९४ अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.९ प्रतिशतले वृद्धि भएको थियो । खुद ट्रान्सफर आय ८.३ प्रतिशतले वृद्धि भई रु. ४७५ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १९.९ प्रतिशतले बढेको थियो ।

चालू खाता एवम् शोधनान्तर

अघिल्लो वर्षको सात महिनासम्ममा रु. १५४ अर्ब ७८ करोडको उच्च बचतमा रहेको चालू खाता समीक्षा अवधिमा वस्तु आयात उच्च दरले बढेको कारण रु. १० अर्ब ६६ करोडले घाटामा गएको छ । त्यसैगरी, अघिल्लो वर्षको सात महिनासम्ममा रु. १५४ अर्ब ४० करोडले बचतमा रहेको समग्र शोधनान्तर स्थिति समीक्षा अवधिमा रु. ३६ अर्ब ९८ करोडले बचतमा रहेको छ ।

अमेरिकी डलरका आधारमा आर्थिक वर्ष २०७३/७४ को सात महिनासम्ममा कुल वस्तु निर्यात १९.६ प्रतिशत र कुल वस्तु आयात ५८.५ प्रतिशतले बढेको छ ।

विदेशी विनिमय सञ्चिति

कुल विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको रु. १०३९ अर्ब २१ करोडबाट ३.७ प्रतिशतले वृद्धि भई २०७३ माघ मसान्तमा रु. १०७७ अर्ब ४७ करोड रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७३ असार मसान्तको रु. ८८७ अर्ब १ करोडको तुलनामा २०७३ माघ मसान्तमा ३ प्रतिशतले वृद्धि भई रु. ९१३ अर्ब ४६ करोड रहेको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको रु. १५२ अर्ब २० करोडको तुलनामा ७.८ प्रतिशतले वृद्धि भई रु. १६४ अर्ब पुगेको छ । कुल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २२.४ प्रतिशत रहेको छ ।

Share News