
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले प्रतिपक्षीहरूले अध्यादेशमाथि गरेको विरोध आफूले बुझ्न नसकेको बताएका छन् ।
बिहीवारको राष्ट्रियसभा बैठकमा निजीकरण ऐन संशोधन गर्न बनेको अध्यादेश, २०८१ माथि प्रतिपक्षीहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
उनले निजीकरण ऐन परिवर्तन गरेर सार्वजनिक प्रतिष्ठानमा रहेको सरकारी व्यवस्थापन ऐन बनाइदा दलाल पूँजीवाद नहुने भन्दै प्रतिपक्षीमाथि कडा प्रतिवाद गरे । उनले तथ्य र तर्कमा रहेर विरोध गर्न प्रतिपक्षीहरूलाई आग्रह गरे ।
अर्थमन्त्री पौडेलले प्रतिपक्षीहरूले रचनात्मक ढंगले छलफल गर्नुको सट्टा विरोधका लागि विरोध गरेको आरोप लगाए ।
उनले भने, ‘विधेयकको विरोध गर्नुपर्नाको कारण मैले बुझ्न सकिनँ । निजीकरण ऐन २०५० थियो, त्यसलाई संशोधन गरेर सार्वजनिक प्रतिष्ठानमा रहेको सरकारी व्यवस्थापन ऐन भनियो । यसोभन्दा कसरी त्यो दलाल पूँजीवाद भयो ? कसरी विदेशी पूँजी भयो ? कसरी यो समाजवादी विरोधी भयो ?’
अर्थमन्त्री पौडेलले सरकारले सार्वजनिक, निजी र सहकारी गरी तीनखम्बे आर्थिक नीतिलाई समन्वयात्मक रुपले अगाडि बढाउने बताए ।
उनले समाजवाद देशको गन्तव्य भएकाले सरकारले मन, वचन र कर्मले प्रतिवद्ध भएर लाग्ने बताए ।
प्रतिपक्षीहरुले सरकारनै भाडामा दिनुपर्ने अभिव्यक्ति दिएपछि अर्थमन्त्री पौडेलले राष्ट्रकै प्रतिष्ठामा आँच पुग्ने शब्द प्रयोग नगर्न आग्रह गरे ।