
काठमाडौं । झापाका आयुष तामाङलाई मंगलबार दिनभर फुर्सद थिएन । उनी आफू अध्ययनरत कलेजमा आएका विभिन्न कम्पनीसँग अन्तरवार्ता दिन व्यस्त थिए । बीबीए अन्तिम वर्षमा अध्ययनरत आयुषलाई पढाइसँगै काम गर्ने इच्छा छ । अब उनको ब्याचलर्सको पढाइ सकिन केही महिनामात्र बाँकी छ । बाँकी समय उनलाई कुनै कम्पनीमा काम गर्ने मन छ ।
आयुष भन्छन्, ‘अवसर मात्र पाइयो भने पनि काम सिक्ने अवसर हुन्छ, यसले पनि आज विभिन्न कम्पनीमा कामका लागि अन्तरवार्ता दिइरहेको छु । दुई-तीन ठाउँमा अन्तरवार्ता दिइसकें, रेसपोन्स पनि राम्रो आएको छ, हेरौं अब के हुन्छ ।’
उनी पढाइसँगै पहिलो पटक जागिर गर्न मार्केटको खोजीमा लागेकाले आफूलाई सुहाउँदा जस्तो काम गर्न पनि तयार छन् ।
सोही कलेजमा बीबीए आठौं सेमेस्टरमा अध्ययनरत सलोनी अग्रवाल पनि चार कम्पनीमा अन्तरवार्ता दिएर फेरि अरू कम्पनीका बारेमा बुझ्ने तयारीमा थिइन् । आफू पढ्दै गरेको कलेजमा नाम चलेका कम्पनीहरू पुग्दा उनी निकै उत्साहित छिन् । भन्छिन्, ‘ब्याचलर्स पनि सकिन लाग्यो, कामको अनुभव पनि छैन । इन्टर्न मात्र पाउन सक्यो भने पछि सजिलो हुन्छ, यसका लागि विभिन्न कम्पनीका व्यक्तिसँग भेट्ने, कुरा गर्ने गरिरहेकी छु ।’
पाँचथरका योगेश रिजाल पढाइकै लागि काठमाडौं आएका हुन् । उनी पनि क्याम्पियन कलेजमा अध्ययन गरिरहेका छन् । बीबीए आठौं सेमेस्टर अध्ययनरत उनी पढेर काम गर्नुभन्दा पढ्दै काम गर्न पाए हुन्थ्यो भन्ने विचारमा छन् । यसका लागि उनी पनि आज विभिन्न कम्पनीका प्रतिनिधिसँग कामको खोजीमा थिए ।
पढेपछि जागिर खानै पर्छ, जागिर खोज्न बजार चहार्नुभन्दा कलेजमै कम्पनी आउँदा निकै सहज भएको योगेश बताउँछन् । ‘मैले अन्तरवार्ता दिएको कम्पनीबाट सकारात्मक प्रतिक्रिया आएको छ,’ उनी भन्छन्, ‘यदि कम्पनीलाई मेरो आवश्यक छ भने पक्कै मलाई फोन आउनेछ ।’
सौरभ कार्कीले सबैभन्दा पहिले स्ट्रिक्स इंक कम्पनीमा गएर अन्तर्वार्ता दिए । उनलाई यो कम्पनीले अकाउन्टिङ, बिलिङ सफ्टवेयर सम्बन्धी काम गर्छ भन्ने थाहा भयो । सौरभलाई कम्पनीले गर्ने कामले अझ आकर्षण गर्यो । उनी भन्छन्, ‘अहिले जति पनि व्यवसायहरू छन् उनीहरूले अनलाइन बिलिङ गर्छन्, यो क्षेत्रमा काम गर्ने रुचि मेरो छ । अन्तरवार्ता दिँदा पनि राम्रो रेसपोन्स पाएको छु, हेरौं अवसर पायो भने काम गरिन्छ ।’
आवश्यक कार्यक्रम
विद्यार्थीहरू कलेजमा यस्ता कार्यक्रम गर्न आवश्यक रहेको बताउँछन् । किताबी ज्ञानमा मात्र सीमित नराखी पढाइसँगै कामको अवसर सिर्जना गरिनु कलेजको दायित्व रहेको उनीहरूको भनाइ छ । कलेजमा विभिन्न कम्पनीसँग अन्तरवार्ता दिरहेका विद्यार्थी यो कार्यक्रमले आफूहरूलाई सहज भएको बताइरहेका थिए ।
उनीहरू भन्छन्, ‘कम्पनीलाई पनि कामदार चाहिएको हुन्छ, हामीलाई काम । यस्तो अवस्थामा कलेजले दुई क्षेत्रलाई मिलाइदिने प्रयासमात्र गर्दा पनि ठूलो सहयोग हुन्छ ।’
‘हामी ब्याचलर्स सकेर अब बाहिर जाँदै छौँ, कामको कुनै अनुभव छैन,’ उनीहरू भन्छन्, ‘जुन सुविधा अवसर हामीलाई यस कलेजले दिएको छ, यस्तो सबै कलेजले आफ्नो विद्यार्थीलाई दिनुपर्छ ।’
म्यानेजमेन्ट हरेक क्षेत्रमा आवश्यक पर्छ । जुनसकै व्यवसायमा पनि राम्रो व्यस्थापन भएन भने राम्रोसँग चल्न सक्दैन । विद्यार्थीहरू यो कार्यक्रम कलेजले विद्यार्थीलाई दिएको ठूलो अवसर रहेको बताउँछन् ।
कलेजले दिलाएको अवसर
मनिसा भण्डारी गएको वर्षमात्र क्याम्पियन कलेजबाट ग्राजुएट छात्रा हुन् । उनी अहिले काठमाडौंमा रहेको पिभोटेक कम्पनीमा बिजनेस डेवलपमेन्ट एग्जुकेटीभको रूपमा काम गरिरहेकी छिन् । मंगलबार उनी त्यही कम्पनीको प्रतिनिधित्व गर्दै क्याम्पियन कलेजमा पुगेकी थिइन्, जहाँ उनी आफ्नो कम्पनीको लागि आवश्क कामदार छनोटको रूपमा विद्यार्थीसँग अन्तरवार्ता गर्न व्यस्त थिइन् ।
विकासन्युजसँग कुरा गर्दै उनी भन्छिन्, ‘यदि यो कलेजले यस्तो अवसर दिएको भए म आज यही कलेजमा आएर यहाँका विद्यार्थीसँग अन्तरवार्ता लिइरहेको हुँदैनथे, यो कलेजले विद्यार्थीलाई दिएको यो राम्रो अवसर हो । यही अवसरको सदुपयोग मैले पनि गरेकी हुँ ।’
मनिसा कलेजले गर्ने यस्तो कार्यक्रमले धेरै विद्यार्थीमा अनुभव र आत्मविश्वास बढाउने सुनाउँछिन् । उनी भन्छिन्, ‘कुन कम्पनीले विज्ञापन गरेको छ भन्दै इन्टरनेट सर्च गर्दै बजारमा डुल्नुपथ्र्यो, मैले प्लेटफर्म कलेजमै भेटें, यस्तै अवसर अन्य विद्यार्थीले पनि पाउनुपर्छ ।’
एउटै ठाउँमा १३ कम्पनी
कुपण्डोलमा रहेको क्याम्पियन कलेजले आयोजना गरेको ‘जब प्लेसमेन्ट’ जब फेयर कार्यक्रममा विभिन्न १३ वटा कम्पनीको सहभागिता थियो । जसमा सिजी क्रप ग्लोबल, नबिल बैंक, ईसेवा, सिपर्दी, मेरो किराना डटकम, रोलिङ नेक्सस, रोजगार स्निपर, इको इन्फिनिटी, स्क्लिस्पार्क, नेपमिड्स, पिभोटेक, स्ट्रिक्स इंक, र सेल्सजव कम्पनी थिए । उनीहरूले आफूलाई आवश्यक कामदार खोजिरहेका थिए ।
कलेजमा सहभागी विद्यार्थीसँग अन्तरवार्ता गर्दै कम्पनीले उनीहरूका रुचि र क्षमताका आधारमा आवश्यक विद्यार्थी छनोट गर्नेछन् । धेरैजसो कम्पनीहरू आफूलाई सुहाउँदो कामदार पाउन नसकेको बताउँदै आएकाले कलेजमै गएर रोजगारदातासँग अन्तरवार्ता गर्दा भने अनुसार कामदार पाउने अपेक्षा गरेका छन् । उनीहरूले यस्तो अवसर दिएको क्याम्पियन कलेजलाई बधाईसमेत दिएका छन् ।
उत्कृष्ट विद्यार्थी
मेरो किराना डटकम एउटा अनलाई प्लटेफर्म हो । यसले किरानाका सामग्रीहरू होम डेलिभरी गर्दै आइरहेको छ । किराना डटकमका प्रशासन प्रमुख प्रवीन कार्की आफूलाई आवश्यक र विद्यार्थीको आवश्यकतालाई मध्यनजर गर्दै कलेजमा पुगेको बताए । उनले कलेजमा आफूले सोचेको भन्दा राम्रा क्षमतावान विद्यार्थी रहेको बताए ।
‘यो कार्यक्रमबाट हामीले पनि केही सिक्ने मौका पायौं, विद्यार्थीले पनि केही जान्ने अवसर पाउनु भयो,’ उनी भन्छन्, ‘विद्यार्थीलाई जागरि खोज्न कहाँ जाने भन्ने समस्या र कम्पनीलाई रोजगारदाता कहाँ खोज्ने भन्ने समस्यालाई यस्ता कार्यक्रमले समाधान गर्छ ।’
ट्रेनी इन्स्च्यिुट हो । यसले फरक–फरक सीपमा आधारित तालिम दिन्छ । यहाँ ग्राफिक डिजाइन, डिजिटल मार्केटिङ, इथिकल ह्याकिङलगायतका सर्टटम कोर्स दिने गर्छ । यो कोर्स सकिएपछि विद्यार्थीलाई इन्टर्नसिप वा जब प्लेसमेन्ट दिने गर्छ ।
स्किलस्पार्क कम्पनीकी सिर्जना झाले कम्पनीमा इन्टर्नहरूको आवश्यकता भएकाले राम्रो कामदार खोज्न कलेजमा पुगेको बताइन् । उनले करिब १० जना विद्यार्थीसँग कुराकानी गर्दा उनीहरूको रुचि फाइनान्स, मार्केटिङ, सेल्स मार्केटिङ रहेको पाइन् । आफ्नो कम्पनीलाई आवश्यक ४-५ जना विद्यार्थी उनले भेटाइन् ।
नेपालमै अवसर छ भन्ने सन्देश दिनु उद्देश्य
जब प्लेसमेन्ट कार्यक्रम क्याम्पियन कलेजको महत्वपूर्ण कार्यक्रम हो । हरेक वर्षको एक पटक यो कार्यक्रम कलेजले गर्दै आएको कलेका प्रधानाध्यापक अनामिका श्रीवास्तवले बताइन् । उनले विद्यार्थीलाई पढाइसँगै उद्योगसँग जोड्ने सेतुको रूपमा काम गरिरहेको दाबी गरिन् । यो कलेजमा अध्ययनरत विद्यार्थीले यस्तै अवसर पाएर राम्रो कम्पनीमा राम्रो पदमा पुगेर काम गरिरहेको बताइन् ।

अनामिका श्रीवास्तव ।
गत वर्ष भएको कार्यक्रमबाट मात्र ३२ जना विद्यार्थीले जागिर पाएको अनामिकाको दाबी छ । जब प्लेसमेन्ट कार्यक्रम तीन दिनसम्म चल्छ । जसमा पहिलो दिन विद्यार्थीलाई बायोडाटा सीभी लेखन, अन्तरवार्ता दिने तरिका, इमेल लेख्ने तरिका सिकाइन्छ भने अन्तिम दिन विभिन्न उद्योग कम्पनीलाई बोलाएर जागिर खोज्ने अवसर सिर्जना गरिन्छ ।
‘हाम्रो उद्देश्य भनेको रोजगारीको अवसर हाम्रो देशमै छ भन्ने सन्देश दिनु हो,’ उनी भन्छिन्, ‘अहिले विद्यार्थी नेपाल बस्न मानिरहेका छैनन्, । उनीहरूले सिस्टममाथि विश्वास गर्न छाडेका छन् । यस्तो अवस्थमा नेपाली कलेजमा पढ्दा पनि अवसर छ भनेर देखाउनु हाम्रो कलेजको उद्देश्य पनि हो ।’
उनले हरेक वर्ष कलेजले गर्ने यस्ता कार्यक्रमले शिक्षा र बजारलाई जोडिरहेको बताइन् । ‘यस्ता कार्यक्रमले शिक्षा र बजारलाई जोडिरहेको छ । यसले हाम्रा विद्यार्थीलाई जागिर खोज्न भौँतारिन परेको छैन । नेपालमा जागिर पाइँदैन भन्ने भाष्य पनि हामीले चिरिरहेका छौं,’ अनामिकाले भनिन् ।