काठमाडौं । थापाथलीस्थित ‘द ब्रिटिस कलेज’का विद्यार्थीहरुले कलेज परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । उनीहरुले काठमाडौँमा रगत अभाव बढेको समाचार सार्वजनिक भएपछि उक्त कार्यक्रमको आयोजना गरेका हुन् ।

‘द ब्रिटिस कलेज’मा सामाजिक उत्तरदायित्वको रुपमा स्थापना गरिएको विद्यार्थीहरुको ‘सामाजिक उत्तरदायित्व क्लब’ले गरेको सो कार्यक्रममा ६० जना व्यक्तिले रक्तदान गरेका थिए ।
नोबल हस्पिटलसँगको सहकार्यमा द ब्रिटिस कलेज ‘सामाजिक उत्तरदायित्व क्लब’ले रक्तदान कार्यक्रम
आयोजना गरेको हो । कार्यक्रममा ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थीहरु र अन्य रक्तदाताहरुले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रममा कलेजका निर्देशक महेन्द्र कँडेलले विद्यार्थीहरुले विशुद्ध शैक्षिक ज्ञानमात्र नलिई सामाजिक उत्तरदायित्व समेत बोक्नुपर्ने बताए । “विद्यार्थीहरुले पढाइका साथसाथै सामाजिक र परोपकारी कामहरुमा पनि आफूलाई क्रियाशील गराउँदैं लैजानुपर्छ,” उनले भने,“त्यसका लागि कलेजले पनि सहयोगी भूमिका खेलिरहेको छ ।”
द ब्रिटिस कलेज थापाथली बेलायती विश्वविद्यालय लिड्स बेकेट युनिभर्सिटी र युनिभर्सिटी अफ वेस्ट अफ इङ्ग्ल्याण्डको सम्बन्धनमा बीएस्सी कम्प्युटिङ, बीबीए, एमएस्सी इन्टरनेशनल म्यानेजमेन्ट, एमबीए एक्जुकेटिभ लगायतका कोर्स सञ्चालन गरिरहेको छ । आगामी वर्षदेखि एमएस्सी इन्फरमेसन म्यानेज्मेन्ट र एमबिए पनि सञ्चालन गर्ने लक्ष्य लिइएको छ । हाल ब्रिटिस कलेजमा १२ सयभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।