काठमाडौं । स्किल सेवाद्वारा आयोजित नेपालको पहिलो राष्ट्रिय घर निर्माण फेस्ट २०८१ महोत्सवको प्रर्वद्धनकोको लागि र्याली आयोजना हुने भएको छ । आज बबरमहल, माइतिघर, भद्रकाली हुँदै पुनः बबरमहल सम्म हुने र्यालीमा स्किल सेवासँग आबद्ध कर्मचारी, सरोकारवालाहरू र काठमाडौं उपत्यका बाहेकका शाखाबाट समेत सहभागी हुनेछन् ।
घर निर्माण फेस्ट २०८१ को प्रमुख उद्देश्य भनेको नयाँ घर निर्माणका लागि सबै आवश्यक सेवाहरू एउटै स्थानमा उपलब्ध गराउनु हो । यस कार्यक्रममा निर्माणका अत्याधुनिक प्रविधिहरू र मापदण्डहरूको बारेमा छलफल हुनेछ, साथै सबैभन्दा सस्तो मूल्यमा आरसीसी घरहरूको बारेमा जानकारी प्रदान गरिनेछ ।
कार्यक्रमका आयोजक स्किल सेवाका संचालकले यस महोत्सवलाई आफ्नो घरलाई अधिक सुरक्षित, भरपर्दी र दिगो बनाउन चाहने व्यक्तिहरूको आवश्यकता पूरा गर्नको लागि आयोजना गरेको बताएका छन् । यस महोत्सवमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, काठमाडौं उपत्यकाका नगरपालिकाका प्रतिनिधिहरू, वास्तुकलाविद, उद्यमी र विद्यार्थीहरू समेत सहभागिता जनाउनेछन् ।
घर निर्माण सम्बन्धी विभिन्न पहलुहरूमा अन्तरक्रिया र छलफल हुने यस महोत्सवमा आधुनिक र पारम्परिक डिजाइन, खाली ठाउँको उचित प्रयोग, बिजुली र हावापानीको समुचित व्यवस्थापन जस्ता महत्वपूर्ण विचारहरू प्रस्तुत गरिनेछ ।