
काठमाडौं र नेपाल लिटरेचर फेस्टिभलको १२ औंं संस्करण फागुन १५ देखि १८ गतेसम्म पोखरामा हुने भएको छ ।
बुकवर्म फाउन्डेसनको आयोजनामा हुन लागेको फेस्टिभलको यो संस्करणको मुख्य प्रस्तुतकर्ता एनसेल फाउन्डेसन हो।
यसैगरी, आयोजकमा बुकवर्म फाउन्डेसन रहेको छ ।
अघिल्ला संस्करणहरूमा जस्तै यसपटक पनि फेस्टिभल बाराहीघाट, लेकसाइडमा हुनेछ, जहाँ देश–विदेशका साहित्यानुरागीको जमघट हुनेछ । सूचना सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेस्टिभलको उद्घाटन गर्नेछन् ।
फेस्टिभललाई बुध्द एयरले सम्वर्द्धन गरेको छ । पोखरा महानगरपालिका प्रवद्र्धक रहेको फेस्टिभलमा गण्डकी प्रदेश सरकार सहप्रवद्र्धक छ । त्यस्तै उप-प्रवर्द्धकका रूपमा नेपाल पर्यटन बोर्ड, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकले आयोजकलाई साथ दिनेछन् ।
यस पटक फेस्टिभलमा देश-विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ । त्यस्तै, ५० भन्दा बढी छलफल सत्र, अन्तक्र्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम पनि समावेश छन् ।
यस पटक प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको विद्वत प्रचनसँगै फेस्टिभल सुरु हुनेछ । उनी इन्दिरा गान्धी ओपेन यूनिभर्सिटी (आईजीएाओयू) को प्रो-उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति समेत हुन् । उनी भारतको राष्ट्रिय केन्द्रीय विश्वविद्यालयको सबैभन्दा कान्छा उपकुलपति समेत बनेका थिए ।
विद्वत् प्रवचनलगत्तै अध्यात्म र सङ्घर्षमाथि मनीषा कोइराला र विजय कुमारको विशेष संवाद आकर्षणको केन्द्र बन्ने बुकवर्म फाउन्डेसनको विश्वास छ । यसैगरी नेपाली सिनेमाका महानायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’को आवरण तथा पुस्ताकांश लोकार्पण पनि विविध विशेष सत्रमध्ये एक हो । हमालको पुस्तक प्रकाशोन्मुख छ ।
उद्यमी एव लेखक जीवा लामिछानेको बहुप्रतीक्षित पुस्तक ‘अक्षत अन्टार्कटिका’को लोकार्पण पनि फेस्टिभलको आकर्षण रहनेछ ।
नेपाली क्रिकेटका ढुकढुकी पारस खड्का हुन् या साहित्यानुरागीबीच चर्चित भूषिता वशिष्ठ, समाजसेवालाई आफ्नो कर्म बनाएका डा. भगवान कोइरालादेखि म्यागी डोएनसम्मका व्यक्तित्वहरूका प्रेरणादायी संवाद फेस्टिभलमा रहनेछन् । म्यागी अमेरिकन समाजसेवी हुन् । सुर्खेतस्थित एक बालगृहको सहसंस्थापक उनी सन् २०१५ को सीएनएन हिरो घोषित भएकी थिइन् ।
नेपाली अमेरिकी लेखक रञ्जन अडिगाको सहभागिता फेस्टिभलका दुई सत्रमा रहनेछ। उनको छोटो कथा संग्रह, ‘लिच एण्ड अदर स्टोरीज’माथि उनी र भूषिता वशिष्ठबीच संवाद हुनेछ । उनका कथा र लेखहरू स्टोरी क्वार्टरली, द न्यू योर्क टाइम्स, हफी पोस्ट, द साल्ट लेक ट्रिब्यून, लगायतमा प्रकाशित छन् । उनी वेस्टमिन्स्टर विश्वविद्यालय, साल्ट लेक सिटी र युटामा रचनात्मक लेखनविधि पढाउँछन्।
फेस्टिभलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीति, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुनेछ, जहाँ दैनिक हजारौँ साहित्यानुरागीको सहभागिता रहने एनसेलले अपेक्षा गरेको छ ।
सिर्जनाको अर्को विधा चित्रकला सधैं फेस्टिभलको आकर्षण बन्दै आएको छ । यस संस्करणमा परम्परागत पौभा चित्रका विश्व प्रसिद्ध कलाकार लोक चित्रकारका चित्र प्रदर्शनीमा राखिनेछन् ।
फेस्टिभलमा वरिष्ठ वामपन्थी नेता एवम् नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित उपन्यास ‘कामरेड जलजला’माथि विमर्श हुने जनाइएकाे छ । उमेरले ८९ टेकेका सिंहको यो उपन्यास नेपालमा प्रकाशित सबैभन्दा ठूलो पुस्तक भएको बताइन्छ ।
सन् २०११ देखि नेपाल लिटरेचर फेस्टिभल आयोजना हुन थालेपछि नेपालमा वार्षिक रूपमा दर्जनौं साहित्यिक महोत्सव हुन थालेको शुक्रबार पोखरामा आयोजना गरिएको प्रेस सम्मेलनमा फेस्टिभलका निर्देशक अजित बरालले बताए ।
‘यस्ता महोत्सवले अहिले व्यापकता पाएका छन् । स्कुलदेखि कलेज र वडादेखि गाउँपालिकामा समेत यस्ता साहित्यिक महोत्सव हुन थालेका छन्,’ उनले भने, ‘यही फागुनमा मात्र नेपालमा सात ओटा साहित्यिक महोत्सव हुँदै छन् । सुर्खेत, काठमाडौं, पोखरा, धादिङ, काँकरभिट्टा, विराटनगर र टीकापुरमा साहित्य र विचारका महोत्सव गरिँदै छ ।’
यस्ता फेस्टिभलले हाम्रो ‘पब्लिक डिस्कोर्स’लाई बलियो बनाएको बरालको भनाइ छ । ‘पब्लिक स्पेस’ फराकिलो तथा जीवन्त बन्दै गएको छ । यसको श्रेय नेपाल लिटरेचर फेस्टिभललाई जान्छ,’ उनले भने ।
एनसेलकी इन्टेरिम मार्केटिङ, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइसेक्टर विशाखा लक्ष्मी खड्काले सञ्चार र प्रविधिबाहेक कला र साहित्यका माध्यमबाट सबैलाई जोड्न कम्पनीको व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत एनसेल फाउन्डेसनमार्फत यस उत्सवसँग आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरिन् ।
‘कला, साहित्य र संस्कृति हाम्रा पहिचान हुन् । यिनको जगेर्ना गर्नु सबैको जिम्मेवारी हो । नेपाल लिटरेचर फेस्टिभलका सुरुका वर्षहरुमा हाम्रो सहयात्रा एकदमै राम्रो रह्यो । एक दशकपछि पुनः सहकार्य गर्न पाएकोमा हामी अत्यन्तै हर्षित छौं ।’
पोखराका पत्रकार एवम् कार्यक्रम सञ्चालक केशवशरण लामिछानेले साहित्य र नेपाल लिटरेचर फेस्टिभलको महत्त्वबारे चर्चा गरे । साहित्यले समाजमा पु¥याएका योगदानहरूका उदाहरण दिँदै उनले भने, ‘साहित्यले सामाजिक न्यायको क्षेत्रमा, मूल्य र मान्यता भत्काउने र निर्माण गर्ने काममा सघन भूमिका खेलेको हुन्छ । सँगै यसले अल्पसङ्ख्यक, पिछडिएका वर्गलगायतको भाषा, बोली, पिँधको आवाज र रोदनलाई मूलधारको मुद्दा बनाउने काम पनि गर्छ । नेपाली समाज पनि अझ बढी सहिष्णु, सहानुभूतिपूर्ण, स्वतन्त्रतावादी र सभ्य बनोस् भन्ने हाम्रो चाहना छ । त्यही कार्यलाई टेवा पुर्याउन नै नेपाल लिटरेचर फेस्टिभल आयोजना गरिएको हो।’