काठमाडौं । फेब्रुअरी १६ तारिखको कुरा हो । कलेजमा एउटा कार्यक्रम चलिरहेको थियो । दिउँसो तीन/साढे तीन बजे आसपासमा नेपाली विद्यार्थीले आत्महत्या गरेको भन्ने हैल्ला विश्वविद्यालयभर फैलियो । त्यसपछि सबै नेपाली विद्यार्थी जम्मा भयौं । बुझ्दै जाँदा प्रकृति लम्सालले आत्महत्या गरेको भन्ने कुरा सुनियो । एक महिना अगाडि प्रकृतिले प्रशासनमा उजुरी दिएको कुरा थाहा भयो । हालसम्म पनि प्रशासनले कुनै एक्सन किन नलिएको भन्ने विषयमा हामीले प्रशासनसँग प्रश्न राख्यौं । तर, विश्वविद्यालयले यो विषयमा कुनै चासो दिएन । हामी आईआरओ अफिस गयौं । यता मृतकसँगै होस्टेलमा बस्ने छात्रालाई कोठामा थुनेर राखिएको थियो । हामी पहिले त्यहाँ गयौं । त्यहाँ जाँदा रातको १२ बजिसकेका थियो ।
हामी होस्टेल अगाडि बसेर न्याय मागिरहेको बेला विश्वविद्यालयका उपकुलपति, डिन, प्राध्यापक सबै आए । हामीले आफ्नो माग सुनायौं । त्यसपछि आत्महत्या गरिएको भनिएकी छात्राको ल्यापटप र मोबाइल नभेटिएकाे कुरा आयो । छात्रा साथीहरूले मोबाइल र ल्यापटप वार्डेनसँग रहेको बताए । उनीहरूलाई सोध्दा प्रहरीसँग छ भनियो, प्रहरीसँग सोध्दा हामीसँग छैन भनियो ।
त्यसपछि हामीले उपकुलपतिलाई फोन र ल्यापटपको कुरा देखाएर यो केश प्रहरीलाई बुझाइ दिएपछि हामी जान्छौं भन्यौं । उनले पनि सहमति जनाएका थिए । त्यही बेला एक जना महिला आएर प्रहरीसँगै त्यो कोठामा गएर फोन र ल्यापटप छ या छैन भनेर हेर्न गइन । यतिबेलासम्म राति २ बजिसकेको थियो । ती महिला आइनन् । उहाँलाई आउन नदिएपछि यहाँ केही न केही भएको छ भन्ने हामीलाई झन् शङ्का लाग्यो । हामी त्यही बसेर आफ्नो मागमा अडिग भयौं ।
त्योबेलासम्म बिहानको ५ बजिसकेको थियो । फाउण्डर सर आएर हामीलाई आन्दोलन नगर, यस्ता घटनाहरू भइरहन्छन्, दुई दिनमा सेलाएर जान्छन्, यो घटना हामी आफ्नो तरिकाले मिलाइहाल्छौं भन्ने तरिकाले कुरा गर्नुभयो । उहाँको बोली सुन्दा झन् शङ्का भयाे । हामी त्यहाँबाट फिर्ता भएनौं । हामीले माग यथावत राख्यौं । फाउण्डरको कुरा नमान्दा खोइ के भएको रातिसम्म शालीन भएर कुरा गरिरहेका शिक्षकहरू अचानक आक्रोशित भए । उनीहरू नै प्रहरीलाई बोलाएर लाठीचार्ज गर्न लगाए । हामीले शान्तिपूर्ण रूपमा माग गरिरहँदा कसरी प्रहरी आएर लाठीचार्ज गर्याे भन्ने कुरा अचम्म लाग्यो । प्रहरीमात्र होइन, हामीलाई त्यहाँको सेक्युरिटी गार्डले समेत कुट्न थाले ।
रातभर नसुतेर बसेका हामी भोकभोकै थियौं । कोही साथी दुई घण्टा आराम गरेर आउनुपर्याे भन्दै होस्टेल गएका थिए । हामी केही व्यक्तिमात्रै थियौं । त्यहीबेला हामीमाथि एक्कासि आक्रमण भयो । त्यसपछि हामी भागेर होस्टेलमा जान बाध्य भयौं । हामीमाथि यता आक्रमण भइराख्दा उता केटी साथीहरू बसेको होस्टेलमा गएर उनीहरूलाई पनि टर्चर गर्न सुरु भएको थियो ।
‘तिमीहरू आफ्नो देश फर्क’ भनेर उनीहरूलाई जबरजस्ती कोठाबाट तानिँदै थियो । जुन दुई जना शिक्षिकाले छात्राहरूलाई गाली गर्दै देशको बजेटसँग विश्वविद्यालयको आर्थिक कुरा जाडेको भिडियो आएको थियो, त्याे बिहान ५/६ बजेतिरको भिडियो हो । कुनैपनि देशमा कुनैपनि विद्यार्थीमाथि यस्तो जबरजस्ती गर्न मिल्दैन । तर, त्यहाँ हाम्रा केटी साथीहरूलाई तथानाम गाली गरेर होस्टेलबाट जबरजस्ती निकालियो ।
यता हाम्रो केटाको होस्टेलमा हामी रातभर सुतेका थिएनौं, थकित थियौं । होस्टेल छोड्न सूचना आउँदा हामीलाई डराउन गरिएको होला, निकाला गरिहाल्ने नहोला भन्ने लागेको थियो । एकास्सि ओडिसा प्रहरीसँगै ठूल्ठूलो ज्यान भएका गुण्डाजस्तै देखिने व्यक्ति होस्टेलमा आए । सँगै गाडी पनि ल्याएका थिए ।
हामीलाई कोठा ढकढक्याउँदै नेपाली हो भन्दै कोठाभित्रबाट तान्न थालियो । जसलाई देख्यो उनीहरू छोप्दै गाडीमा राख्दै गर्न थालियो । माहोल यस्तो बनिसकेको थियो कि नेपाली हो भन्नेबित्तिकै पिट्दै छोप्दै गाडीमा राख्ने गरियो । गाली गर्दै त आफ्नो देश जाओ भन्दै कोठाबाट जबरजस्ती निकाल्यो । भिडियो बनाइरहेका साथीहरूको मोबाइल नै फुटाइदियो ।
हामीलाई यसरी कुटे कि अब त्यो भोगाइ र दृश्यको बयान नै गर्न सक्दैनौं । गाडीमा राखिएकाहरूलाई पनि सबैलाई एकै ठाउँ छोडेनन् । कसैलाई कुनै ठाउँ कसैलाई कुनै फरक फरक ठाउँमा लिएर छोडिदियो । सेक्युरिटी गार्ड, जिम ट्रेनर अनि प्रहरी कुट्न त्यत्तिकै आउँदैनन् । प्रशासनले नै हामीमाथि गुण्डा लगाएको हो ।
हामीलाई यसरी कुट्दै बीच सडकमा ल्याउने शिक्षक, डिन लगायतका कर्मचारीमाथि अहिले पनि कारवाही भएको छैन । कलेजका ४०/५० जनाले हामीमाथि हातपात गरेका छन् । तर, कारवाही गरियो भनेर तीन/चार जनाको नाम मात्र आएको छ । हामी नेपाल आएको सबै विद्यार्थी नेपालमै छौं । तर, हाम्रो सरकारले भनिरहेको छ, घटना मिलिसक्यो । विश्वविद्यालयले माफी मागिसक्यो भन्ने कुरा अहिले बाहिर आइरहेको छ ।
हाम्रो प्रश्न सरकारलाई हामी कुटाइ खाएर खेदिएका विद्यार्थी नेपालमै बसेका छौं । तपाईंहरूले घटना कसरी मिलाउनुभयो ? हामीले आफ्नो कुरा सुनाउन पाएको आज हो । हामीलाई कसैले तपाईंहरूलाई के गरियो ? कस्तो पीडा सहनुभयो ? भनेर समेत सोधिएको छैन अनि कसरी कुरा मिल्यो ? हामीलाई त बीच सडकमा आउँदा यस्तो समस्या भयो ।
हाम्रा केटी साथीहरूलाई कस्तो समस्या भयो होला ! हातमा एक पैसा नहुँदा थाहा नभएको ठाउँमा ल्याएर छोड्दाको पीडा हामीलाई थाहा छ । जोसँग पैसा थियो टिकट पाउन सक्यौं, हामी फर्केर आयौं, अरू साथीहरू अहिले पनि त्रासमा त्यहीं बसिरहनुभएको छ । कतिपय साथीहरूको हातमा फोन छैन, पैसा छैन, उहाँहरू अहिले कस्तो अवस्थामा हुनुहुन्छ हामीलाई पनि थाहा छैन ।
हाम्रो शरीरमा कुटपिटको पीडामात्र होइन, मानसिक समस्या पनि उस्तै छ । लात हानेर निकालेका हामीलाई अहिले आउभन्दा सजिलै जान सकिने अवस्था छैन । हामीमाथि जोजसले हात उठायो, जसले हात उठाउन निर्देशन दियो, उहाँहरू सबैलाई कारवाही गर्नुपर्छ । जसले लातले हान्दै तिमीहरूको देश फर्क भन्दै पठायो अहिले फेरि उसैलै आइजा भनेर जान सकिने अवस्था छैन ।
जबसम्म ओडिसा सरकार, विश्वविद्यालय र नेपाल सरकारबीच कानुनी रूपमा सम्झौता हुँदैन, तबसम्म हामी त्यहाँ गएर अध्ययन गर्न सक्दैनौं । हामीले आज यसरी मास्क लगाएर, आफ्नो अनुहार छोपेर, आफ्नो पहिचान लुकाएर आफूमाथि भएको पीडा सुनाउनुको कारण पनि यही हो । हामीले फेरि भोलि त्यही विश्वविद्यालयमा गएर कुटाइ खानु नपरोस् ।
(भारतबाट फर्किएका नेपाली विद्यार्थीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दैै राखेको भनाइलाई जस्ताको त्यस्तै सम्प्रेषण गरिएको छ ।)