प्रेमपछिको ब्ल्याकमेलिङले निम्तिएको घटना, विद्यार्थी र अभिभावकले सिक्नैपर्ने पाठ

<p>काठमाडौं । आफ्नो सुनौलो भविष्यको खोजीमा नेपाली विद्यार्थी परदेश पुग्छन् । त्यहाँ शिक्षासँगै हरेक चुनौतीको हन्डर उनीहरूले खानुपर्छ ।परदेशमा पुगेका विद्यार्थीले कस्तो विभेद सहनुपर्छ भन्ने एउटा ठूलो दृश्य सोमबार भारतमा नेपाली विद्यार्थीमाथि भएको घटनाले देखाएको छ । छात्रावासमा बसिरहेका विद्यार्थीहरूलाई गलत्याएर बीच सडकमा पुऱ्याउँदा पनि त्यहाँको प्रशासनले कुनै एक्सन लिएन । बरु नेपाली विद्यार्थी छात्रावासमै [&hellip;]</p>

काठमाडौं । आफ्नो सुनौलो भविष्यको खोजीमा नेपाली विद्यार्थी परदेश पुग्छन् । त्यहाँ शिक्षासँगै हरेक चुनौतीको हन्डर उनीहरूले खानुपर्छ ।परदेशमा पुगेका विद्यार्थीले कस्तो विभेद सहनुपर्छ भन्ने एउटा ठूलो दृश्य सोमबार भारतमा नेपाली विद्यार्थीमाथि भएको घटनाले देखाएको छ । छात्रावासमा बसिरहेका विद्यार्थीहरूलाई गलत्याएर बीच सडकमा पुऱ्याउँदा पनि त्यहाँको प्रशासनले कुनै एक्सन लिएन । बरु नेपाली विद्यार्थी छात्रावासमै कुटिएको, गलत्याएर गाडीमा राखी रेलवे स्टेशनसम्म पुर्‍याएका तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भए ।

यो घटनाले पनि नेपाली विद्यार्थी परदेशमा कति सुरक्षित छन् भन्ने कुरा स्पष्ट देखाएको विज्ञहरू बताउँछन् । शिक्षा मन्त्रालयका पूर्वसचिव गोपीनाथ मैनाली भारतमा मात्र नभइ अन्य देशमा पनि नेपाली विद्यार्थी यस्तै हिंसा सहेर बस्नुपरेको अनुमान यो घटनाबाट लगाउन सकिने बताउँछन् । उनी भन्छन्, ‘यो घटनाले परदेशमा शिक्षा लिन पुगेका विद्यार्थीले कतिसम्मको विभेद र अत्याचार सहनुपर्छ भन्ने देखाएको छ ।’

घटनाको सर्वत्र विरोध भएपछि केआईआईटी विश्वविद्यालयले केही कर्मचारीलाई बर्खास्त गरेको बताएको छ । तर, विज्ञहरू यसको सत्यतथ्य छानबिन गर्नुपर्ने तर्क गर्छन् ।

यस्तो थियो घटना

घटना आइतबारको हो । भारतको उडिसा राज्यमा रहेको कलिङ्ग इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआइटी) मा बी टेक सीएससी तेस्रो सेमेस्टरमा अध्ययनरत २० वर्षीया प्रकृति लम्सालको शव छात्रावासमा झुण्डिएको अवस्थामा फेला पर्‍यो । उनी रुपन्देहीकी हुन् ।

क्याम्पस प्रशासनले आत्महत्या भन्दै घटना सामसुम पार्न थालेपछि नेपाली विद्यार्थीले प्रतिकार गरे । उनीहरूले यो घटना नभई हत्या भएको हुनसक्ने भन्दै घटनास्थल र त्यहाँको अवस्था हेर्न पाउनुपर्ने माग गरेका थिए । तर, प्रशासनले नेपाली विद्यार्थीलाई घटनास्थलमा प्रवेश गर्न दिएन ।

आक्रोशित विद्यार्थी प्रदर्शनमा उत्रिए । जसका कारण घटनाले यो मोड लियो । त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीका अनुसार मृतक प्रकृतिले कलेजमै अध्ययनरत भारतीय एक विद्यार्थीले आफूमाथि पटकपटक ह्यारेसमेन्ट गरेको उजुरी क्याम्पस प्रशासनलाई दिएकी थिइन् ।

तर, क्याम्पसले कुनै चासो नदेखाएको आक्रोश पनि नेपाली विद्यार्थीमा थियो । यही विषयलाई लिएर प्रदर्शनमा उत्रेका नेपाली विद्यार्थीलाई न्याय दिनुको साटो विद्यार्थीलाई नै कुटपिट गर्दै बीच सडकमा ल्याइयो । जसको प्रभाव दुई देशको सम्बन्धसम्म पुगेको छ । 

भारतीय सञ्चार माध्यममा उल्लेख भएअनुसार यो घटना हुनुको पछाडि प्रेम रहेको छ । प्रकृतिको घटनापछि सोही विशवविद्यालयका छात्र अदविक श्रीवास्तवलाई प्रहरीले पक्राउ गरी न्यायिक हिरासतमा पठाएको छ। श्रीवास्तवको साथबाट प्रहरीले मोबाइल पनि बरामद गरेको छ। सुरुमा प्रेम गरेर पछि ह्यारेसमेन्ट गर्न थालेपछि यो घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकृतिका आफन्तले दिएको उजुरीमा उनले ह्यारेसमेन्ट तथा ब्ल्याकमेलिङ गर्ने गरेको विषय भारतीय सञ्चार माध्यममा उल्लेख छ ।

श्रीवास्तवलाई आत्महत्या दुरूत्साहनको कसुरमा पक्राउ गरेको भुवनेश्वरस्थित प्रहरी कमिसनरको सचिवालयले जनाएको छ। श्रीवास्तवलाई हिरासतमा राखेर अनुसन्धान थालिसकेको प्रहरीको भनाइ छ। साथै प्रहरीले अनुसन्धानका लागि कागजात, मृतक प्रकृतिको पनि मोबाइल र ल्यापटप पनि बरामद गरेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

उनी लखनउको रहेको बुझिएको छ ।

अभिभावक चनाखो हुनुपर्छ

विज्ञहरू भने यो घटनाबाट नेपालले ठूलो पाठ सिक्नुपर्ने बताउँछन् । शिक्षाविद् डा. विष्णु कार्की घटनाले अभिभावकलाई समेत ठूलो पाठ सिकाएको बताउँछन् ।

‘छोराछोरी विदेश पठाउँदा के कुरामा ध्यान दिने भन्ने ठूलो पाठ सिकाएको छ,’ उनी भन्छन्, ‘हरेक अभिभावकले छोराछोरीका लागि देशमात्र हेर्ने होइन, त्यहाँ उनीहरू कति सुरक्षित हुन्छन् भन्ने कुरामा पनि ध्यान दिनुपर्ने पाठ सिकाएको छ ।’

शिक्षाविद कार्कीका अनुसार यो घटनाले नेपाली विश्वविद्यालयको चरित्र उतारेको छ । भन्छन्, ‘घटना के हो, सत्य तथ्य के हो भन्ने कुरा यहाँ बसेर थाहा हुँदैन, तर जुन एउटै कलेजमा १५ सय बढी नेपाली विद्यार्थीलाई यो किसिमको विभेद गर्नु गम्भीर कुरा हो ।’

शिक्षाका मन्त्रालयका पूर्वसचिव गोपीनाथ मैनाली यो घटनाले नेपाललाई तीन कुराको पाठ सिकाएको बताउँछन् ।

उनी भन्छन्,  ‘एउटा नेपाली विद्यार्थीको सुरक्षामा ध्यान दिनुपर्छ भन्ने देखियो, अर्को नेपालमा शिक्षाको गुणस्तर भएन भन्ने देखियो भने अर्को शैक्षिक कुटनीतिक प्रभावकारी नभएको कुरा यो घटनाले सिकायो । अब यो पाठ नेपालले सिक्नु पर्छ ।’

‘नेपाली विद्यार्थी भारतमै असुरक्षित छन् भन्ने देखायो, त्यसमा पनि महिला विद्यार्थी झन् असुरक्षित रहेको यो घटनाले देखाएको छ, यो कुरामा अभिभावकले सचेत हुन आवश्यक छ,’ उनले थपे ।

विश्वविद्यालय सुधार्नुपर्छ

नेपालको शिक्षा प्रणाली गुणस्तर नहुँदा पनि नेपाली विद्यार्थी विदेशीनुपर्ने बाध्यता रहेको विषय बेलाबेलामा आइरहन्छ । नेपालमा खोजेको शिक्षा नपाउँदा विद्यार्थी परदेशसम्म पुग्छन् । केआईआईटीमा मात्र १ हजार ५ सय बढी नेपाली विद्यार्थी अध्ययनरत रहेको कुरा बाहिर आएको छ ।

शिक्षाविद् डा.कार्की नेपालको शिक्षाको गुणस्तरको कमीका कारण पनि नेपाली विद्यार्थी बाहिरनुको बाध्यता यो घटनाले उजागार गरेको बताउँछन् । भन्छन्, ‘नेपालमा राम्रो शिक्षा विद्यार्थीले पाएनन्, उनीहरू देश छोड्न बाध्य भए जसका कारण परदेशमा असुरक्षित रहनुपरेको छ ।’

कार्की यो घटनाले नेपालका विश्वविद्यालयलाई सुध्रर्नुपर्छ भन्ने गतिलो पाठ सिकाएको बताउँछन् । उनी भन्छन्, ‘नेपालका विश्वविद्यालय शिक्षाभन्दा बढी राजनीतिमा रुमल्लिए, उपकुलपति र प्राध्यापकलाई पनि राजनीति बढी गर्नुपर्‍याे, जसका कारण उनीहरू कार्यरत विश्वविद्यालय खाली भए ।’

एनओसी लिएका विद्यार्थी

नेपालसँग भारतमा रहेको नेपालीको कुनै तथ्यांक छैन । न भारतमा कति नेपाली कामदार छन् भन्ने तथ्यांक वैदेशिक रोजगार बोर्डसँग छ न भारतमा कति विद्यार्थी अध्ययन गरिरहेका छन् भन्ने तथ्य शिक्षा मन्त्रालयसँग छ । नेपाली कति विद्यार्थी भारतमा अध्ययन गरिरहेका छन् भन्ने तथ्यांक कुनैपनि निकायसम्म छैन ।

शिक्षा मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा २ हजार ३७२ जनाले भारत पढ्न जाने अनुमति सरकारसँग लिएका थिए । तीमध्ये कति गए वा कति गएनन् भन्ने यकिन छैन । चालु आर्थिक वर्षको माग मसान्तसम्ममा मात्र भारतका लागि २४५ जना विद्यार्थीले ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लिएका छन् ।

मन्त्रालयका सूचना अधिकारी नीलकण्ठ ढकाल भारतमा ठ्याक्कै यति नेपाली विद्यार्थीले अध्ययन गरिरहेका छन् भन्ने तथ्य नरहेको बताउँछन् । केआईआईटी विश्वविद्यालय रहेका विद्यार्थीको संख्या हेर्दा भारतमा हजारौ‌ं विद्यार्थी अध्ययनरत हुन सक्ने अनुमान गर्न सकिने बताउँछन् । उनी भन्छन्, ‘नेपालको सबैभन्दा सजिलो छिमेकी देश भारत हो , जहाँ आउन जान कुनै रोकतोक हुँदैन, कतिपय विद्यार्थी उतै काम गर्दै पढ्ने गर्छन् भने कतिपय परिवार नै उतै बसेर छोराछोरी पढाइरहेका छन् ।’

यो घटनाले देखाएका यी तीन कुरामा जबसम्म नेपाल सरकारले काम गर्दैन, तबसम्म यस्ता समस्या दोहोरिरहने उनको दाबी छ । भारतमा कति नेपाली विद्यार्थी अध्ययनरत छन् भन्ने यकिन तथ्यांक नेपाल सरकारसँग नभएको प्रसंगमा मैनाली सरकारको गैरजिम्मेवारीपूर्ण काम भएको बताउँछन् ।

उनी भन्छन्,  ‘आफ्ना नागरिक कहाँ छन्, कस्तो अवस्थामा छन्, देशबाहिर कति छन् र देशभित्र कति छन् भन्ने विषयमा जानकारी सुरकारसँग हुनुपर्छ, आफ्ना नागरिकबारे थाहा छैन भन्ने अधिकार सरकारलाई थाहा छैन । अब भारतमा रहेको विद्यार्थीमात्र होइन, कामदारको संख्या पनि दिन सक्नुपर्छ ।’

छटपटीमा नेपाली विश्वविद्यालय

नेपाली विश्वविद्यालय विद्यार्थी नपाएर छटपटाइ रहँदा भारतको एउटै विश्वविद्यालयमा १ हजार ५ सय बढी विद्यार्थी रहेको पाइएको छ । एउटा घटनाले एउटै विश्वविद्यालयमा यतिको संख्यामा नेपाली विद्यार्थी रहेको थाहा भएको छ भने अन्य विश्वविद्यालयमा कति विद्यार्थी छन् भन्ने यकिन छैन । विज्ञहरू अन्य विश्वविद्यालयमा यो भन्दा बढी सख्या रहेको हुनसक्ने बताउँछन् ।

उनीहरू नेपाली विश्वविद्यालयले गतिछाडा प्रवृत्ति देखाउँदा नेपाली विद्यार्थी बाहिरनुपरेको तर्क गर्छन् । शिक्षाविद् कार्कीले नेपालका विश्वविद्यालयले विद्यार्थी नपाएको बेला भारतको एकै विश्वविद्यालयमा १५ सय बढी विद्यार्थी रहेको कुरा बाहिर आउनु राज्यकै लागि ठूलो प्रश्न रहेको बताए ।

परीक्षा लिनेदेखि नतिजा निकाल्ने बेलासम्मको नेपाली विश्वविद्यालयको ढिलासुस्ती उपकुलपति र प्राध्यापकहरूले विश्वविद्यालय छोडेर राजनीति गर्दाको परिणाम पनि यो घटनाको कारण रहेको उनको भनाइ छ । उनी नेपाली विश्वविद्यालयबाट आजित भएर गएका विद्यार्थी अन्य विश्वविद्यालयमा यो भन्दा ठूलो संख्यामा हुन सक्ने भन्दै नेपालका विश्वविद्यालय खाली रहनुले नेपालको लज्जास्पद चित्र देखेको बताउँछन् ।

केआईआईटी विश्वविद्यालय 

भारतको उडिसा राज्यमा रहेको कलिङ्ग इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआइआइटी) एक नाम चलेको विश्वविद्यालय हो । जुन भारतको उडिसा राज्यमा छ । व्यावसायिक अध्ययनका लागि निकै प्रख्यात यो विश्वविद्यालयमा विश्वका ६५ देशका विद्यार्थी अध्ययनरत छन् ।

स्थापना भएको २५ वर्षमै व्यावसायिक रूपमा ठूलो फड्को मारेको विश्वविद्यालयमा अहिले ४० हजार विद्यार्थी अध्ययनरत छन् । सन् १९९२ मा एक औद्योगिक प्रशिक्षण संस्थाको रूपमा सुरु भएको यो संस्था १९९७ मा विश्वविद्यालयको रूपमा सञ्चालनमा आएको पाइन्छ ।

इन्जिनियरिङ, व्यवस्थापन, कानून, चिकित्सा विज्ञान, जैविक प्रविधि र कम्प्युटर एप्लिकेशनलगायतका विषय यो विश्वविद्यालय अध्यापन गराइन्छ ।  यो विश्वविद्यालयमा अध्ययन गरिरहेका एक लाख विद्यार्थीहरूले प्रशासनिक सेवा, शिक्षण, व्यवसायलगायत विभिन्न क्षेत्रमा पहिचान स्थापित गरिसकेका छन् ।

यो विश्वविद्यालयअन्तर्गत २५ वटा क्याम्पसहरू सञ्चालनमा आएका छन् जहाँ तीन हजारभन्दा बढी प्रतिष्ठित प्राध्यापक र अनुसन्धान कर्ता तथा १५ सय बढी कर्मचारीहरू रहेका छन् ।

Share News