काठमाडौं । काठमाडौंमा जारी ‘सातौँ नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो’ आइतबार सम्पन्न हुँदैछ ।
शुक्रबारदेखि जारी कृषि मेलाले नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम् प्रविधि तथा सेवाको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ । मेलाले कृषिमा प्रविधिको प्रयोगलाई बढावा दिने कृषि व्यवसायीको विश्वास छ ।
कृषि उपकरणको प्रचार प्रसारका लागि मेलामा स्वदेशी तथा विदेशी कृषि उपकरण कम्पनीहरुले स्टल राखेका छन् । मेलाले नेपालमा भएको कृषिसम्बन्धी सेवा र वस्तुलाई निर्यात गर्न मद्दत पुर्याउने र विदेशबाट गुणस्तरीय कृषि उपकरण आयात गर्ने उनीहरुको विश्वास छ । कृषि मेलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा भएका विजनेसहरुलाई एक,अर्कामा आदानप्रदान गर्ने रुपमा बुझेको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका नायव महाप्रवन्धक रामशरण तिमल्सिनाले बताए ।
उनले नेपालमा रहेको वस्तु तथा सेवालाई निर्यात गर्न तथा नेपाललाई आवश्यक कृषि उपकरण आयात गर्न सकियोस् भनेर मेलामा जोडिएको बताए । कृषि उपकरण व्यवसायीहरुले गरिरहेका कामहरुबारे सरकारी तथा गैरसरकारी संस्थाहरुलाई देखाउने यो उत्तम विकल्प भएको समेत उनको भनाइ छ । कृषिसम्बन्धी कुनैपनि उपकरण र कृषि व्यवसायको योजना बनाउनका लागि मुक्तिनाथ कृषि उपयुक्त भएको उनको भनाइ छ ।
उनले भने, ‘सरकारी गैरसरकारी निकायहरुलाई हामीले के गरिरहेका छौं भन्ने विषयवस्तु देखाउनका लागि पनि यो प्लेटफर्म उपयुक्त हुन्छ भनेर हामी यहाँ उपस्थित भएका छौं ।’
बाँकेको नेपालगञ्जमा कृषि सोलुसन नामक कम्पनी चलाउँदै आएकी पार्वती घिमिरेले नेपालमा कृषि यन्त्रको उपकरणको प्रयोग बढ्दै गएको बताइन् । युवाहरु विदेश पलायन हुँदा गाउँ कृषि प्रयोगका उपकरणहरुको प्रयोग बढेको उनको भनाइ छ ।
उनले नेपालमा कृषि उपकरण उत्पादन नहुने भएका कारण विदशकै भर पर्नुपरेको बताइन् । कृषि उपकरणको माग बढेको भएपनि उत्पादन नहुँदा चीन र भारतबाट उपकरण आयात गरेर बेच्ने गरेको उनले बताइन् । चीन र भारतबाट आयातित गुणस्तरीय वस्तुको प्रचार प्रसारका लागि मेलामा सहभागि भएको उनले उल्लेख गरिन् ।
उनले भनिन्, ‘अहिले नेपालमा कृषि उपकरणको एकदमै बढ्दो माग छ । देशको स्थिति देखि नै रहनु भएको छ । सबै युवाहरु पलायन भइसकेको अवस्था छ । त्यसकारण गाउँमा खेतिपाती गर्ने मान्छेहरु एकदमै कम छ । प्रविधि बिना कृषिमा अगाडि बढ्न सकिदैन भन्ने धारणा सबैको भइनै सकेको अवस्था पनि छ ।’
जर्मनी स्टिल कम्पनीका नेपाली वितरक कुमार शाक्यले रुख काट्ने मेसिनको माग बढ्दो भएपनि अन्य उपकरणहरु माग सोचेजति नभएको बताए । उनले मेलाको माध्यमबाट कृषिलाई गुणस्तरीय कृषि उपकरणको व्यवस्था गरी किसानले भोग्दै आएका समस्याहरु समाधान गर्ने आफ्नो मुख्य उद्देश्य रहेको बताए । उनले पहिले चिनियाँ कम्पनीसँग सहकार्य गर्दै आएको भएपनि कम गुणस्तरको सामान पठाउने गरेको कारण जर्मनी कम्पनीसँग सहकार्य गरेको बताए ।
उनले भने, ‘यो हाम्रो जर्मनी कम्पनी हो । पहिले म कृषिसम्बन्धी चिनियाँ उपकरणहरु ल्याएर बेच्थेँ । त्यो अलिकति ड्यरेबल भएको जस्तो लागे मलाई बजारमा माग प्रतिष्पर्धा बढेसँगै उसले गुणस्तर घटाइदिन्छ ।’
एक्सपोमा कुखुरा पालन, माछा पालन, बाख्रा पालन, गाई भैँसी पालन, डेरी, कृषिका मेसिनरी औजार, उपकरण, भेटेरिनरी, खाद्य प्रविधिबारे जानकारी प्राप्त गर्न सकिने आयोजकले जनाएको छ । मुख्य प्रदर्शनी स्थलमा सबै विधाका अलग–अलग समूह स्टल रहने र प्रदर्शनीमा प्रवेश निःशुल्क रहेको छ ।