
काठमाडौं । राष्ट्रिय दलित आयोगले सत्येन्द्र र नेहा अन्तरजातीय विवाह प्रकरणमा गम्भीर ध्यानाकर्षण गराएको छ ।
आयोगले सर्लाहीका सत्येन्द्रकुमार राम र नेहा रौनियारको जोडीमाथि राज्यबाट भएको अत्याचारको घटनाका दोषीमाथि छानबिन र कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको हो ।
आयोगले बिहीबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलगायत उच्च अधिकारीलाई आयोगमा बोलाएर यस विषयमा छलफल गरी कारबाही गर्न निर्देशन दिएको हो ।
उनीहरूको जोडी छुटाउन खोज्ने, पक्राउ गर्ने र यातना दिनेविरुद्ध छानबिन गरी कारबाही गर्न निर्देशन दिएको छ ।
घटनाको विषयमा दलित आयोगले चासो नदिएको भन्दै दलित अधिकारकर्मीहरूले गत आइतबार ज्ञापनपत्र बुझाएका थिए ।
पीडित सत्येन्द्रले गत २४ पुसमै आफूलाई प्रहरीले यातना दिएको र श्रीमतीलाई बेपत्ता बनाएको भन्दै आयोगमा निवेदन दिएका थिए ।