
काठमाडौं । वन तथा वातावारणमन्त्री ऐनबहादुर शाही ठकुरीले आगामी वर्षभित्र कर्णालीका सबै बाटो पिच हुनेगरी काम गर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित रारा रिर्सोटको शिल्यान्यास कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।
सडक पूर्वाधारमात्रै नभएर हवाईको स्तराेन्नति गर्ने बताए । उनले भने, ‘अहिले कर्णाली जाने पर्यटकहरूले ठूलो कष्टकर झेलेर यात्रा गर्दै आउनुभएको छ । हामीले उहाँहरूको यात्रालाई सहज बनाउनेगरी काम गर्दैछौं । सडक र हवाई दुवैको स्तराेन्नति गरेर कर्णालीमा बढीभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य रहेको छ ।’
मन्त्री शाहीले नेपाल आफैमा पर्यटकीय रूपमा विविधि सम्पदाले भरिपूर्ण त्यसमा पनि कर्णालीको रारा पर्यटकीय हिसाबले सम्भावना बोकेको क्षेत्र भएकाले यसको प्रवर्द्धन र प्रचारप्रसार आवश्यक रहेको औंल्याए ।
कर्णालीजस्तो विकट ठाउँमा निजी क्षेत्रले लगानी गर्न नचाहिरहेको अवस्थामा अस्ट्रेलियामा व्यवसायी गरिरहेका दुई युवाले पाँचतारे रिर्सोट खोल्ने आँट निकै महत्त्वपूर्ण रहेको उनले बताए ।
साथै मन्त्री शाहीले दुई युवाको आँटलाई साकार पार्न सबैको साथ र सहयोग जरुरी रहेको उल्लेख गरेका छन् ।
‘कर्णालीमा रिर्सोट खोलेर सेवा दिने उहाँहरूले जुन आँट राख्नुभएको छ, उहाँहरूको उद्देश्य साकार पार्न स्थानीय स्तरदेखि राजनीतिज्ञ, सरकार र सबै सरोकारवाला जिम्मेवारी हुनुपर्छ,’ उनले भने ।
लगानीकर्तालाई थप लगानीमा प्रोत्साहित गर्न सरकारले अध्यादेश ल्याएको उल्लेख गर्दै मन्त्री शाहीले व्यवसायीको लगानी सुरक्षामा यसले मद्दत पुग्ने बताए । साथै उनले सरकारले लगानीको सुरक्षाको जिम्मा लिने प्रतिबद्धता जनाउँदै निजी क्षेत्रलाई ढुक्कले काम गर्न आग्रहसमेत गरे ।