काठमाडौं । आलु र प्याज भान्सामा सबैभन्दा बढी प्रयोग हुने तरकारी हो । हामीले दैनिक रूपमा आलु र प्याजको प्रयोग गरी तरकारी बनाउने गर्छौं । तर आलु र प्याजमा पनि आत्मनिर्भर हुन नसक्दा यसको आयात बढ्दै गएको छ ।
भारत र चीनबाट नेपालमा आलु र प्याज आयात हुने गरेको छ । यसरी आउनेमध्ये बीउ, ताजा वा चिसो, सुकेको आलु र प्याज रहेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा २० करोड किलो आलु आयात भएको छ । चालु आवको पौष मसान्तसम्म ५ अर्ब २३ करोड रुपैयाँ बढीको आलु आयात हुँदा ९९ करोड रुपैयाँ राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ ।
सबैभन्दा धेरै आलु भारतबाट ५ अर्ब २२ करोड रुपैयाँ बढीको आयात भएको छ । साथै चीनबाट २१ लाख रुपैयाँ बढीको आयात भएको छ ।
१ अर्बको प्याज आयात
नेपालमा मागभन्दा धेरै कम उत्पादन हुँदा बर्सेनि विदेशबाट अर्बौं रुपैयाँको प्याज आयात भएको भन्सार विभागले जनाएको छ । भारत र चीनबाट खानाका लागि ताजा तथा सुकेको प्याज आयात गरिएको हो ।
चालु आवको पौष मसान्तसम्म १ अर्ब ७५ करोड रुपैयाँ बढीको प्याज आयात भएको छ । विभागका अनुसार ३ करोड ९९ लाख किलो प्याज आयात हुँदा ३३ करोड रुपैयाँ बढीको राजस्व संकलन भएको छ ।
सबैभन्दा धेरै भारतबाट १ अर्ब ७४ करोड रुपैयाँ बढीको आयात भएको छ । यसैगरी चीनबाट १ करोड रुपैयाँ बढीको प्याज आयात भएको छ ।