काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाम नेपालमा भित्रने रेमिट्यान्स ४.१ प्रतिशतले वृद्धि भएको छ । चालु आवको पौष मसान्तसम्म गत वर्षको सोही अवधिको तुलनामा ४.१ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार यो अवधिमा नेपालमा ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आवको सोही अवधिमा ७ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । गत वर्षको सोही अवधिमा रेमिट्यान्स २२.२ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा रेमिट्यान्स १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ । गत वर्ष यस्तो रेमिट्यान्स १९.५ प्रतिशतले बढेको थियो ।
यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ६ हजार ३९० र १ लाख ३३ हजार ९४० रहेको थियो ।