व्यवसायीले कर छल्न नसक्ने प्रकारको प्रणाली विकास गर्नुपर्छ : अर्थमन्त्री पौडेल

<p>काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यवसायीले कर छल्न नसक्ने प्रकारको कर प्रणाली स्थापित गरिनुपर्नेमा जोड दिएका छन् । नेपालमा लेखासम्बन्धी पेशा तथा शिक्षाको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को २८ औं वार्षिकोत्सव मूल समारोहलाई सम्बोधन गर्दै उनले कर र राजस्वको क्षेत्रमा आवश्यकता अनुसार काम हुन नसकेको भन्दै उनले कर प्रणालीमा धेरै सुधार [&hellip;]</p>

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यवसायीले कर छल्न नसक्ने प्रकारको कर प्रणाली स्थापित गरिनुपर्नेमा जोड दिएका छन् ।

नेपालमा लेखासम्बन्धी पेशा तथा शिक्षाको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को २८ औं वार्षिकोत्सव मूल समारोहलाई सम्बोधन गर्दै उनले कर र राजस्वको क्षेत्रमा आवश्यकता अनुसार काम हुन नसकेको भन्दै उनले कर प्रणालीमा धेरै सुधार चाहिएको बताए ।

अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्र सही दिशामा चलायमान गराउन र वित्तीय अनुशासन कायम गर्न चार्टर्ड एकाउन्टेन्टको भूमिका महत्वपूर्ण रहेको बताए ।

‘कर सुधार र राजस्व वृद्धिका कुरा गरिरहे पनि पछिल्ला कतिपय तथ्याङ्कले यस्तो नदेखाएको भन्दै उनले भने, ‘कर प्रणालीमा सुधारको कुरा गर्छौं तर त्यसमा चाहेअनुसार  सुधार गर्न सकिरहेका छैनौं । कुनै पनि व्यवसायीले कर छल्न नसक्ने र औचित्यमा आधारित कर प्रणाली स्थापित गर्ने सन्दर्भमा हामीले अझै धेरै काम गर्न बाँकी छ ।’

चार्टर्ड एकाउन्टेन्टको काँधमा वित्तीय लेखाजोखा मूल्याङ्कन गर्ने जिम्मेवारी रहेको भन्दै उनले त्यो ठीक भएको खण्डमा वित्तीय सुशासन आफै सही ठाउँमा आउने दावी अर्थमन्त्री पाैडेलको छ ।

उनले सार्वजनिक वित्त व्यवस्थापन सुधारमा महत्वपूर्ण भूमिका खेल्ने समेत सुझाव दिए ।

मुलुकको कर प्रणाली सुधार र राजस्व वृद्धिमा चार्टर्ड एकाउन्टेन्टहरूको महत्त्वपूर्ण सहकार्यको अपेक्षा सरकारले गरेको उनले बताए

पूँजीबजार दीगो, भरपर्दो र विश्वसनीय तरिकाले अगाडि बढाउन र कुनै पनि प्रकारका चिटिङ प्रवेश हुन नदिन आइक्यानले आफ्नो ठाँउबाट भूमिका खेल्न सक्ने उनको अपेक्षा छ ।

सरकारले अर्थतन्त्र सामु आएका समस्या समाधान गर्न एकसाथ २९ कानून संशोधन गर्न अध्यादेश ल्याएको बताए । उनले अर्थतन्त्रलाई चलायमान बनाउन, लगानी बढाउन, उत्पादन बढाउन, रोजगारी बढाउन र विदेशी लगानी आकर्षण गर्न सरकारले प्रयास गरिरहेको दावी गरे ।

सो अवसरमा महालेखा नियन्त्रक डा. गणेशप्रसाद पाण्डेले अर्थतन्त्र विकासमा वित्तीय प्रणाली सुधार आवश्यक हुने र यसमा चार्टर्ड एकाउन्टेन्टको भूमिका महत्वपूर्ण रहेको बताए । विश्वमै चार्टर्ड एकाउन्टेन्ट एक प्रतिष्ठित व्यवसाय भएको भन्दै उनले सरकारको प्रतिनिधि र कर अधिकृतका रूपमा रहेको उनको भनाइ छ ।

सो अवसरमा आइक्यानका अध्यक्ष प्रविण कुमार झाले लेखा, लेखापरीक्षण तथा कर लगायत विषयमा चार्टर्ड एकाउन्टेन्टले गहन अध्ययन र सोही क्षेत्रमा तालिम तथा व्यावसायिक अनुभव प्राप्त गर्ने हुनाले चार्टर्ड एकाउन्टेन्टलाई विज्ञको रूपमा हेरिँदै आइएको बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष सीए प्रवीणकुमार झाले आव २०८०/८१ को वार्षिक प्रतिवेदन तथा २०८१–८२ देखि २०८५/८६ सम्मको पञ्चवर्षिय रणनीतिक योजना सार्वजनिक गरे । यस रणनीतिमा ४ प्रमुख रणनीतिक नियत, २० रणनीतिक लक्ष्य र ८० कार्यनीति रहेको संस्थाले जनाएको छ ।

रणनीतिहरुमा लेखा व्यवसायको पहुँच र विश्वसनीयता बिस्तार गर्ने, सदस्यहरुलाई अधिकतम सहभागिता र सरोकारवालासँग सहकार्य गर्ने, आर्थिक समृद्धिका लागि सरकारको साझेदारीका रुपमा बिस्तार गर्ने र ग्लोबल स्ट्यान्डिङ अभिवृद्धि गर्ने तथा संस्थागत प्रभावकारीता र दीगो विकास रहेका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था अर्थात इन्स्टिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल विशेष ऐन “नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अन्तरगत स्थापना भएको नियमनकारी निकाय हो । यसले नेपालमा लेखासम्बन्धी पेशा तथा शिक्षालाई नियमित गर्न नियमनकारी निकायको रूपमा कार्य गर्दै आएको छ ।

आधा दिवसीय सम्मेलनमा दुई कार्यपत्र

संस्थाको २८ औं वार्षिकोत्सवका अवसरमा काठमाडौं र उपत्यकाबाहिर विभिन्न गतिविधि आयोजना गरिएका थिए । बिहीबार नै २८ औं वार्षिकोत्सवका अवसरमा संस्थाले आधा दिवसीय सम्मेलन समेत आयोजना गरेको छ ।  सम्मेलनमा दुई कार्यपत्र प्रस्तुत भए ।

संस्थाका निर्देशक सीए किरण कुमार खत्रीले प्रस्तुत गरेको पहिलो कार्यपत्रमाथि संस्थाका अध्यक्ष झा, नेपाल राष्ट्र बैंकका एएमएल/सीएफटी विशेषज्ञ डा. हरि नेपाल र फाइनान्सियल इन्टिलिजेन्स यूनिट प्रमुख बासुदेव भट्टराई, सीए अमन उप्रेती र सम्पत्ति शुद्धीकरण निवारण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालले छलफल गरेका थिए । दोस्रो कार्यपत्र सिए शैलेन्द्र उप्रेतीले प्रस्तुत गरेका थिए ।

संस्थाले बिहीबार नै सातौं चार्टर्ड एकाउन्टेन्ट दीक्षान्त समारोह आयोजना गर्‍यो । यस अवसरमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशर जंग बरालले चार्टर्ड एकाउन्टेन्सीका विभिन्न तहमा उत्कृष्ट अंकसहित उत्तीर्ण हुने विद्यार्थीलाई पदक तथा प्रमाणपत्र प्रदान गरे । सो अवसरमा ७७ जना विद्यार्थी दीक्षित भएका छन् ।

Share News