आम हड्ताल फिर्ता लिएर पाथीभरा केवलकार निर्माणमा सहयोग गर्न फुङलिङ नगरको आग्रह

<p>काठमाडौं । फुङलिङ नगरपालिकाले पाथिभरा मुक्कुमलुङ केवलकार निर्माणमा अवरोध गर्ने समूहले आह्वान गरेको ताप्लेजुङ बन्द र हड्तालका कार्यक्रम अविलम्ब फिर्ता लिन आग्रह गरेको छ । नगरप्रमुख अमिर मादेनले मंगलबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै केवलकार निर्माण गर्ने क्रममा ‘नो केवलकार’ समूह र सुरक्षाकर्मीबीच झडप हुँदा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नगरपालिकाले गत भदौ २१ [&hellip;]</p>

काठमाडौं । फुङलिङ नगरपालिकाले पाथिभरा मुक्कुमलुङ केवलकार निर्माणमा अवरोध गर्ने समूहले आह्वान गरेको ताप्लेजुङ बन्द र हड्तालका कार्यक्रम अविलम्ब फिर्ता लिन आग्रह गरेको छ ।

नगरप्रमुख अमिर मादेनले मंगलबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै केवलकार निर्माण गर्ने क्रममा ‘नो केवलकार’ समूह र सुरक्षाकर्मीबीच झडप हुँदा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नगरपालिकाले गत भदौ २१ गते गरेको निर्णयको स्मरण गराएका छन् ।

नगर कार्यपालिकाको ४५ औं बैठकले विभिन्न ठाउँबाट आउने सवारीसाधन नगरपालिका प्रवेश गर्ने क्रममा कसैले वन्द अवरोध गर्न नपाइने निर्णय पास गरेको थियो ।

सोही बैठकले नगरपालिका क्षेत्र भित्र सञ्चालित उद्योग, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्थाहरू कुनै पनि राजनीतिक दल, संघ, संस्था वा समूहले अवरोध गर्न गराउन नपाउने निर्णय गरेको थियो ।

मेयर मादेनले जारी गरेको विज्ञप्तिअनुसार आज बसेको कार्यपालिकाको बैठकले बन्द र हड्तालले समस्याको समाधान नगर्ने भएकोले अविलम्ब बन्दका कार्यक्रम फिर्ता गरी वार्ता र संवाद गर्न सरोकारवाला पक्षलाई आग्रह गरेको छ ।

यही माघ १२ गते फुङलिङ नगरपालिका वडा नं १२ बलुडाँडामा सुरक्षा निकाय र नो केवलकार समूहबीच झडप हुँदा आन्दोलनकारीतर्फ पाँचजना र प्रहरीतर्फ १३ जनाभन्दा बढी घाइते भएका थिए ।

Share News