चन्द्रपुर (रौतहट) । गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ । कार्यालयले साउनदेखि पुससम्म १४ करोड ६७ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्न सफल भएको गौर भन्सार कार्यालयका निमित्त प्रमुख अमेन्द्र सिंहले जानकारी दिए ।
भन्सार विभागले आव २०८१/८२ का लागि ३५ करोड ४३ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएकामा पुस मसान्तसम्ममा १४ करोड ६७ लाख ५५ हजार रुपैयाँ सङ्कलन गरेको उनले बताए ।
यो साउनदेखि पुससम्मको लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन भएको प्रमुख सिंहले जानकारी दिए । भन्सार प्रमुख सिंहका अनुसार ६ महिनामा सबैभन्दा बढी पुसमा ३ करोड ४७ लाख १४ हजार रुपैयाँ सङ्कलन भएको छ । यो महिना लक्ष्य भन्दा १७ प्रतिशत बढी रकम राजस्व सङ्कलन भएको उनको भनाइ छ । यस वर्ष गौर भन्सार कार्यालयले विभागले दिएको लक्ष्य भेट्टाउने किसिमले काम गरिरहेको उनले बताए ।
यसैबीच रौतहट प्रहरीले गत साउनयता २ करोड ४२ लाख ७७ हजार ४४३ रुपैयाँ बराबरको सीमा क्षेत्रबाट चोरी निकासीका सामान बरामद गरी गौर भन्सारमा बुझाएको रौतहट प्रहरी प्रमुख दिलीप घिमिरेले जानकारी दिए । सो अवधिमा अवैध सामान ओसारपसार गर्ने ६६ जना, १०८ वटा मोटरसाइकल, २ थान पिकअप भ्यान, २ थान स्कारपियो गाडी, १४ वटा साइकल र ४ वटा सिटीरिक्सा बरामद गरी भन्सार कार्यालयलाई बुझाएको उनले जानकारी दिए ।
सोही अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले ६८ लाख २४ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको उपरीक्षक घिमिरेले जानकारी दिए ।