
म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका- २ मार्फाखोलामा मोटरेबल पुल निर्माण भएको छ ।
बेनी-जोमसोम-कोरला सडक आयोजना कार्यालय, मुस्ताङले एक सय २० मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो । आयोजना प्रमुख ध्रुवकुमार झाले पुलको सबै संरचना र पहुँचमार्ग निर्माण सकेर सवारीसाधन सञ्चालन हुन थालेका जानकारी दिए ।
‘चिसोका कारणले रोकिएको पुलको पहुँचमार्ग कालोपत्र गर्ने काम गर्मी शुरु भएपछि हुन्छ,’ उनले भने, ‘मार्फाखोलामा बाढी आउँदा बेनी-जोमसोम सडकमा यातायात अवरुद्ध हुने समस्या हटेको छ ।’
धौलागिरि दोस्रो र टुकुचेचुली हिमालको बीचमा पर्ने धम्पुसचुली हिमाल फेदमा पर्ने काशीघन क्षेत्रमा रहेको हिउँ दिउँसोको चर्को घामले पग्लदा मार्फाखोलामा चैतदेखि असोज महिनासम्म दिउँसो र साँझपख मार्फाखोलामा बाढी आउने गर्छ ।
पक्कि पुल सञ्चालन भएपछि कच्चि र अस्थायी पुल तथा खोलाबाट जोखिम मोलेर सवारी वारपार गर्नुपर्ने समस्या हटेको आयोजना प्रमुख झाले बताए ।
मार्फाखोला र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका- ३ छुसाङको नरसिङखोलामा मोटरेबल पुल निर्माणका लागि ६ वर्षअघि हिमदुङ एण्ड थोकर इमोटल कन्ट्रक्सनले २१ करोड ६० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
जोमसोमदेखि कागबेनी-छुसाङ-उपल्लो मुुस्ताङ हुँदै चिनको सिमाना कोरला नाका जोड्ने सडकअन्तर्गत रहेको नरसिङ खोलाको ९० मिटर लामो मोटरेबल पुल गत भदौमा निर्माण सकिएको थियो ।
कोरोना महामारी, प्रतिकूल भूगोल, मौसम, प्राकृतिक विपद्, नदीजन्य निर्माण सामग्रीको अभाव लगायतका कारणले ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधी सुदिप खड्काले बताए ।
पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको बेनी-जोमसोम कोरला सडक अन्तर्गत २४ मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, १२ निर्माण सकिएको, दुई निर्माणाधीन, पाँचवटाको ठेक्का तोडेको र पाँचवटा पुल निर्माणको प्रक्रीयामा छन् । २०७३/०७४ देखि सुरु भएको योजनाको हालसम्म ८४ प्रतिशत भौतिक प्रगति भएको छ ।