नेपालीपन झल्किएको इम्बार्क कलेज, शिक्षालाई रोजगारीसँग जोड्ने प्रण

<p>काठमाडौं । चिटिक्क परेको सेतो भवन, जति बाहिरबाट हेर्दा सुन्दर छ, त्योभन्दा अझ हेर्न लायक छ यसको संरचना । भुइँतला जहाँ ल्याब अनि लाइब्रेरी छन् । प्रत्येक कोठाको नाम तराईका विभिन्न तालका नामबाट राखिएका छन् । त्योभन्दा माथिल्लो तला जहाँ विद्यार्थी अध्ययन गर्छन्, तिनको नाम पनि विभिन्न पहाडका तालको नामबाट राखिएका छन् । कहीं रारा, कहीं [&hellip;]</p>

काठमाडौं । चिटिक्क परेको सेतो भवन, जति बाहिरबाट हेर्दा सुन्दर छ, त्योभन्दा अझ हेर्न लायक छ यसको संरचना । भुइँतला जहाँ ल्याब अनि लाइब्रेरी छन् । प्रत्येक कोठाको नाम तराईका विभिन्न तालका नामबाट राखिएका छन् । त्योभन्दा माथिल्लो तला जहाँ विद्यार्थी अध्ययन गर्छन्, तिनको नाम पनि विभिन्न पहाडका तालको नामबाट राखिएका छन् ।

कहीं रारा, कहीं बेगनास त कहीं फोक्सुण्डो । त्यसको माथिल्लो तला जहाँ विद्यार्थीले सिकेको कुरा अथवा आफ्नो प्रोजेक्टको छलफल गर्न सक्छन्, ती कोठाहरू विभिन्न हिमालको नामबाट परिचित छन्, जस्तै- सगरमाथा, मनास्लु, अन्नपूर्ण… ।

कक्षाकोठामा विद्यार्थी प्रवेश गर्ने ढोका र अन्य व्यक्ति तथा कर्मचारी प्रवेश गर्ने ढोका फरक छ । जहाँ संरचना बनावट अन्य कलेजको भन्दा फरक छ ।  तराई, पहाड र हिमाल जसरी कलेजको संरचना बनाइएको यो कलेज हो- इम्बार्क कलेज । इम्बार्कको अर्थ केही कुरा सुरुवात गर्नु हो । 

ललितपुरको पुल्चोकमा सञ्चालनमा आएको यो कलेजले अबको केही दिनमै कार्यक्रम सुरु गर्दैछ । यो कलेजले स्नातक तहमा बिजनेस म्यानेजमेन्ट कोर्स (बीएससी)स्नातकोत्तर तहमा एमबीए कोर्सहरू सुरु गर्न लागेको हो । अहिले विद्यार्थी भर्ना अभियान सुरु भइरहेको छ । कलेजका अनुसार यो अर्काे सातादेखि पढाइ सुरु हुनेछ । 

अहिले शिक्षा क्षेत्रमा एउटै गुनासो छ, नेपालमा विद्यार्थीहरू छैनन् । सरकारी कलेजहरू मर्ज गर्नुपर्ने आवाज उठिरहेको छ भने निजी कलेजका सञ्चालक भित्रभित्रै विकल्प खोजिरहेका छन् । संकटमा परिरहेका नेपालका शिक्षालय र धमाधम विदेसिएका विद्यार्थीका समस्याको कुरा सञ्चारमाध्यममा दिनहुँ हेडलाइन बन्ने गरेका छन् । यस्तो अवस्थामा नेपाली विद्यार्थीलाई नेपालमै त्यो पनि सीप र उद्यमशीलतामा जोड्ने उद्देश्यका साथ इम्बार्क कलेज सञ्चालनमा आएको हो ।

यो कलेजमा गोल्छा समूह र ग्लोकल प्राइभेट लिमिटेडको संयुक्त लगानी छ ।  नेपालमा रहेका कलेजहरू समस्यामा रहेको बेला तपाईंले नयाँ सम्भावना के देख्नुभयो ? भन्ने प्रश्नमा ग्लोकलका अध्यक्ष तथा कलेजका कार्यकारी निर्देशक आशीष ठाकुर भन्छन्, ‘चुनौती हरेक क्षेत्रमा छ । तर, चुनौती छ भन्दैमा भाग्न मिल्दैन । चुनौतीभित्रै नेपाली विद्यार्थीलाई नेपालमै भविष्य दिलाउने हाम्रो प्रयास हो, हामी यसमा सफल पनि हुन्छौं ।’

ठाकुरलाई अहिले भ्याइनभ्याइ छ । कलेज म्यानेजमेन्टदेखि विद्यार्थी भर्नाको काम पनि जारी रहेकाले उनको समय दिनभर यसैमा बित्छ ।

भन्छन्, ‘नयाँ कुरा सुरु गर्दा गाह्रो हुन्छ, गेटमा गार्ड हुनुपर्‍यो, शिक्षक हुनुपर्‍यो, विद्यार्थी हुन पर्‍यो । यो व्यवस्था गर्न धेरै वर्ष कुर्नुपर्‍यो, अहिले हामीले कलेज सञ्चालनको लागि अनुमति पनि पाइसकेका छौं, अहिले विद्यार्थीहरूको भर्ना प्रक्रिया जारी छ । अब अर्को हप्तादेखि कक्षा सञ्चालन गर्ने योजना छ ।’ 

ग्लोकलका अध्यक्ष तथा कलेजका कार्यकारी निर्देशक आशीष ठाकुर । तस्बिर : नरेश बोहोरा/विकासन्यूज

किन राेज्ने इम्बार्क कलेज ?

नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरू दिने कलेज नेपालमा करिब ६० को हाराहारीमा छन् । इम्बार्कले पनि युनिभर्सिटी अफ रोह्याम्प्टन लन्डन (युके)बाट मान्यता लिएको छ ।

इम्बार्क कलेज नै विद्यार्थीले केका लागि रोज्ने भन्ने प्रश्नमा ठाकुर भन्छन्,  ‘यो कलेजले सीप र उद्यमशीलतालाई बढी जोड दिएको छ । यो कलेजले विद्यार्थीले रोज्नुपर्ने दुई-तीनवटा कारण छ । पहिलो कुरा पढाइ कस्तो हुन्छ विद्यार्थीले यो कुरा सोच्नुपर्छ, त्योभन्दा बाहेक यो कलेजले मलाई के दिन सक्छ भन्ने कुरा सोच्नुपर्छ । आजको पढाइ भनेको शिक्षकले कक्षामा आएर यो विषय यसरी पढ्नुहोस्, यो बेला परीक्षा हुन्छ, यसको लागि तयारी गर्नुहोस् भन्नको लागि होइन ।’

नेपाली विद्यार्थी अहिले नेपालबाट बाहिर गएको कुरा सबैलाई थाहा छ । यसका पछाडि केही कारण पनि छन् । जस्तै- समयमा परीक्षा नभएको, रिजल्ट नआएको यस्तै …। यो कलेजले अन्तर्राष्ट्रिय युनिभर्सिटी अफ रोह्याम्पटन युकेसँग साझोरी गरेको छ, जुन एक हजार र्‍याङ्किङभित्र छ ।

यसले विगतदेखि नै अनुसन्धान, विद्यार्थीको अनुभव र रोजगारीमा काम गरिरहेको छ । शिक्षाको सबैभन्दा ठूलो आउटकम भनेको रोजगारी हुनुपर्छ । कि रोजगार कि स्वरोजगारमा  विद्यार्थी  जानसक्ने अवस्था हुनुपर्छ भन्ने यो कलेजको मुख्य उद्देश्य हो । 

कलेजमा रहेको बीएससी बिजनेस म्यानेजमेन्ट कार्यक्रमलाई एप्लाइड एजुकेशनको रूपमा हेरिएको छ । संसारभरि बिएससी भन्ने कोर्सलाई मान्यता दिइएको छ । रोजगारदाताले आवश्यकताअनुसारको दक्ष जनशक्ति पाउन नसकेको गुनासो आइरहन्छ भने विद्यार्थीले जागिर पाउन नसकेको गुनासो गरिरहेका छन् । नेपालमा सीप भएका व्यक्ति खोज्न गाह्रो छ तर, सर्टिफिकेट भएका मान्छे खोज्न सजिलो छ ।

अब इम्बार्क कलेजले हरेक पाठ्यक्रमलाई सीपयुक्त बनाउने ठाकुरको दाबी छ । ठाकुर भन्छन, ‘जनरल एकेडेमिकल कोर्स पढ्दा विद्यार्थीले एक्स्ट्रा करिकुलम एक्टिभिटीबाट  सिकेका सीपलाई अप्लाई गरेर बेस्ट आउटकम विद्यार्थीका लागि फोकस गरिएको छ ।’ 

यहाँ हरेक विद्यार्थीले प्रोफेसनल काम गर्नैपर्छ भन्ने मान्यता छ । ‘एमबीए वीथ प्लेसमेन्ट’ हुनुपर्छ भन्ने तरिकाले काम गरिरहेको ठाकुरले बताए । ‘विद्यार्थीलाई कक्षाकोठाभित्र पढाएर मात्र होइन, उसलाई चाहिने इन्फास्ट्रक्चर पनि हामीले बनाएका छौं,’ उनी भन्छन्,  ‘यो हाम्रो पहिलो प्रयास हो, धेरै कुराहरूलाई अझै राम्रो बनाउदै जान्छौं, तर अहिले यो सुरुवात गर्दा हामीले विद्यार्थीलाई उद्यमशीलता मानसिकताको लागि प्रवर्द्दन  र सँगै सीपयुक्त बनाउने ता कि उनीहरू जब मार्केटमा जाँदा रोजगार दिने व्यक्तिले उनीहरूलाई फेरि तालिम गरिरहन नपरोस् अथवा इन्टर्नसीप गर्न नपरोस् ।’

रोजगारदातासँगै सहकार्य

यो कलेजले पढाउने मात्र होइन । कलेजमा पढिरहेका र पढिसकेका व्यक्तिलाई रोजगारको अवसर पनि प्रदान गर्ने छ ।  यसका लागि कलेजले धेरै उद्योगहरूसँग सहकार्य गरिरहेको छ ।

जहाँ विद्यार्थीलाई कलेज पढिराख्दादेखि नै जब प्लेसमेन्टका कुरामा सहयोग गरिने छ ।  ठाकुरले नेपालका प्रतिष्ठित व्यवसायीहरू नै यो कलेजको सल्लाहकार समितिमा रहेको बताए । अहिले शिक्षा र बजार दुवैसँगै आउनुपर्ने आवश्यकता छ ।

‘शिक्षा दिइसकेपछि त्यो मान्छे बजार जान्छ र काम गर्छ, मान्छेले काम गरेर बिजनेस हुने हो,’ ठाकुर भन्छन्, ‘त्यो बनाउने जिम्मेवारी शैक्षिक संस्थाको हो, र यसमा उद्योगहरू पनि जिम्मेवारी हुनुपर्छ । ’

इम्बार्कले कोर्स बनाउँदा नै ग्लोबल इन्ड्रस्टी अनुसार बनाएको छ । कलेजले नेपालका विभिन्न उद्योगी व्यवसायीसँग बसेर छलफल गरेर कोर्स तयार पारेकाे छ । यसो गर्दा रोजगारदातालाई चाहने जनशक्ति र विद्यार्थीलाई आवश्यक पर्ने रोजगार सहज हुने कलेजको विश्वास छ । 

आईटी कार्यक्रम ल्याउने

अहिले दुइटा कार्यक्रममात्र सञ्चालन गरेको यो कलेजले अब कलेजमात्र नभइ स्कुलतह पनि खोल्ने लक्ष्य लिएको छ । ठाकुरका अनुसार तत्काल आईटीका कोर्सहरू पढाउन सुरु गर्ने तयारी छ । बजारलाई चाहिने आवश्यकताअनुसारको कोर्स कलेजले बिस्तारै सुरु गर्दै जाने उनले बताए । यसका लागि चाहिने आवश्यक कोर्स पनि इन्डस्ट्रीसँगै बसेर बनाउने तयारी छ ।

संसारभरिका विभिन्न शैक्षिक संस्था सर्टिफाइट एजेन्सीसँग बसेर सर्टटर्म कोर्सेज नेपाल भित्र्याउने तयारी पनि कलेजले गरिरहेको छ । जस्तो आइआइटी मद्रास भारतको सर्टकोर्स नेपालमा यो कलेजबाट लन्च गर्ने तयारी भइरहेको छ । ‘हामीले विद्यार्थीलाई चाहिने हरेक सीप, शिक्षा र अवसर कलेजले दिनसक्ने यही हो,’ उनी भन्छन्, ‘तर यसमा गर्न सक्ने नसक्ने जिम्मेवारी विद्यार्थीको हो ।

विद्यार्थीले हरेक कुरा सिक्दै जान्छन् । जस्तै एउटा बच्चा जन्मेको केही वर्षपछि  किन्डर गार्डेन जान्छ । उसले प्लेग्रुपमा केही कुरा सिक्छ । त्यसपछि स्कुलभित्र केही कुरा सिक्छ । प्लस टुमा केही कुरा सिक्छन् र पछि स्नातक तह पढ्न आउँछन् । यो सबै उसले पास गरेको खुड्किलाे हो । तर यहाँ कतिपय चिज उसले राम्रो नपाएको हुन सक्छ । त्यसको लागि यो कलेजले विद्यार्थी लिँदा अन्तवार्ता लिने, एट्टिच्युड टेस्ट गर्छ ।यो कलेजले अलि नवीनतम सोच्न सक्ने, उत्सुकता राख्ने खालका विद्यार्थी हेर्छ ।

सबैका लागि उत्कृष्ट कलेज

नेपालमा शिक्षा विभेदकारी भएको बहस बेलाबेला उठ्दै आइरहेको छ । आर्थिक अवस्था राम्रो भएको व्यक्तिले पैसा तिरेर शिक्षा किन्न सक्छ भने पैसा नभएकाहरूले चाहेर पनि राम्रो शिक्षा पाइरहेका छैनन् ।

आशीष ठाकुर यो कलेजले पढ्न र सिक्ने इच्छा भएका विद्यार्थीलाई अवसर दिने बताउँछन् । नेपाल सरकारले भनेको १० प्रतिशत विद्यार्थीलाई छात्रवृति दिने नियमअनुसार यस्ता विद्यार्थीलाई छात्रवृत्तिमा समावेश गर्ने कलेजको योजना छ ।

यसका लागि कलेजले मापदण्ड पनि बनाएको छ ।

महत्त्वपूर्ण भनेकै सीप

शिक्षामा सीप आवश्यक छ । केही वर्ष पहिले ठाकुर आवद्ध ग्लोकल कम्पनीले एउटा रिसर्च गरेको थियो । जहाँ नेपालमा दिनको ६ सय वटा जबको विज्ञापन पत्रिकामा आउँदा, त्यसको ६० प्रतिशत विज्ञापन तीन पटकसम्म पुन: छापिएको पाइएको थियो ।

यसले नेपाली शिक्षा र बजारमा कति ठूलो खाडल छ भन्ने कुराको उदाहरण दिँदै ठाकुरले भने, ‘हामीले पढाइराख्दा परीक्षाको लागि पढाउँछौं, अब यो कुरा हट्नुपर्छ । कुनै विद्यार्थीले ५०, ६०, ७० प्रतिशत ल्याउँछ भने ठीक छ तर त्यो विद्यार्थीले सीप सिकिरहेको छैन भने ठीक छैन ।’

उनी प्रतिशतभन्दा सीप महत्त्वपूर्ण रहेको बताउँछन् ।

सीप भन्नेबित्तिकै जहिले पनि ब्लुकलर स्किलको मात्र कुरा आउँछ । तर बिजेनस पढिरहेका  विद्यार्थीलाई पनि सीप चाहिन्छ, कम्युनिकेसन स्कल आवश्यक पर्छ । रिसर्च गर्नेदेखि लिएर लेख्ने,  डाटा राख्नुका साथै एआईको पनि सीप चाहिन्छ । यो सबै कुरा विद्यार्थीलाई दिन सक्नुपर्ने ठाकुरको भनाइ छ । उनी भन्छन्, ‘हुन सक्छ यो कुरा पाठ्यक्रममा छैन तर, किताबमा सिकेका कुरालाई विद्यार्थीले प्रयोग गर्न पाउनु पर्‍यो । यसको टुल भनेको सीप हो ।’

शिक्षामा धेरै कुरा गर्न बाँकी

नेपालमा अझै शिक्षा क्षेत्रमा धेरै कुरा गर्न बाँकी छ । नेपालमा शिक्षा दिइए पनि सीपसँग जोडिएको छैन । सीपलाई शिक्षासँग र शिक्षालाई रोजगारसँग जोड्न नसक्दा विभिन्न समस्या आइरहेका छन् । यो कामका लागि इम्बार्कको स्थापना गरिएको निर्देशक ठाकुर बताउँछन् ।

यसका लागि विद्यार्थी, अभिभावक र उद्योगको साथको आवश्यकता रहेको उनको भनाइ छ । नेपालमा अहिले रोजगार पनि सिर्जना भइरहेको छ  । ‘विद्यार्थी कक्षामा बसिराख्दा सकरात्मक सोच हुनुपर्छ, क्लासमा पढिराख्दा परीक्षाको लागि होइन, मैले कामका लागि पढ्दैछु भन्ने मानसिकता हुनुपर्‍यो, ‘ उनी भन्छन्, ‘हामीले यहीअनुसार शिक्षा दिने योजना गरेका छौं ।’ 

 चुनौती

अहिले हरेक क्षेत्रको व्यवसायमा उत्तिकै चुनौती छ । अझ शैक्षिक व्यवसायका कुरा गर्दा सित्तिमित्ति लगानी गर्ने आँट राख्न छोडिसकेको अवस्था छ । ठाकुरले विद्यार्थीले नेपालमा सोचेजस्तो शिक्षा र रोजगार नपाउँदा देश छोडिरहेका बताउँछन् । उनी अब नेपालमै पढ्न र गर्न सकिन्छ भन्ने अवसर बनाउनु पर्ने बताउँदै इम्बार्क कलेज यसको सुरुवात रहेको उल्लेख गर्छन् ।

कुनै पनि व्यवसाय गर्दा रिस्क हुन्छ । त्यो रिस्कलाई क्याल्कुलेट गरेर बढ्नुपर्ने हुन्छ । उनी  शिक्षा भन्नेबित्तिकै पूर्ण व्यवसाय नभएको भन्दै सामाजिक दायित्वको  हिसाबले पनि हेर्नुपर्ने बताउँछन्  ।

 ‘चुनौती छ, थाहा छ । यो थाहा पाएर नै बजारमा आएका हौं, चुनाैतीमै भएको बेला विद्यार्थीलाई के पस्कन सक्छौं भनेर यो क्षेत्रमा लागेका हाैं । अब हामीले दुई किसिमको शिक्षामा काम गर्नुपर्छ,’ उनी भन्छन्, ‘एउटा विद्यार्थीलाई फाप्ने शिक्षा हुनुपर्‍यो, अर्को मार्केटलाई फाप्ने शिक्षा हुनुपर्‍यो । यो दुई कुराको बीचमा हामीले बिजनेश गर्न सक्यौं भने अहिलेको जुन अवस्था छ यसमा हामीले काम गर्न सक्छौं ।’ 

सम्बन्धित सामग्री : शिक्षा क्षेत्रमा शेखर गोल्छाको प्रवेश, माघदेखि सञ्चालन हुँदैछ इम्बार्क कलेज

Share News