एआईकेन्द्रित प्रोजेक्टमा व्यस्त आईएसएमटीमा अध्ययनरत विद्यार्थी, समाजको हितमा काम गर्ने लक्ष्य

<p>काठमाडौं । जनकपुरका जमाल राइन अहिले काठमाडौंको तीनकुनेमा रहेको आईएसएमटी कलेजमा अध्ययन गरिरहेका छन् । आईटी अन्तिम सेमिस्टरमा अध्ययनरत उनले बिहीबार एउटा प्रोजेक्टको &#8216;डेमो&#8217; सो गरे । साथीहरूसँग मिलेर बनाएको ‘फायर डिटेक्सन अर्लाराम सिस्टम’ नामक  प्रोजेक्ट थियो । जसको उद्देश्य कुनै ठाउँ अथवा भवनमा आगलागी हुनेबित्तिकै प्रहरी, एम्बुलेन्स, दमकल, अग्निनियन्त्रकलाई एकै पटक ३० सेकेन्डमा जानकारी [&hellip;]</p>

काठमाडौं । जनकपुरका जमाल राइन अहिले काठमाडौंको तीनकुनेमा रहेको आईएसएमटी कलेजमा अध्ययन गरिरहेका छन् । आईटी अन्तिम सेमिस्टरमा अध्ययनरत उनले बिहीबार एउटा प्रोजेक्टको ‘डेमो’ सो गरे । साथीहरूसँग मिलेर बनाएको ‘फायर डिटेक्सन अर्लाराम सिस्टम’ नामक  प्रोजेक्ट थियो ।

जसको उद्देश्य कुनै ठाउँ अथवा भवनमा आगलागी हुनेबित्तिकै प्रहरी, एम्बुलेन्स, दमकल, अग्निनियन्त्रकलाई एकै पटक ३० सेकेन्डमा जानकारी गराउनु हो ।  कुनै भवनमा आगलागी हुँदा कसरी छिटोभन्दा छिटो आगो निभाउने, आफूलाई जोगाउने, कसरी छिटो जानकारी पाउने भन्नेबारे जानकारी दिन यो प्रोजेक्ट बनाएका हुन्  ।

जमालले बनाएको प्रोजेक्टमा कुनै ठाउँ आगलागी हुँदा क्यामेराले फोटो खिच्छ । जहाँ क्यामरामा अग्नि नियन्त्रक, दमकल, प्रहरी, एम्बुलेन्स सबैको नम्बर, इमेल सबै सेट गरिएको हुन्छ । आगो लाग्नेबित्तिकै त्यो क्यामेराले फोटो खिचेर सबै निकायलाई एकै पटक सिग्नल दिन्छ ।

जसकारण सबै निकायले समयमै जानकारी पाउने र धेरै क्षति हुन पाउँदैन । यो प्रोजेक्टमा त्यो क्यामरा कहाँ राख्ने, नम्बर कसरी सेट गर्ने, उसले एकै पटक फोटो कसरी खिच्ने धेरै टेक्निकल पाटा छन् ।  

आफूले बनाएको प्रोजेक्टबारे जानकारी दिँदै उनले नेपालमा अहिलेसम्म यस्तो खालको टेक्निकल सिस्टम नभएको बताए । उनी पढाइसँगै अब यही प्रोजेक्टमा थप अध्ययन गरेर काम गर्न सक्ने बताउँछन् ।

‘अहिले हामीले बनाएको भनेको डेमो हो, हामीले यसैमा काम गर्न पनि सक्छौं, यसका लागि शिक्षक, साथीभाइहरूको सल्लाह लिँदैछौं,’ उनी भन्छन्, ‘हामी यो विषयमा थप नयाँ कुरा खोजिरहेका छौं ।’ 

उनी यो प्रोजेक्ट लागू गर्न सक्ने हो भने नेपालमा हुने आगलागीबाट हुने धेरै क्षतिलाई रोक्न सक्ने बताउँछन् । 

यो विषयमा जमाललाई चौथो सेमेस्टरमै पढाइ हुँदा एकजना शिक्षकले आइडिया दिएका थिए ।  त्यही आइडियाले प्रोजेक्ट तयार पारेको उनी बताउँछन् । जमालको प्रविधितर्फ यति रुचि छ कि उनी जनकपुरबाट आइटी कलेज खोज्दै काठमाडौं पुगे । प्लस टुमा कम्प्युटर साइन्स लिएर जनकपुरमै अध्ययन गरेका उनी आईटी पढ्न काठमाडौं आएको बताउँछन् ।

जमाललाई कम्प्युटर विषय पढ्न र त्यसमै काम गर्न रमाइलो लाग्छ । कम्प्युटरको माध्यमबाट नयाँ आइडिया लिएर आईटी क्षेत्रमै केही गर्ने चाहना उनको थियो । आफ्नो लागि उत्तम कलेजका रूपमा आईएसएमटी छनोट गरेका अब आइटीमै मास्टर्स गर्न विदेश जाने योजनामा छन् । 

‘म काम गर्न नेपालमै आउँछु, विदेशमा पढ्नमात्र जान्छु,’ उनी भन्छन्, ‘अब पढाइ सकिँदैछ, एक-दुई वर्ष यतै इन्टर्नसिप गर्छु, त्यसपछि थप ज्ञान लिन बाहिर जान्छु ।’

अहिले मार्केटमा एआईको  राज नै चलेको छ । शिक्षा, स्वास्थ्य, प्रविधि हरेक क्षेत्रमा एआईले काम गरिरहेको छ । विदेश गएर एआईकै विषयमा पनि अध्ययन गर्ने उनको योजना छ । 

जनकपुरका विकास साहको योजना पनि जमालकै जस्तो छ । यो प्रोजेक्टको आइडियामा उनको पनि हात छ । उनी पनि प्लस टु जनकपुरमै पढेर आईएसएमटीमा अध्ययन गरिरहेका छन् । सँगै पढेको काम पनि सँगै मिलेर गर्ने योजना रहेको बताउँछन् ।

गोदावरीकी दिव्या थापा अहिले आईएसएमटी आईटी पहिलो सेमेस्टर अध्ययन गरिरहेकी छिन् । उनलाई एपहरू कसरी मनाइन्छ, यसलाई कसरी निर्माण गरियो जस्ता कुरामा उनलाई जान्न मन लाग्छ । उनी यो विषयमा शिक्षकसँगै सिनियर साथीहरूसँग पनि चासो राख्छिन् । उनलाई पनि अहिलेको सबैभन्दा आवश्यक र नभइ नहुने क्षेत्र आईटी लाग्छ । 

दिव्या यही विषयमा अध्ययन गर्न एक वर्ष ड्रप गरेको बताइन् । ‘प्लसटु पढें, योभन्दा माथि कुन विषय रोज्दा राम्रो हुन्छ भन्ने बुझ्न एक वर्ष लाग्यो,’ उनी भन्छिन्,  ‘बुझ्दै जाँदा आईटी नै महत्त्वपूर्ण लाग्यो, मेरो सीप, ज्ञानअनुसार मैले यो विषय रोजेकी हुँ ।’

उनले पनि साथीहरूसँग मिलेर एउटा अनलाइन प्रोजेक्ट बनाएकी छन् । अहिलेको समय र युवाहरूको रुचिअनुसार ‘डेट विथ कोडर’ जहाँ युवायुवतीहरूले एकअर्कालाई डेट गर्न सक्छन् । 

यसका लागि उनीहरू दुवैजनाको गोपनीयता कायम राखी एकअर्कासँग भेट गराई डेट गर्न यसले भूमिका खेल्छ । यसको लागि छुट्टै वेबसाइट निर्माण गरी प्रोजेक्ट बनाएको उनले सुनाइन् । उनले बनाएको यो प्रोजेक्टको डेमो सो गरेकी छिन् । उनी साथीहरूको सल्लाहअनुसार यसलाई बजारमा ल्याउन पनि सकिने बताउँछन् ।

दिव्यालाई नेपालमै पढेर प्रोजेक्ट निर्माण गरी काम गर्ने रुचि छ । उनी यसका लागि नेपालकै कम्पनीका इन्टर्नसिप गरेर आफै केही गर्ने योजनामा छिन् । ‘एकैचोटि आफै केही गर्छु भन्न सकिँदैन,’ उनी भन्छिन्, ‘नेपालमा धेरै कम्पनी छन्, पहिले त्यहाँ काम गरेर अनुभव लिन्छु, त्यसपछि आफै केही गर्नुपर्छ ।’

बाराको सिमराका विशाल भट्टराई आईएसएमटी आईटी दोस्रो सेमिस्टरमै अध्ययनरत छन् । उनलाई फाइनान्स पढेर मार्केटमा काम गर्न रुचि थियो । तर उनले बुझ्दै गएपछि फाइनान्सभन्दा आईटी पढ्न मन लाग्यो । ‘अहिलेको जमाना आईटी रिलेटेड छ, हिजोको दिनमा एआई केही थिएन,’ उनी भन्छन्, ‘अहिले मार्केटमा एआई आएको छ, यो आउनुको कारण भनेकै टेक्नोलाेजीको विकास हो, मलाई पनि रुचि लाग्यो र यतातिर लागें ।’ उनले साथीहरूसँग मिलेर लाइन फलोविङ रोबोट बनाएका छन्  । 

उनका अनुसार आइटीमा सबैभन्दा चाहिने भनेको सीप हो । सीप भयो भने कामको लागि कार्यालयमै धाउन नपर्ने उनको अनुभव छ । ‘सीप भयो भने विभिन्न व्यक्ति कम्पनीसँग मिलेर काम गर्न सकिन्छ,’ उनी थप्छन्, ‘घरमै बसेर पनि काम गर्न सकिन्छ, काम गर्न भन्दै कार्यालयमा धाइराख्न पर्दैन ।’

बिहीबारदेखि सुरु भएको एक्सपोमा विद्यार्थीले बनाएको प्रोजेक्टको अन्य कलेजका विद्यार्थी र विभिन्न राजनीतिहरूले अवलोकन गरेका छन् । सबैजसो प्रोजेक्ट निकै आवश्यक रहेको उनीहरूले बताएका छन् । 

आइटीका विद्यार्थीलाई नेपामै अवसर

विद्यार्थीले बनाएका प्रोजेक्टका अवलोकन विद्यार्थीमात्र नभई राजनीति क्षेत्रमा लागेकाहरूले समेत गरेका छन् । कांग्रेस नेता सशांक कोइरालाले विद्यार्थीको बौद्धिकता र क्रियाशील देखेर खुसी लागेको बताए ।

उनले कम्प्युटरको माध्यमबाट बनाएका प्रोजेक्टहरू देख्दा भविष्य उज्जवल रहेछ भन्ने अनुभूति भएको बताए । ‘उहाँहरूको क्षमता देख्दा मलाई खुसी लाग्यो,’ उनले भने, ‘नेपालको भविष्य अब उहाँहरूजस्तै युवाले सुरक्षित राख्छन् भन्ने अनुभव भयो ।’

नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थीले बनाएको इनोभेसनको प्रशंसा गर्दै नेपालको विद्यार्थी आन्दोलन नयाँ ढंगले परिमार्जन गरी मार्केटसँग जोड्ने नीति बनाउनुपर्ने बताए ।

उनले जसरी अहिले पर्यटन, कृषिलाई मुख्य आधार मानिएको छ, त्यसैगरी अब  आइटी इन्ड्रस्टिजलाई पनि मान्नु पर्ने बताए ।  उनले भने, ‘जति चाँडो नेपालका युवाले, सरकारले यो क्षेत्रलाई क्याच गर्न सक्छ, यो विषयमा नीति नियम बनाउन सक्छ, त्यति चाँडो नेपालको सम्वृद्धि हुने सम्भावना हुन्छ ।’

एकीकृत समाजवादीका युवा नेतृ रामकुमारी झाँक्रीले आइटीमा नेपालले पनि फड्को मारिरहेको बताइन् । उनले आइटी पढाउने केही कलेजले जसरी काम गरिरहेका छन्, उनीहरू नै समाजको लागि रोल मोडल भएको बताइन् ।

विद्यार्थी नेपालमै पढ्ने, यही रोजगार उत्पादन गर्ने अवस्था बिस्तारै देखिएको बताउँदै झाँक्रीले आइटी बिजनेस भित्रको रोजगारी सिर्जना आफै  हिँड्न थालेको बताइन् ।

‘संसार कता जाँदैछ, कुन क्षेत्रले फड्को मार्दैछ भन्ने सोच्ने मान्छेले आइटी र त्यसमा पनि एआई कन्टेन बनाउन लागेका छन्,’ उनी भन्छिन्, ‘फस्ट, सेकेण्ड सेमिस्टरको भाइबहिनीले यति राम्रो प्रोजेक्ट सिर्जना गरेका छन्, सबै प्रोजेक्टको आ-आफ्नै ठाउँमा महत्त्व छ।’ 

बर्सेनि गर्छ कलेजले एक्सपो

तीनकुनेमा रहेको आईएसएमटी कलेजले हरेक वर्ष यस्ता एक्सपो गर्दै आएको छ । अहिलेको एक्सपो आइटी विषयमा अध्ययनरत विद्यार्थीका लागि केन्द्रित रहेको कलेजले जनाएको छ । विद्यार्थीले कक्षाकोठामा पढेको ज्ञानलाई व्यहारमा लागू गर्न कलेजले हरेक वर्ष यस्तै एक्स्पो बर्सेनि गर्दै आएको छ ।

आइएसएमटीका बिजनेस डेभलपमेन्ट हेड वासुदेव वस्तीले विद्यार्थीले बनाएका एआईदेखि लिएर हार्डवेर, सफ्टवेरका प्रोजेक्टहरू डेमोसेसन गर्न एक्सपो गरिएको बताए  । नेपालमा आईटी पढिरहेका विद्यार्थीले नेपालमा भविष्य कस्तो छ, आइटीको मार्केट कस्तो छ भन्नेबारे जानकारी लिऊन् भन्ने उद्देश्य पनि यसको रहेको उनले बताए । 

उद्योगका लागि शिक्षा

आइएसएमटीका प्रधानाध्यापक धुव्रबाबु जोशी उद्योगका लागि शिक्षा भन्ने फेलोसिफमै कलेज गाइडेड भएको बताए । अब आउने शिक्षा कस्तो हुनुपर्छ भन्ने जान्नका लागि विद्यार्थीले आफूले पढेको ज्ञान र सीपलाई आईटी उद्योगमा कसरी काम गर्ने, यो क्षेत्रमा भएका विषय र समस्या अनि अवसरलाई आफ्नो प्रोजेक्टमार्फत देखाएको उनको भनाइ छ ।

विद्यार्थीले बनाएका सबै प्रोजेक्ट प्रयोग गर्न लायक रहेको बताउँदै उनले धेरै विद्यार्थीले राम्रो प्रोजेक्ट ल्याएको बताए । ‘ विश्वबजारको मार्केट अहिले प्रविधि क्षेत्रमा गएको छ, तर हामी कहाँ अझै जान सकेको छैन,’ उनी भन्छन्, ‘अब यो क्षत्रलाई छिटोभन्दा छिटो बुझेर जानसक्यो भने अबको नेपाल नेपाली विद्यार्थीहरूले बनाउने छन् ।’ 

हाम्रो विद्यार्थीको रुचिअनुसार पाठ्यक्रमले उनीहरूको रुचिलाई अप्लाई गर्ने भएको हुँदा कलेजले वर्षमा दुई पटक यस्तो कार्यक्रम गरिरहेको बताए ।  ‘अस्ति गगनजीले आईटीसम्बन्धी बोल्नुभएको थियो, यो सही हो त्यसको अप्लिकेसन कीर्तिपुरको डाँडामात्र होइन, नेपालको कुनैपनि ठाउँबाट गर्न सकिन्छ,’ उनी भन्छन्,  ‘यसका लागि के गर्नुपर्छ भन्ने ठूलो प्रश्न छ ।’

नेपालमा अझै आइटी उद्योग फस्टाउन नसकेको बताउँदै प्रधानाध्यापक जोशी यसको अध्ययन गरेर यो किसिमको नीति बनाइ बाहिरका ठूला कम्पनीलाई नेपालमा ल्याइ नेपालमा रहेका विद्यार्थीलाई नेपालमै काम दिने व्यवस्था गर्नुपर्ने बताउँछन्  ।  यस्तो व्यवस्था गर्न सके नेपालमै उत्पादन भएका आइटी विद्यार्थीले लाखौं कमाउन सक्ने उनको भनाइ छ । 

Share News