काठमाडौं । सिन्धुपाल्चोकको कालामाराङकी सबिना धनुकी कक्षा १० सम्म गाउँमै पढिन् । एसईईपछि के पढ्ने, कहाँ पढ्ने, पढ्ने कि नपढ्ने भन्ने दोधारमा थिइन् । घरमा आर्थिक अवस्था राम्रो नहुँदा पढ्ने इच्छा भएपनि आशा मार्नुपर्ने अवस्था थियो । उनको गाउँमा अहिलेसम्म धेरै पढेका व्यक्ति भेट्न गाह्रो छ । केटाकेटी कक्षा ९-१० सम्म पढ्ने त्यसपछि कोही विदेश जाने त कोही बिहे गरी बस्ने चलन जस्तै बनिसकेको छ ।
सबिनाको गाउँमा भने अहिलेसम्म स्नातक र स्नातकोत्तर पढेको मान्छे छैन । सपनालाई आफ्नो दैनिकी अरू दिदीबहिनीको जस्तै हुने पीर थियो । तर, उनले मनको एउटा कुनामा जसरी भएपनि कक्षा १२ सम्म पढ्ने भन्ने अठोट थियो । उनको परिवार आर्थिक रूपमा सक्षम थिएन । घरकी जेठी छोरी उनले नै सबै जिम्मेवारी बहन गर्नुपर्थ्यो ।
भनिन्छ नि- आँट्नुपर्छ, आँटे सफल भइन्छ । सविनाको जीवनमा पनि यस्तै भयो । उनी गाउँमा अन्य केटाकेटीजस्तै बस्नु परेन । उनले पढ्ने अवसर पाइन् । उनलाई पढाउने व्यक्ति खोजी गर्दै उनको घरमा गए । अहिले उनी काठमाडौंको इस्लिङ्टन कलेजमा बीबीए अन्तिम वर्षमा अध्ययन गरिरहेकी छिन् ।
उनी भन्छिन्, ‘म यहाँसम्म पुग्छु सोचेको थिइनँ । तर, मलाई आइएनजीले यो सुन्दर अवसर दिलायो र अहिले म तपाईंसँग बोल्न सक्ने हैसियतमा पुगेकी छु ।’
कसरी पुगे सुलभ घरमै ?
सविना कक्षा ८ मा पढ्थिन् । स्कुलमा अङ्ग्रेजी पढाउने शिक्षकले एक दिन सबै विद्यार्थीलाई सोधे, ‘कक्षा १० सकेपछि तिमीहरू के बन्ने सपना छ, म सोधेर भिडियो बनाउँछु, कोही बाल्न चाहन्छौ ? ’ सविनाले हतपत हात उठाउँदै बोलिन् । उनले बोलेको कुरा शिक्षकले भिडियोसहित सामाजिक सञ्जालमा राखे ।
त्यो भिडियो माइ सेकेण्ड टिचरका सह-संस्थापक सुलभ बुढाथोकीको नजरमा पर्यो । देश बनाउन देशको शिक्षालाई जोड दिनुपर्छ, सबै विद्यार्थीले नेपालमै सीपमूलक शिक्षा पढेर नेपालमै केही गर्नुपर्छ भन्ने उद्देश्यले शिक्षा सुधारमा लागिरहेका सुलभ सिन्धुपाल्चोकमै पुगे ।

सविनाजस्तै आफ्नो सपना बताउने राम, लक्ष्मणको घरमा पनि उनी पुगे । उनको इच्छा, चाहना अठोट र पारिवारिक अवस्था थाहा पाएपछि उनीहरू चारै जनालाई पढाउने जिम्मेवारी उनैले लिए । परिवारको सहमतिमा उनीहरू काठमाडौं आए । उनी भन्छिन्, ‘भगवानले त आँट म पुर्याउँछु भन्छन् रे भन्ने सुनेको थिएँ, मेरो भेट सुलभ सरसँग भयो । त्यसपछि ममा पढ्न पाउने आशा झन पलायो।
एसईई पास गरिसकेपछि सविना र उनका साथीहरू काठमाडौं आए । उनलाई सुरुमा काठमाडौं आउँदा मनमा डर लागिरहेको थियो । उनको साथमा तीनजना केटा साथी हुँदा उनी एक्लै केटी थिइन् । ‘मनमा डर लागिरहेको थियो, तर जब काठ्माडौं पुगेर होस्टेलमा सुरक्षित तरिकाले बसें, त्यसपछि ढुक्क भएँ,’ उनी भन्छिन्, ‘पहिलो पटक गाउँ छोडी एक्लै आउँदा यस्तो डर लाग्नु स्वाभाविक थियो तर उनलाई सँगै अर्को डर लागेको थियो, अब कलेजमा कसरी जाने होला ?’
सविनाका लागि काठमाडौं ठाउँमात्र नयाँ थिएन, साथीभाइ कलेज, शिक्षक सबै नयाँ थिए । सरकारी विद्यालयमा पढेकी उनलाई अंग्रेजी कसरी सिक्ने भन्ने चुनौती पनि थियो । सुरुका दिन सम्झिँदै उनी भन्छिन्, ‘सर कक्षाकोठामा आउनुहुन्थ्यो, फररर अंग्रेजीमा पढाएर जानुहुन्थ्यो, केही बुझिँदैनथियो, एक-एक शब्द टिपेर त्यसको अर्थ खोज्नुप्रथ्यो, यतिसम्म कि स्कुलमा सरले पढाएको कुरा नेपालीमा लेखेर अंग्रेजीमा कसरी लेख्ने भन्ने कुरा सिक्नुपर्थ्यो ।’
पछि होस्टेलमा बस्दा सविनाको अरू साथीहरूसँग चिनजान हुँदै गयो । उनले साथीहरूबाट पनि सहयोग माग्न थालिन् । यसरी सिक्दा उनलाई बिस्तारै सहज हुँदै गयो । त्यसपछि उनमा म पनि सक्छु भन्ने आत्मविश्वास बढ्दै गयो । अहिले उनलाई अङ्ग्रेजी सजिलो लाग्छ । जेभियर इन्टरनेसनल कलेजमा प्लस टु पढेर अहिले उनी इस्लिङ्टन कलेजमा बीबीए अन्तिम वर्षमा अध्ययन गरिरहेकी छिन्।
सविनासँगै पढ्ने राम नेपाली, लक्ष्मण नेपाली र सीताराम थिङको कथा पनि यस्तै छ । उनीहरू पनि सविनाको जस्तै आजभन्दा ६ वर्ष अगाडि काठमाडौं आए । जेभियर इन्टरनेसनल कलेजमै उनीहरूले इच्छाअनुसारको विषय रोजे । चारैजनाले कम्प्युटर साइन्स विषय पढ्ने निधो गरे ।
‘तर कम्प्युटर चलाउन आउँदैनथियो । गाउँमा सिक्ने अवसर पाइएन, देखेका मात्र थियौं, सुरुमा कसरी सिक्ने होला भन्ने पनि लागेको थियो,’ सीताराम भन्छन्, ‘तर सिक्दै जाँदा सहज हुने रहेछ ।’ उनलाई काठमाडौं आउँदा सुरुमा नयाँ ठाउँ, नयाँ साथीहरू कसरी बस्ने भन्ने पीर लागेको थियो तर, उनले आफ्नो आँट यथावत राखे । उनले कक्षा ११ र १२ मा कम्प्युटर साइन्स लिएर पढे । गाह्रो त थियो नै, अङ्ग्रेजी आउँदैनथियो, कम्पयुटर देखेको मात्र थिए तर मिहिनेत गरेर प्लस टुमा ए प्लस नै ल्याएर पास गरे ।
चारैजनाले राम्रो नतिजा ल्याएपछि उनीहरू इस्लिङ्टन कलेजमा आए । उनीहरूको थप फरक अनुभव भयो । यहाँ त कलेजमै हल, क्याफे पनि थियो । सबैले आ-आफ्नो अनुभव बताए । उनीहरू चारैजनाले कम्प्युटर साइन्स रोजे पनि चलाउन भने पाएका थिएनन् । इस्लिङ्टन कलेज आएपछि उनीहरूको पहिलो सेमिस्टर कम्पयुटर सिक्दैमा बित्यो ।
अगाडि गएर बोल्ने बानी थिएन, यहाँ त प्रिजेन्टेसन प्रस्तुत गर्दा अगाडि जानुपर्थ्यो, कतै बिग्रन्छ कि भन्ने लागेको थियो, डराइडराइ बोल्थ्यौं तर, अहिले सब नर्मल लाग्न थालिसकेको छ,’ उनीहरू चारैजना भन्छन्, ‘आइटी पनि सुनेका थिएनौं, आज आएर आफै पढेका छौं ।’ उनीहरू चारैजना अहिले पढ्दै काम गर्न थालेका छन् ।
खुसी अभिभावक
जसोतसो कक्षा १० सम्म स्कुल पठाउन सकेका अभिभावकहरू छोराछोरी यहाँसम्म पुग्छन् भन्ने सोचेका समेत थिएनन् । इस्लिङ्टन कलेजमा आइटी पढाउने हैसियत परको कुरा थियो । तर अहिले तिनै छोराछोरी यहाँसम्म पुग्दा उनीहरूसँग खुसी व्यक्त गर्ने शब्द नै छैन ।
सोमबार इनोभेटिभ नेपाल ग्रुप (आइएनजी)ले गरेको पत्रकार सम्मेलनमा उनीहरू चारैजनाका अभिभावक पनि पुगेका थिए । सविनाका बुवा धनबहादुर धनुक पनि अहिले खुसी छन् । छोरीलाई पढाइ नसकेर आफ्नोजस्तै जिन्दगी बन्छ कि भन्ने पीरमा रहेका उनी अहिले छोरीले काठमाडौं आएर पढ्न पाउँदा खुसी छन् ।
छोरीसँगै सोमबार याक एण्ड यति होटेलमा भेटिएका उनी अब छोरीले आफ्नोमात्र नभइ पछाडिका भाइ बहिनीको पनि भष्यिष उज्यालो परेको बताए । विकासन्यूजसँग कुरा गर्दै उनले भने, ‘पहिले छोरीलाई पढाउन नसक्ने पीरमा थिएँ, अहिले छोरीले अर्को बहिनीलाई पनि यही पढाइरहेकी छिन्, मलाई निकै खुसी लागेको छ ।’
हामी नेपाली सक्षम छौं
नेपालको शिक्षा र प्रविधि क्षेत्रमा योगदान पुर्याउने एक उद्यमी हुन् सुलभ बुढाथोकी । उनले नेपालको शिक्षालाई समय सुहाउँदो बनाइ नेपाली युवालाई नेपालमै केही गर्न सकून् भन्ने उद्देश्य राखी नेपालमा शिक्षाको नयाँ अभियान सञ्चालन गरिरहेका छन् । सुलभ बुढाथोकी आइएनजी अध्यक्ष, माइ सेकेण्ड टिचरका संस्थापक तथा इस्लिङ्टन कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन् ।

सुलभ बुढाथोकी ।
नेपालको उच्च शिक्षाको क्षेत्रलाई आधुनिक बनाउन उनले देशव्यापी रूपमा ‘हामी नेपाली सक्षम छौं’ अभियान सञ्चालन गरिरहेका छन् । यही अभियानमा उनले आर्थिक अवस्था कमजोर भएका सिन्धुपाल्चोकका चार जना विद्यार्थीलाई सतप्रतिशत छात्रवृत्तिको सुविधा दिएका छन् ।
सोमबार विकासन्यूजसँग कुरा गर्दै बुढाथोकीले भने, ‘कसले भन्छ, नेपालमा केही छैन, विदेशमा सबै थोक छ, मात्र चाहना, इच्छा र अठोट हुनुपर्छ, नेपालमै सबै कुरा सम्भव छ । हामी यही कुरा प्रमाणित गरेर देखाउँदै आएका छौं ।’
बुढाथोकीले यो अभियानमार्फत सयौं विद्यार्थीले छात्रवृतिमा अध्ययन गरिरहेको बताए । २५ वर्षदेखि नेपाली शिक्षामा नवीनता ल्याउनुपर्छ भन्दै लागेका बुढाथोकीले यही अभियानमा १० हजारभन्दा बढी विद्यार्थी उच्च शिक्षा हासिल गरिरहेकाे जानकारी दिए । यसैगरी, आइटीतर्फ पनि १० हजार बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । यो अभियानमा १७ सय जना कर्मचारी आवद्ध रहेको उनको भनाइ छ ।
‘दुर्गममा जन्मेका बच्चा अहिले युकेमा रहेको विश्वविद्यालयको शिक्षा नेपालमै लिइरहेका छन्,’ बुढाथोकी भन्छन्, ‘चाहने हो भने नेपालमै गर्न सकिन्छ, कुनै पनि चुनौतीले यसलाई रोक्न सक्दैन ।’
उनी यसका लागि नेपालभरि नै पुगेर स्कुल कलेजमा गएर अवस्था बुझ्ने र अभिभावकसँग भेटेर छात्रवृत्ति दिने काम गरिरहेको बताउँछन् ।
बुढाथोकीले आफ्नो योजना नै नेपाली युवाहरूलाई नेपालमै रोक्ने देश विकास गर्ने, हामी अब्बल छौं, सक्षम छौं भन्ने प्रमाणित गरी नेपाललाई सम्वृद्धितर्फ पुर्याउने रहेको सुनाए । उनी यो लागू गर्न नेपालमा सम्भव भएको बताउँछन् । भन्छन्, ‘हाम्रो नेपाल बन्दैछ, पक्कै बन्छ, नेपालमा केही गर्न हुँदैन भन्ने भाष्य गलत हो ।’