काठमाडौं । बहुप्रतीक्षित पञ्चेश्वर आयोजनाको निर्माणस्थलमा कुनै काम सुरु भएको छैन। आयोजना निर्माणस्थलको आवासगृहमा ३ जना सुरक्षा गार्ड भेटिन्छन्। तर, उनीहरुको पनि अवकास भइसकेको छ।

पञ्चेश्वर विकास प्राधिकरण गठन भएकाले आयोजनाबाट नियुक्ति पाएका उनीहरु अवकाशमा परेका हुन्। ‘अढाइ दशक कुरेको भवनलाई बेवारिसे कसरी छाड्ने ?’ गार्ड जनक साउदले भने, ‘प्राधिरणले व्यवस्था नगरुन्जेल कुरेर बस्छौं, कुनै निकास आउला।’
तर स्थानीयलाई आयोजनाको काम अघि बढ्ला ? नबढ्ला अझै दोधार नै छ। ‘गत असारसम्म स्थानीयले केही न केही काम भएको देख्थे,’ साउदले भने, ‘कर्मचारी हटाएकाले आशंका उब्जाएको छ।’
उनले ०४४ मा बैतडीको पञ्चेश्वर ७ रोलघाट नजिकै आयोजनाको आवास गृह तथा आयोजना कार्यालय खुलेको बताए। स्थानीयले जीर्ण बन्दै गएका आयोजनाको साइट कार्यालय, माटो परीक्षणका लागि नेपाल र भारत दुबैतर्फ बनाइएका ५० मिटर लामो सुरुङ, पानीको बहाव नाप्ने गेजरिडर र बर्खामा नदी वारपार गर्ने ट्रलीबाहेकका संरचना देख्न पाएका छैनन्।