काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक स्थितिलाई पारदर्शी बनाउन र अनौपचारिक अर्थतन्त्रलाई औपचारिकतामा ल्याउन अडिटरहरूले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
नेपाल अडिटर्स एशोसिएशन नेपाल (अडान)को १९औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले देशभर रहेका ८ हजार अडिटरले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका हुन् ।
अनुचित आर्थिक गतिविधिमा अडानले कुनै सम्झौता गर्न नहुने बताउँदै देशको अर्थतन्त्र पारदर्शीता कायम गर्न भूमिका खेल्नुपर्ने उनले बताए ।
उनी भन्छन्, ‘अडिटरहरूले अलिकति आँखा झिम्क्याउँदा देश खतरामा पर्न सक्छ, त्यसैले कानुन पालनादेखि समग्र प्रणालीलाई चुस्त बनाउन लेखापरीक्षकले महत्वपूर्ण भूमिका खेलेका छन् र खेल्नुपर्छ ।’
उनका अनुसरा व्यवस्था बदलिएपछि सामाजिक र आर्थिक स्थिति बदल्न, अर्थतन्त्र चलायमान गर्न, मुलुकमा लगानीको वातावरण गर्न र जनतामा विश्वास दिलाउन अहिलेको सरकार गठन भएको हो । त्यसमा लेखापरीक्षकहरूले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ ।