काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालीहरु हरेक क्षेत्रमा प्रतिभाशाली र योग्य रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली विद्यार्थी र युवा पुस्ताले विभिन्न क्षेत्रमा कीर्तिमान कायम गरेको उल्लेख गर्दै नेपाली युवा अध्ययन, अनुसन्धान, खेलकुद लगायत सबै क्षेत्रमा प्रतिभाशाली रहेको बताए । आफू २०५१ सालमा रक्षामन्त्री बन्दा ‘कडा’ रुपमा प्रश्तुत भएको जानकारी दिए ।
यस्तै, उनले राजा वीरेन्द्रले तत्कालीन प्रधानसेनापतिलाई बर्खास्ती गर्न नचाहँदा पनि आफूले बर्खास्ती गरेको बताए । तत्कालीन प्रधानसेनापतिले भ्रष्टाचार गरेपछि बर्खास्त गर्नुपरेको बताए । सो सयमसम्म नेपाली सेनामा महिला भर्ती नगर्ने गरेको पनि स्मरण गरे ।
‘२०५१ सालमा रक्षामन्त्री भएपछि प्रधानसेनापतिलाई पनि सञ्चालन गर्नुपर्छ । प्रधानसेनापतिलाई जागिरबाट निकालिदिएँ । भ्रष्टाचार गरेको हुनाले । त्यो बेलामा राजा वीरेन्द्र थिए, वीरेन्द्रले भने एक पटक माफ दिइदिनुस् न त भने मैले भने माफी दिन सकिँदैन’, उनले भने ।
अध्यक्ष नेपालले विद्यार्थी अनुशासित भएर बस्नुपर्ने बताए । अनुशासित भएमात्रै राम्रो जीवनयापन गर्न सकिने जानकारी दिए ।