काठमाडौं । तीन तहको सरकारले कृषि क्षेत्रलाई प्रथामिकता नदिँदा कृषिजन्य उपजहरुको आयातमा वृद्धि हुँदै गएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । खाद्यका लागि कृषि अभियान र एशोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट (अनाज)को संयुक्त आयोजनामा गरिएको कृषिको समकालिन अवस्थामाथि पत्रकारहरुसँगको छलफल कार्यक्रममा बोल्दै सरोकारवालाले मुलुकमा भएको बढ्दो आयात र कृषिजन्य उपजको उत्पादनमा भएको कमिले गर्दा देशमा आर्थिक संकट पनि बढ्दै गएको बताएका हुन् ।
कार्यक्रममा बगमती प्रदेशकी सांसद विमला पोख्रेलले तीनै तहका सरकारले कृषि क्षेत्रलाई प्रथामिकता नदिँदा देशभित्र कृषिक्षेत्र संकटउन्मुख रहेको बताइन् । राजनीतिक विचारका कारणले गर्दा पनि कृषि क्षेत्रको विकास हुन नसकेको भनाइ उनको छ ।
पोख्रेलले भनिन्, ‘हाम्रो तीन तहका निकायमा विभिन्न राजनीतिक विचार भएका व्यक्तिहरु हुनुहन्छ । त्यसकारण एउटाले गरेको निर्णय अर्कोले खरोज गर्दा दिगो कृषि विकास भएको छैन्, यसलाई हामीले विचार गर्नुपर्छ ।’
टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले सरकारको दिगो योजना नहुँदा कृषि क्षेत्रमा भनेजस्तो प्रगाति नभएको बताए । उनले आजभन्दा ४० वर्षअघि सरकारले कृषि क्षेत्र र अवास क्षेत्रलाई वर्गीकरण गरेको भए कृषि उत्पादनमा वृद्धि हुने दाबी गरे । आम नागरिकलाई छिटोभन्दा छिटो सम्पन्न हुने हुटहुटी भएकाले कृषि क्षेत्रलाई कसरी अघि बढाउने भन्ने दिर्घकालिन सोच नराखेको उनको भनाइ छ ।
उनले भने, ‘स्थानीय तहहरुले कृषि क्षेत्रलाई मुख्य अधार बनाएर अघि बढाए देशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिन्छ र आयात समेत रोकिन्छ ।’
अधिकारीले राज्यले कृषि क्षेत्रतर्फ बनाउने नीतिमा समेत ध्यान नदिएको आरोप लगाए । उनले राज्यले कृषि क्षेत्र तर्फ बनाएका अधिकांश कानुनहरु कृषिको विकासको लागि बाधक हुँदा कतिपय स्थानीय तहहरुले सोच अनुरुप काम गर्न नसकेको बताए ।
नगरपालिको कृषियोग्य भूमि घोषणा गर्न जनतासँग सर्वेक्षण गरेको भएपनिजनताले आफ्नो टोखामा कृषियोग्य भूमि कम भएको जानकारी गराए ।
खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले कृषि क्षेत्रमा समस्याहरु विकारल रहेको बताउँदै अगामी दिनमा अझै ठूलो छलफलको आवश्यकता रहेको बताए । उनले वर्तमान सरकारले कृषि क्षेत्रलाई प्रथामिकतामा राखेर काम गरे देशको आर्थिक अवस्था समेत मजबुत हुने र आयात प्रतिस्थापन हुने दाबी गरे ।
‘हामीले कृषि क्षेत्रका समस्याहरुको बारेमा छलफल गर्छौ । तर, सरकारले यसलाई प्रथामिकतामा दिएको छैन । त्यसैले पत्रकार र अभियानको सहकार्यमा कृषिको विकासमा हातेमालो गर्न आवश्यक छ,’ उनले भने ।
राष्ट्रिय कृषक समुह महासंघका अध्यक्ष पंचकाजी श्रेष्ठले राज्यका तीन तहका सरकारले कृषि क्षेत्रलाई कम प्रथामिकता नदिँदा कृषिमा क्रान्ती नभएको बताए ।
तनहुँमा कृषि फार्म चलाउँदै आएका पूर्वपत्रकार नारायण वाग्लेले सरोकारवालाले किसानको मुद्दाको विषयमा वहस गरेर यसलाई निरन्तर दिन आवश्यक रहेको बताए ।
उनले भने, ‘किसानको मुद्दामा केन्द्रित हुन आवश्यक छ भने कृषिमा देखिएका समस्याहरुमा निरन्तर कलम चलाएर यस क्षेत्रमा देखिएको समस्याको समाधान गर्नतर्फ पहल गर्नुपर्ने अहिलेको आवश्यकता छ ।’
आफ्नो कृषि रिपोर्टिङको अनुभव सुनाउँदै वाग्लेले भने, ‘मैले ३० वर्षको पत्रकारितामा खाद्यान्नको समाचार लेखेर सम्मान हुने अवसर पनि पाएँ । तर, वास्तवमा मैले नै कृषि बिटलाई प्राथमिकता दिएको रहेनछु, अहिले आफैले फार्म चलाउँदा थाहा पाएँ कि किसानका पीडा कस्ता हुँदा रहेछन् ।’
कृषि विज्ञ कृष्ण प्रसाद पौडेलले स्थानीय स्रोत साधनमा आधरित परम्परागत एकिकृत खेती प्रणाीलाई उन्नत बनाउने मार्गचित्र मुख्य प्रस्थानविन्दु रहेको बताए । उनले मुलुकलाई आधारभूत खाद्यवस्तुमा आत्मनिर्भर बनाउने र तुलनात्मक लाभका कृषि उपजको प्रवद्र्धनबाट आयात प्रतिस्थापन, रोजगारी र आम्दानीमा वृद्धि गर्ने उद्देश्यमा केन्द्रित हुन समेत आग्रह गरेका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले मिडियाले विगतदेखि नै समाज परिवर्तनको भूमिका खेलेकाले कृषिमा पनि परिवर्तनको लागि भूमिका खेल्न आग्रह गरेका छन् । उनले तीन तहका सरकारमा अधिकार र कर्तव्य जाँदा कुन तहले के कुरामा प्रथामिकता दिएको छ भन्ने विषयमा समिक्षा गर्न समेत आवश्यक रहेको बताए ।
अनाजका अध्यक्ष किरण आचार्यले सञ्चारकर्मीहरुले कृषि क्षेत्रको विकासको लागि निरन्तर कलम चलाएको र अगामी दिनमा सरोकारवालाहरुसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले सञ्चारमाध्यमहरुले उठाएका विषयहरुले गर्दा कृषि क्षेत्रमा आमूल परिवर्तन भएको बताउँदै सञ्चारकर्मीको क्षमता विकासका लागि आगामी दिनमा यस्ता कार्यक्रमहरु निरन्तर गर्ने बताए ।