काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बाँकेकी निर्मला कुर्मीको हत्या आरोपित बादशाह कुर्मीलाई प्रदेशको मन्त्री बनाएकोमा विरोध जनाएका छन् ।
डा. केसीले प्रेस विज्ञप्ति जारी गरी बलात्कारका आरोपित बादशाहलाई मन्त्री बनाएर नेपाली कांग्रेसले दण्डहीनतालाई प्रशय दिएको बताएका छन् ।
‘केही दिनअघि लुम्बिनी प्रदेश सरकार गठनका वेला निर्मला कुर्मीको बलात्कार तथा हत्याका मुख्य आरोपी तथा सरकारद्वारा गठित छानबिन समितिले कारबाहीको सिफारिश गरेका बादशाह कुर्मीलाई मन्त्री बनाएर देशको सबैभन्दा पुरानो र लोकतान्त्रिक भनिने राजनीतिक दलले दण्डहीनतालाई अर्को उचाइमा पुर्याएको छ,’ केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
डा. केसीले बादशाहलाई तत्काल प्रदेशको मन्त्रीबाट हटाउन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘तुरुन्त बादशाह कुर्मीलाई प्रदेशको मन्त्रीबाट हटाएर उनीमाथि चलिरहेको छानबिन र अनुसन्धानलाई निष्पक्ष तथा तीव्र बनाउन हामी सरकारको तथा नेपाली कांग्रेस पार्टीको ध्यानाकर्षण गराउँछौं ।’
सँगै उनले संक्रमणकालीन न्यायको प्रक्रिया टुंग्याउन, पदाधिकारी नियुक्तिको मापदण्डका लागि ऐन बनाउन, एकीकृत प्रतिष्ठान सम्बन्धी ऐन जारी गर्न, गेटालगायत सबै प्रदेशमा सरकारी कलेज वा प्रतिष्ठान बनाउन, इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न सरकारसँग आग्रह गरेका छन् ।