सूर्योदय वोमी लघुवित्तको एफपीओमा २ अर्ब ३८ करोड रुपैयाँ संकलन, कतिले दिए आवेदन ?

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओमा साढे १६ लाख बढीले आवेदन दिएका छन् । लघुवित्तको एफपीओमा मंगलबार अन्तिमदिनसम्म १६ लाख ५६ हजार ८२६ जना लगानीकर्ताले २ करोड ३८ लाख ३७ हजार ९ सय कित्ताका लागि २ अर्ब ३८ करोड ३७ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परेको हो । उक्त आवेदन लघुवित्तले माग गरेको भन्दा ५१० गुणा बढी हो ।

लघुवित्तले साउन ४ गतेदेखि आज साउन ८ गतेसम्म ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले ४६ हजार ७२९ कित्ता सेयर बिक्री खुला गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने/गाभिनका लागि अन्तिम स्वीकृती पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीमा सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउन लघुवित्तले एफपीओ जारी गरेको हो ।

साविकको सूर्योदय लघुवित्त र वोमी लघुवित्त मर्जरपश्चात् बनेको सूर्योदय वोमी लघुवित्तको चुक्ता पुँजी ९१ करोड ७ लाख ८२ हजार रुपैयाँमा पुँजी संरचनामा संस्थापक समूहको ७०.३६ प्रतिशत र सर्वसाधारणको २९.६४ प्रतिशत कायम छ । सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउनुपर्ने भएकाले लघुवित्तले एफपीओ जारी गरेको हो ।

लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । केयर रेटिङ्ग नेपालले लघुवित्तलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

Share News