पर्साका संघीय कार्यालयको राजस्व २ खर्ब ७ अर्ब, खर्च १२ अर्ब

<p>वीरगञ्ज । संघीय सरकार मातहत रहेका पर्साका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ८६ करोड ८६ लाख ९९ हजार २ सय १७ रुपैयाँ रकम पुँजीगत खर्च गरेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार पर्सामा रहेका ५१ कार्यालयले गत आवमा कुल पुँजीगत बजेटमध्ये ७३.५० प्रतिशत खर्च गरेका छन् । पर्सा कोष [&hellip;]</p>

वीरगञ्ज । संघीय सरकार मातहत रहेका पर्साका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ८६ करोड ८६ लाख ९९ हजार २ सय १७ रुपैयाँ रकम पुँजीगत खर्च गरेका छन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार पर्सामा रहेका ५१ कार्यालयले गत आवमा कुल पुँजीगत बजेटमध्ये ७३.५० प्रतिशत खर्च गरेका छन् ।

पर्सा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक यज्ञराज उप्रेतीले गत आवको असारमा मात्र संघीय सरकार मातहतका ५१ कार्यालयले ४२ करोड ९८ लाख ७१ हजार १ सय ७० रुपैयाँ पुँजी खर्च गरेको बताए ।

‘पर्साका सरकारी कार्यालयको समग्रमा पुँजीगत खर्च सन्तोषजनक नै देखिन्छ,’ उनले भने । ती कार्यालयका लागि गत आवमा चालु खर्चतर्फ १० अर्ब ५९ करोड ४५ लाख ५० हजार ३ सय ६१ रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

गत आवमा चालुतर्फ विनियोजित रकममध्ये ९५.४५ प्रतिशत अर्थात् १० अर्ब १२ करोड १६ लाख ६९ हजार ४ सय ८६ रुपैयाँ खर्च भएको छ । कार्यालयका अनुसार गत आवको असारमा मात्र यहाँका सरकारी कार्यालयले चालु खर्चतर्फ १ अर्ब ३० करोड ६ लाख २ हजार ७ सय ८ रुपैयाँ खर्च गरेका छन् ।

५१ सरकारी कार्यालयले गत आवमा पुँजीगत र चालुतर्फ दुवै गरेर ११ अर्ब ९९ करोड ३ लाख ६८ हजार ७ सय ३ रुपैयाँ खर्च गरेका छन् ।

आव २०७९/८० मा पर्साका सरकारी कार्यालयका लागि १४ अर्ब १५ करोड ३७ लाख ८ हजार ३ सय ८७ खर्च भएको थियो । जसमध्ये चालु खर्चतर्फ १० अर्ब ५८ करोड ५३ लाख ३४ हजार १ सय ६८ रुपैयाँ खर्च भयो । आव २०७९/८० मा सरकारी कार्यालयले पुँजीगततर्फ ३ अर्ब ५६ करोड ८३ लाख ७४ हजार २ सय १९ रुपैयाँ खर्च गरेका थिए ।

प्रमुख कोष नियन्त्रक उप्रेतीले जिल्ला सरकारी कार्यालयले गत आव २०८०/८१ मा २ खर्ब ७ अर्ब १२ करोड ९३ लाख ९५ हजार ६ सय २५ रुपैयाँ राजस्व संकलन गर्न सफल भएको बताए ।

‘पर्सा जिल्लाका सरकारी कार्यालयले अघिल्लो आवभन्दा गत आवमा ६ अर्ब रुपैयाँभन्दा धेरै राजस्व संकलन गरेका छन्,’ उनले भने ।

कार्यालयले आव २०७९/८० मा २ खर्ब १ अर्ब ३९ करोड ८१ लाख १० हजार ८ सय ४२ रुपैयाँ राजस्व संकलन गरेका थिए ।

नियन्त्रक उप्रेतीले अघिल्लो आवभन्दा अर्थतन्त्रका सूचकमा सुधार आएकाले पनि राजस्व संकलनमा वृद्धि भएको बताए । ‘अघिल्ला वर्षभन्दा पनि भन्सार राजस्वमा सुधार आएको छ । विस्तारै अर्थतन्त्रका सूचकमा सुधार आएकाले पनि राजस्व बढेको देखिन्छ ।’

Share News