बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले सोमबार आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ उपधारा २ बमोजिम आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेसको समर्थनमा सोमबार अपराह्न आचार्यले प्रदेश प्रमुखसमक्ष मुख्यन्त्रीका लागि दाबी पेश गरेका थिए । उनले एमाले र कांग्रेसका गरी ५६ सांसदको हस्ताक्षर बुझाएका थिए ।
एमाले समर्थन फिर्ता लिएपछि नेकपा (माओवादी केन्द्र) बाट मुख्यमन्त्री बनेकाजोखबहादुर महराले आइतबार राजीनामा दिएका थिए । त्यससँगै आचार्यको मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो ।
८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । प्रदेश सभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन्।