नयाँ सरकारसँगै देशमा आर्थिक संकट हट्ने आम नागरिकको अपेक्षा

<p>काठमाडौं । संसदका दुई ठूला राजनीतिक दलको नयाँ सरकार बनेसँगै आम नागरिकहरुमा देश विकास कामले गति लिने अपेक्षा राखेका छन् । नेपाली काँग्रेस र नेकपा एमालेबीच असार १७ गते राति सत्ता समीकरण बनेको थियो । सत्ता समीकरण बनेसँगै आम नागरिक, उद्योगी, व्यवसायी, राजनीतिककर्मी र विभिन्न पेशा व्यवासायीहरु सरकारमा स्थायित्व कामय हुने र त्यसको परिणाम फलदायी [&hellip;]</p>

काठमाडौं । संसदका दुई ठूला राजनीतिक दलको नयाँ सरकार बनेसँगै आम नागरिकहरुमा देश विकास कामले गति लिने अपेक्षा राखेका छन् ।

नेपाली काँग्रेस र नेकपा एमालेबीच असार १७ गते राति सत्ता समीकरण बनेको थियो । सत्ता समीकरण बनेसँगै आम नागरिक, उद्योगी, व्यवसायी, राजनीतिककर्मी र विभिन्न पेशा व्यवासायीहरु सरकारमा स्थायित्व कामय हुने र त्यसको परिणाम फलदायी हुनेमा आश्वस्त छन् । देशका ठूला राजनीतिक दलहरुबीचको सत्ता समिकरणले राजनीतिक स्थायित्व दिने विश्वास आम नागरिकमा बढेको छ ।

मुलुकमा हरेक ४ देखि ६ महिनामा सत्ता समिकरण परिवर्तन हुँदा राजनीतिक अस्थिरता थियो । तर संसदमा प्रतिनिधित्व गर्ने दुई ठूला दलहरु नै मिलेर सरकार बनाएसँगै मुलुकमा देखिएको आर्थिक संकट समाधान हुने र उद्योग व्यवसायमा सहजता आउने अपेक्षा व्यवसायीको छ । एमाले र काँग्रेसको सत्ता समिकरणबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् ।

ओली नेतृत्वको सरकारले अर्थतन्त्रमा देखिएको शिथिलता र उद्योगी व्यवसायी तथा आम सर्वसाधरणमा देखिएको निरासा कम गर्न बोल्ड निर्णय लिन आवश्यक रहेको उनीहरुको भनाई छ । उद्योगी व्यवसायी तथा आम नागरिकले सरकार बनाएर पार्टीका सांसदहरुलाई मन्त्री बनाउन मात्रै समिकरण बन्न नहुने बताएका छन् । होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले एमाले—काँग्रेस मिलेर बनेको सरकार टिकाउ र स्थिर हुने व्यवसायीहरुको बुझाइ रहेको बताए । उनले स्थिर सरकार बनेकाले अब देशलाई आर्थिक रुपमा अघि बढाउन बोल्ड निर्णय लिनुपर्ने बताए ।

उनले वर्तमान सरकारप्रति मुलुकभरका व्यवसायीहरुमा एक किसिमको आशा पलाएको बताए । उनले सरकार बनाउन मात्रै समीकरण भएको भए त्यसबाट धेरै आशा भने राख्न नसकिने बताए ।

‘निश्चित पनि अंक गणितको हिसावले हेर्दा दुई ठूला दल मिलेर सरकार बनेको छ । यो सरकार अलिकति टिकाउ र स्थिर सरकारको रुपमा रहन्छ भन्ने व्यवसायीहरुको बुझाइ हो, व्यवसायीहरुमा एक किसिमको आशा पलाएको छ । सरकार बनाउन मात्रै समीकरण भएको भए त्यसबाट धेरै आशा राख्न सकिँदैन’, उनले भने ।

वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाईंले आर्थिक रुपमा सुधार हुने आशा रहेको बताए । उनले जनताले परीक्षण गरेका दल भएकाले विगतमा गरेका कामले धेरै आशा गर्ने अवस्था नभएको जानकारी दिए ।

उनले भने ,‘जहिले पनि नेपाली जनताले आशाको दियो बोकेर हिँडेको हुनाले गठबन्धन दुई ठूला दलको भएपनि यि पार्टीहरु विगतका वर्षहरुमा पनि हेरिरहेको हो । यि दुई मिलेर राम्रो गर्छन् की भन्ने आश छ तर विगतमा पनि हेरिकाले आशा कम छ ।’

वीरगञ्ज वाणिज्य संघका उपाध्यक्ष माधवराज पालले मनोबल खस्किएको निजी क्षेत्रमा नयाँ सरकार बनेसँगै आशा जागेको बताए । उनले विगतमा पार्टी सानो दलको र सरकार चलाइरहेकाले अस्थिरता भएको भन्दै अब दुई ठूला दल मिलेर बहुमतको सरकार बनेकाले राम्रो हुने अपेक्षा रहेको बताए । मौद्रिक नीतिबाट निजी क्षेत्रको मनोबल उकास्न आवश्यक रहेको जानकारी दिए ।

उनले भने,‘केही वर्षदेखि नेपालमा सरकार फेरिने र अस्थिरतामा जाँदा आर्थिक क्षेत्र धराशायी अवस्थामा छ । निजी क्षेत्रको मनोबल खस्किएको छ । दुई ठूला पार्टी मिलेर सरकार बनाएसँगै आश देखिएको छ । मौद्रिक नीतिबाट निजी क्षेत्रको मनोबलबारे जानकारी हुन्छ । काम नहुँदा निर्माण व्यवसायीहरु धराशायी छन् । आउने दिनमा राम्रो हुनेछ ।’

चिकित्सक, वीरगञ्ज सामुदायिक आँखा अस्पतालका चिकित्सक महेशसिंह धामीले पनि पछिल्लो दुई वर्षमा अहिलेसम्मकै स्थायी सरकार बनेको बताए । उनले स्थायी सरकार बन्ने बित्तिकै धेरै कुरा सहज हुने आशा पलाएको बताए । उनले नयाँ सरकार बनेसँगै सबै क्षेत्र उत्साहित देखिएको बताए । सरकारमा स्थायित्व भएसँगै जनता, उद्योगी र व्यवसायीमा उच्च मनोबल बढेको र आर्थिक सबलीकरण हुने अपेक्षा रहेको जानकारी दिए ।

उनले भने,‘पछिल्लो दुई वर्षमा अहिलेसम्मकै स्थायी सरकार बनेको छ । स्थायी सरकार बन्ने बित्तिकै धेरै कुरा सहज हुन्छ । धेरै सम्भावना हुन्छन् । सरकारमा स्थायित्व भएसँगै जनता, उद्योगी र व्यवसायीमा उच्च मनोबल हुन्छ । उच्च मनोबलका समयमा आर्थिक सबलीकरण हुन्छ ।’

जनमत पार्टी, पर्सा जिल्लाका अध्यक्ष ओमप्रकाश सर्राफले आर्थिक संकटदेखि हरेक क्षेत्रमा बेथिति, हरेक क्षेत्रमा निराशा भएको अवस्था दुई ठूला दल मिलेर सरकार बनेकाले आशा धेरै पलाएको बताए । काँग्रेस र एमाले मिलेर देशमा दिगो शान्ति र स्थायित्व दिनसक्नु पर्ने बताए । उनले स्थिर सरकार हुँदा देशको आर्थिक स्थिति सुदृढ हुने अपेक्षा रहेको जानकारी दिए ।

उनले भने, ‘देश अहिले एकदमै विषम परिस्थितिमा थियो । आर्थिक संकटदेखि हरेक क्षेत्रमा बेथिति, हरेक क्षेत्रमा निराशा थियो । लामो समय सरकार चलेपछि देशको आर्थिक स्थिति सुदृढ हुन्छ । सरकारको स्थायित्व हुन नसक्दा भ्रष्टाचार र बेथिति बढे । अब बेरोजगारी, निराशा, आर्थिक संकट हट्नेछ भन्ने आश छ ।’

उनले सरकारको स्थायित्व हुन नसक्दा भ्रष्टाचार र बेथिति बढेकाले अब बेरोजगारी, निराशा, आर्थिक संकट हट्नेछ भन्ने आश रहेको जानकारी दिए ।

Share News