काठमाडौं । नेपाली सेनाका सकल दर्जा, अवकाश प्राप्त सैनिक र आश्रित परिवारको बृहत् हितका लागि स्थापित सैनिक कल्याणकारी कोषमा गत असार मसान्तसम्म ७५ अर्ब ९० करोड ८८ लाख रुपैयाँ नगद मौज्दात रहेको सेनाले जनाएको छ ।
सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा सैनिक कल्याणकारी निर्देशनालयका निर्देशक सहायक रथी किरण केसीले २०८० असार मसान्तमा कोषको नगद मौज्दात ७१ अर्ब ५ करोड ६१ लाख रुपैयाँ रहेकामा यस वर्ष ४ अर्ब ८५ करोड रुपैयाँ वृद्धि भएको जानकारी दिए ।
कोषअन्तर्गतका विभिन्न निकायमा गत असार मसान्तसमम गरिएको लगानी ६ अर्ब ७९ करोड ८६ लाख (लेखापरीक्षण अगावै)लाई समेत समावेश गर्दा कोषको यथार्थ सम्पत्ति ८२ अर्ब ८८ करोड ७४ लाख रुपैयाँ पुग्ने उनले बताए ।
कोषमा मुख्यगरी संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न मुलुकमा शान्ति स्थापनार्थ खटिइएका सेनाका जटिल परिस्थितिमा कामगरेबापत राष्ट्र सङ्घबाट प्रदान गरिने भत्ता रकमबाट केही अंश कट्टगरी जम्मा गरिँदै आइएको छ । यस्तै बैंक तथा वित्तीय संस्थामा निक्षेप गरिएको रकमबाट प्राप्त हुने व्याज, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, विद्यालय/महाविद्यालयको शिक्षण शुल्क, परिवार आवास भाडाबापतको रकम, आयमूलक परियोजनाबाट प्राप्त रकम, विदेशी मुद्रा सटही प्रिमियम र मेडिकल सेवा उपलब्ध गराउने टिकटबाट प्राप्त रकम कोषमा जम्मा गरिने सेनाले जनाएको छ ।
सेनाले काल्याणकारी कोषको रकमबाट शिक्षा, स्वास्थ्य, सीप तथा रोजगार र सुविधा तथा सहुलियतजस्ता कल्याणकारी कार्य गर्दै आइरहेको छ । कोषबाट आर्थिक वर्ष २०८०/८१ मा ६ लाख ३२ हजारभन्दा बढीले स्वास्थ्य सेवा तथा १८ हजार ७४८ जनाले कृषि तथा व्यावसायिक पशुपन्छी, तरकारीखेती, लघुउद्यमशील तालिम लिइ स्वरोजगार र रोजगारी प्राप्त गरेका छन् ।
कोषको जोखिममा रहेको निक्षेप रकमलाई उल्लेख्य मात्रामा घटाइएको सहायक रथी केसीले जानकारी दिए । विगतका वर्षमा जोखिममा रहेको निक्षेप रकम ८५ करोड रुपैयाँलाई घटाएर ५ करोड २ लाख रुपैयाँमा झारिएको उनको भनाइ छ । विभिन्न अदालतमा मुद्दा विचाराधीन रहेका कारणले निक्षेप रहेको बैंक तथा वित्तीय संस्थाबाट असुली हुन नसकेको केसीले स्पष्ट पारे ।
कोष र अन्तर्गतका निकायको फछ्र्योट गर्न बाँकी बेरुजु ८ करोड चार लाख ३७ हजार रुपैयाँ रहेकामा गत जेठ मसान्तसम्म ३ करोड २६ लाख ३६ हजार रुपैयाँ फछ्र्योटगरी लगत कट्टाका लागि अनुरोध गरिएको निर्देशनालयले जनाएको छ । बाँकी बेरुजु ४ करोड ७७ लाख ७४ हजार रुपैयाँ फछ्र्योटका क्रममा रहेको निर्देशक केसीले जानकारी दिए ।
६ दशकमा डेढ लाख शान्ति सैनिक खटिइए
शान्ति स्थापना कार्यमा नेपाली सेनाको प्रारम्भदेखि हालसम्म कुल १ लाख ५२ हजार ८१८ शान्ति सैनिकले विभिन्न ४४ वटा शान्ति मिसनमा सहभागिता जनाएका सेनाले जनाएको छ । विसं २०१५ जेठ ३० गते लेबनानबाट शान्ति स्थापना कार्य मिसनमा सहभागिता जनाएको थियो ।
हाल ११ वटा शान्ति मिसनमा नेपाली सेनाका ५ हजार ९१६ शान्ति सैनिक तैनाथ रहेको सेनाले जनाएको छ । हालसम्म २ हजार ७०७ नेपाली महिला सैनिकले शान्ति स्थापना कार्यमा सहभागिता जनाएका छन् ।
सेनाले हालसम्म १ हजार ४११ किलोमिटर सडकको ट्रयाक खोली सडक विभागलाई हस्तान्तरण गर्नुका साथै ३८ वटा बेलिबृज जडान गरेको छ । सेनाको प्रत्यक्ष व्यवस्थापनमा अहिले ३ वटा राष्ट्रिय गौरवका आयोजना तथा २ वटा पहिलो प्राथमिकता प्राप्त सडक आयोजना निर्माण भइरहेको छ । सो सडकको कूल लम्बाई २७४ किलोमिटर रहेको छ । सेनाले खाँदबारी किमाथाङ्का (च्याम्ताङ्ग-घोंघप्पा खण्ड), कर्णाली करिडोर, बेनिघाट-आरुघाट-लार्केभञ्ज्याङ, दार्चुला-टिङ्कर सडक निर्माण गरिरहेको छ ।
पत्रकार सम्मेलनमा युद्धकार्य निर्देशनालयका निर्देशक सहायक रथी रवीन्द्र खत्री, शान्ति कार्य निर्देशनालयका निर्देशक सहायक रथी प्रेमबहादुर पुन, काठमाडौं-तराई-मधेस द्रूतमार्ग सडक आयोजनाका प्रमुख सहायक रथी विकास पोखरेल, विकास निर्माण निर्देशनालयका निर्देशक महासेनानी धर्मेन्द्रकुमार झालगायतले आआफ्नो जिम्मेवारी क्षेत्रको प्रगति विवरण प्रस्तुत गरेका थिए ।