काठमाडौं । गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रलाई राष्ट्रको मर्यादाक्रममा समावेश गर्ने बिषयमा सरकारले अध्ययन गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिसँग वुधबार भएको भेटमा मन्त्री लेखकले निजी क्षेत्र मर्यादित हुनुपर्नेमा कुनै विवाद नरहेको बताएका हुन् ।
मन्त्री लेखकले वर्तमान सरकार निजी क्षेत्र र लगानीप्रति निक्कै संवेदनशील रहेको बताए । सरकार गठन गर्दा भएको सहमतिमा समेत स्वदेशी र विदेशी लगानी प्रवद्र्धन गर्ने विषय समावेश रहेको बताउँदै मन्त्री लेखकले कुनै समस्या भए आफूलाई सम्पर्क गर्न आश्वासन दिए ।
महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले अहिले निजी क्षेत्रको मनोबल घटिरहेको बेलामा निजी क्षेत्रलाई मर्यादाक्रममा राख्दा सकारात्मक सन्देश जाने बताए । यसबारे महासंघले निरन्तर सरकारसँग पैरवी गरिरहेको उनको भनाइ छ ।
यसैगरि उद्यमी व्यवसायीमाथि हुने धरपकडले निजी क्षेत्र हतोत्साही भएकोर्फ पनि अध्यक्ष ढकालले गृहमन्त्री लेखकको ध्यानाकर्षण गराएका थिए । भेटमा महासंघका उपाध्यक्ष हेमराज ढकालले अनधिकृत आयात नियन्त्रणका लागि पनि सरकारले पहल गर्नुपर्ने बताए ।