राँझा । नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको ६३ दशमलव ३४ प्रतिशत राजस्व असुली गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा नेपालगञ्ज भन्सार कार्यालयलाई २८ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकामा १८ अर्ब १५ करोड रुपैयाँ मात्रै राजस्व असुली भएको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिए ।
अघिल्लो आवभन्दा गत आवमा करिब चार करोड रुपैयाँ कम राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा भन्सार लक्ष्य २९ अर्ब ३२ करोड रुपैयाँ रहेकामा १८ अर्ब १९ करोड ६९ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
चिनी आयात रोकिएपछि नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा न्यून राजस्व असुली भएको उनको भनाइ छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा चिनी आयातबाट मात्रै करिब ९० करोड रुपैयाँ राजस्व असुली भएकामा गत आवमा चिनीबाट राजस्व असुली शून्य भएको थियो ।
कार्यालयले गत आर्थिक वर्षको साउन महिनामा एक अर्ब ८१ करोड ३० लाख ८४ हजार रुपैयाँ असुली गर्ने लक्ष्य राखेकामा एक अर्ब ४१ करोड ४० लाख ९८ हजार रुपैयाँ संकलन गरेको थियो । भदौ महिनामा दुई अर्ब २२ करोड १४ लाख ५८ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकामा एक अर्ब ४५ करोड ११ लाख ८० हजार रुपैयाँ असुली भएको थियो ।
यस्तै, असोजमा दुई अर्ब ४४ करोड ५३ लाख ८६ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकामा एक अर्ब ४८ करोड ६० लाख ९९ हजार रुपैयाँ, कात्तिकमा दुई अर्ब ३८ करोड ९१ लाख ९२ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकामा एक अर्ब २४ करोड २१ लाख ५० हजार रुपैयाँ संकलन गरेको सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए ।
उक्त कार्यालयले मङ्सिरमा दुई अर्ब ५२ करोड ३६ लाख ६६ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकामा एक अर्ब ५५ करोड ८९ लाख ९९ हजार रुपैयाँ संकलन गरेको थियो । त्यस्तै, पुसमा दुई अर्ब ५६ करोड ६० लाख ६६ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकामा एक अर्ब ५३ करोड ५५ लाख ५६ हजार रुपैयाँ संकलन भएको छ ।
त्यसैगरी, माघमा दुई अर्ब ३१ करोड ४२ लाख १२ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकामा एक अर्ब ३१ करोड ८१ लाख २२ हजार रुपैयाँ संकलन भएको छ । कार्यालयले फागुनमा दुई अर्ब ५० करोड १७ लाख ६५ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकामा एक अर्ब ५८ करोड ४७ लाख ३८ हजार रुपैयाँ असुली गरेको छ ।
कार्यालयले गत आर्थिक वर्षको चैतमा दुई अर्ब ४५ करोड तीन लाख ७४ हजार रुपैयाँ, वैशाखमा दुई अर्ब ४७ करोड २५ लाख १२ हजार रुपैयाँ, जेठमा दुई अर्ब ४९ करोड ६६ लाख एक हजार रुपैयाँ र असारमा दुई अर्ब ४६ करोड ८२ लाख १९ हजार रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखेको थियो ।
नेपालगञ्ज नाका हुँदै भारतबाट पेट्रोलियम पदार्थ, मार्बल, खाद्यान्न, तरकारी, फलफूल आयात (पैठारी) र नेपालगञ्जबाट जडीबुटी लगायतका वस्तु भारततर्फ निकासी हुने गरेको छ । रासस