काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीबाट बर्खास्त भएपछि मुकल ढकालले रवि लामिछाने क्लबबाट निष्कासित भएको प्रतिक्रिया दिएका छन्।
ढकालले सामाजिक सञ्जालमार्फत पार्टीबाट नभई सभापति लामिछानेको क्लबबाट निष्कासित भएको बताए । लामिछाने क्लबबाट निष्कासित भएको भन्दै ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न नरोकिने भनाइ राखे ।
‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ, राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन, बाँकी कुरा भोलि…,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
ढकाललाई मंगलबार बिहान बसेको केन्द्रीय समितिको बैठकले साधारण सदस्यता रहने गरी प्रवक्ता, महामन्त्री र केन्द्रीय सदस्यबाट बर्खास्त गरेको थियो ।
ढकालको यस्तो प्रतिक्रिया दिँदै उनी रास्वपामै रहने संकेत गरेका हुन् ।