काठमाडौं । समस्याग्रस्त शिवशिखर बहुउद्देश्यीय सहकारीको मार्ट लिलामीमा बिक्री गरिने भएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै सहकारीको गोदावरी–१४ ठबस्थित गार्डेन मार्ट लिलामीमा बिक्री गरिने जनाएको हो ।
सहकारीको एक रोपनी २ आना जग्गामा रहेको गार्डेन मार्टको संरचना, मार्टमा भएका सामान तथा सहकारीका फर्निचर र कम्प्युटर लिलामी बिक्रीमा राखिएको सूचनामा उल्लेख छ ।
कार्यालयले लिलामी बिक्रीमा राखिएका सम्पत्तिको एकमुस्ट मूल्यांकन १ करोड १५ लाख ७८ हजार ८ सय ३५ रुपैयाँ तोकेको छ ।
सहकारीको उक्त सम्पत्ति सकार्न चाहने घरधनी, सहकारीका बचतकर्ता वा इच्छुकले ७ दिनभित्रमा गोप्य सिलबन्दी निवेदन बुझाउन सक्ने कार्यालयले सूचनामार्फत जनाएको छ ।
कार्यालयका अनुसार लिलामी बिक्रीबाट उठेको रकम सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न प्रयोग गरिने छ ।